२२ बैशाख २०८१, शनिबार

के छ कैलाली ४ (क) का उम्मेदवार सोडारीको प्रतिवद्धता पत्रमा (हेर्नुस पूर्ण पाठ)



अब समृद्धिको यात्रामा
हामी अहिले जनता जनार्दनको अगाडि उभिएका छौ । आगामी मंसिर ४ गते प्रतिनिधी सभा तथा प्रदेश सभा सदस्यको निर्वाचन हुनगइरहेको छ । जनताले आफ्नो निर्णायक मतमार्फत प्रतिनिधि सभा र प्रदेश सभाको निर्माण गर्दैछन् ।

अबको पाँच वर्ष कस्तो संघीय तथा प्रदेश सरकार बनाउने भन्ने अन्तिम निर्णय नै जनताको मतले गर्दैछन् । नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय व्यवस्था लागू भएपछिको यो दोस्रो आम निर्वाचन हो । विगत पाँच वर्षको अवधीमा प्रदेश सभा र प्रदेश सरकार सञ्चालनको अनुभवसहित तथा विगतमा भएका कमीकमजोरीहरूलाई पाठका रुपमा ग्रहण गरेर हामी पुनः यहाँहरूको सामु आएका छौं ।

यो पाँच वर्षको अवधिमा निकै चुनौति र कठिनाईको सामना गर्दै हामीले यो प्रदेशमा भौतिक पूर्वाधारदेखि आवश्यक ऐन कानुनहरूको जग कोरेका छौं । थिति बसालेका छौं । एउटा निश्चित गन्तव्य निर्धारण गरेका छौं । यिनै जगमा अब तपाईं हामी एकजुट भएर समृद्धि, सुशासन, जनताको अधिकतम हीत, शान्तिसुव्यवस्थाको यात्रामा अघि बढ्दैछौं । जनताको सार्वभौम अधिकार र शक्ति प्रयोग हुने यो निर्वाचनमार्फत “जनमुखी प्रदेश सरकार : विकास र समृद्धिको आधार” भन्ने मूल नारासहित तपाईंहरूको घरआँगनमा उभिएका छौं ।

आदरणीय आमाबुवा, दिदीबहिनी, दाजुभाई तथा युवा साथीहरू
इतिहासको अभिभारा तथा मुलुकको आवश्यकता अनुसार पाँच दलीय गठबन्धनले निश्चित लक्ष्य र उद्देश्यसहित प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका साझा उम्मेदवारहरू प्रस्तुत गरेको यहाँहरू सबैमा अवगत नै छ । हाम्रो पार्टी नेकपा (एकीकृत समाजवादी) को सुदूपश्चिम प्रदेश कमिटीका तर्फबाट “सामाजिक न्याय सहितको आर्थिक विकास र समृद्धिको प्रतिबद्धता” सहित सुन्दर सुदूरपश्चिमलाई समृद्ध सुदूपश्चिम प्रदेश बनाउने लक्ष्य सहित तपाईहरू सामु हाम्रा अठोट, प्रतिवद्धता र कार्यक्रमहरू प्रस्तुत गरेका छौं ।

हामी २०६२/०६३ को ऐतिहासिक जनआन्दोलनबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै नेपाल र नेपाली जनताको सुखशान्ति र समृद्धिको सपना पुरा गर्न सधैं कटिवद्ध छौं । हामी २०७४ सालको स्थानीय निर्वाचनमा नेकपा (एमाले) को उम्मेदवारका रुपमा यहाँहरूमाझ आएका थियौं । तर, नेकपा (एमाले) को नेतृत्वपंक्तिमा गैरकम्युनिष्ट विचार, आचरण र कार्यशैली तथा नेतृत्वमा विकसित दक्षिणपन्थी अवसरवाद, तानाशाही र षडयन्त्रकारी सोच र कार्यशैली, राजनीतिक अपराधीकरण र भ्रष्टाचारका कारण हामीले त्यतिवेला जनतामाझ व्यक्त गरेका कतिपय प्रतिवद्धताहरू पुरा गर्न सकेनौ ।

हाम्रा लागि पार्टीभन्दा मुलुक र जनता सर्वोपरि भएका कारण हामीले विद्रोह ग¥यौं र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) गठन गर्यौ । अहिले हामी कलम चुनाव चिन्ह सहित यहाँहरूको अमूल्य मतका लागि आएका छौं । नेकपा एकीकृत समाजवादी सुदूरपश्चिम प्रदेश सभाको सबैभन्दा ठूलो दल हो ।

यहाँहरूले यो पार्टीलाई गठनभएदेखि नै अपार समर्थन, सहयोग र माया गर्नुभएको छ । यसका लागि हामी यहाँहरू सामु नतमस्तक छौं । र, यो निर्वाचनमा हामीले गरेकोे विद्रोहको औचित्यसहित यहाँहरूले हामीलाई प्रदेश सभा सदस्यमा निर्वाचित गरेर अनुमोदन गर्नुहुनेछ भन्ने पूर्ण विश्वास गरेका छौं ।

कैलाली–४ (क) बाट प्रदेश सभा सदस्यको उम्मेदवारका रुपमा यहाँहरू सामु पुनः प्रस्तुत भएको सन्दर्भमा आगामी पाँच वर्षभित्र पूरा गरिने केही प्रमुख योजना र कार्यक्रमहरू प्रस्तुत गरेका छौं । वितेको पाँच वर्षको अवधिमा यो प्रदेश क्षेत्रमा तपाईंहरूको साथ र समर्थनबाट भएगरेका विकास निर्माण कार्यको यहाँहरूले नै मुल्यांकन गर्नुभएको छ ।

भौतिक विकास लामो प्रक्रिया हो । सीमित स्रोतसाधन, प्रविधिको कमी, कठिन भूगोल, घोर गरिबी, गलत सामाजिक/सांस्कृतिक संस्कार आदिका कारण चाहेर पनि छोटो अवधिमा धेरै काम गर्न कठिनाई हुन्छ नै । तर, वितेको पाँच वर्षमा कैलाली ४ (क) प्रदेश क्षेत्रमा भौतिक पूर्वाधारको बलियो जग बसिसकेको स्वयं यहाँका आदरणीय जनताहरूले नै महसुस गर्नुभएको छ ।

विगतमा कोरेका विकासका जगमा अब हामी यो क्षेत्र तथा सिंगो प्रदेशको समृद्धिको यात्रामा अघि बढ्ने दृढ प्रतिज्ञाका साथ केही प्रमुख योजना र कार्यक्रमको सूची यहाँहरू सामु प्रस्तुत गरेका छौं ।
अबको पाँच वर्षको अवधिमा हामी निम्न योजना र कार्य गर्न प्रतिवद्ध छौं :
१. विगतमा बहुुवर्षीय ठेक्कासम्झौता भएर निर्माणाधीन अवस्थामा रहेका तथा ठेक्कासम्झौताको प्रक्रियामा रहेका सबै पक्कीपुलहरू निर्माण गरिने छ ।

२. विगतमा बहुुवर्षीय ठेक्कासम्झौता भएर निर्माणाधीन अवस्थामा रहेका तराई–चुरे– पहाड सडक कालोपत्रे सहित निर्माण कार्य पुरा गरिने छ ।

. गौरीगंगा नगरपालिकाको बाह्यसडक (रिङरोड) कालोपत्रे गरी नगर बस सञ्चालन गरिने छ ।

४. नदीकटानको समस्या रहेका सबै नदीखोलामा तटबन्ध निर्माण कार्य पुरा हुने छ ।

५ . विगतमा सञ्चालनमा रहेका तथा योजना गरिएका प्रदेश गौरवका आयोजनाहरूलाई प्राथमिकताका साथ अघि बढाइने छ ।

६. सुदूरपश्चिम प्रदेश सभाबाट पारित गोदावरीमा सुदूरपश्चिम प्रदेश राजधानी निर्माणलाई लक्ष्य बनाएर अघि बढाइने छ ।

७. राजीपुुरमा हर्वल गार्डेन, बढैपुर सहित अन्य स्थानमा खेल मैदान निर्माण गरिने छ । यो प्रदेश क्षेत्रमा एक मिनि कर्भडहल निर्माण र सञ्चालन गरिने छ ।

. गर्भा दरबार, महोन्याल सहित चुरे तथा प्रदेशमा रहेका ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पुरातात्वीक महत्वका सम्पदाहरूको दीगो संरक्षण र सम्वद्र्धनसहित पर्यटन विकासको दीर्घकालीन योजना निर्माण गरिने छ । पर्यटनलाई जनताको आयआयर्जनसंग जोड्ने गरी दीर्घकालीन र अल्पकालीन कार्यक्रमहरू अघि बढाइने छ ।

९. चुरे भावर क्षेत्रलाई जडिबुटी, फलफूल तथा पशुपालनको पकेट क्षेत्रका रुपमा विकास गर्दै किसानहरूको आर्थिक समृद्धिका लागि ठोस योजना लागू गरिने छ । खासगरी चुरे क्षेत्रमा अदुवा र सुन्तला पकेट क्षेत्रको विकास गरिने छ ।

१०. कैलालीकै सबैभन्दा घना र ठूलो जंगल शृंखला रहेको यो प्रदेश क्षेत्रमा बनजंगलको दीगो व्यवस्थापन तथा जनताको आर्थिक समृद्धिको आधार बनाउने गरी योजना निर्माण गरिने छ ।

११. यस निर्वाचन क्षेत्रका सामुदायिक विद्यालयहरूमा आइसिटी ल्यावको स्थापना गरी विद्यालयलाई प्रविधिमैत्री बनाइने छ ।

१२. कृषिलाई यस क्षेत्रका जनताको आर्थिक समृद्धिको सबैभन्दा बलियो आधारका रुपमा विकास गर्दै आवश्यकताअनुसार कृषि पकेट क्षेत्रको स्थापना र किसानलाई मलखाद, वीउविजन, विद्युत, सिंचाई, सहुलियत दरमा कृषि ऋणको एकीकृत योजना बनाएर लागू गरिने छ ।

१३. निर्वाचन क्षेत्रमा आवश्यकताका आधारमा प्रहरी पोष्टहरूको विस्तार गरिने छ ।

१४. तालबन्द क्षेत्रलाई माओवादी जनयुद्ध स्मारक पर्यटकीय क्षेत्रको रुपमा विकास गरिने छ ।

१५. चौमाला र मसुरीयामा व्यवस्थित बसपार्क निर्माण, बजारदेखी गाउँ जोड्ने व्यवस्थित नालीसहितको पक्कीसडकहरूको विस्ता गरिने छ ।

१६. चौमाला र मसुरीया बजारमा सुविधासम्पन्न सभाहलको निर्माण गरिने छ ।

१७. निर्वाचन क्षेत्रका सबै वडामा स्वच्छ खानेपानीको पहुँच पुर्याइने छ ।

१८. दलित, आदिवासी जनजाती, राजी, महिला, युवा तथा बालबालिकालाई लक्षित गरेर विशेष कार्यक्रमहरू सञ्चालन गरिने छ ।

१९. युवाहरूलाई स्वरोजगार कोषसंग जोड्दै रोजगारी सिर्जनालाई प्राथमिकताका साथ अघि बढाइने छ ।

आदरणीय आमाबुवा, दिदीबहिनी, दाजुभाई तथा युवा साथीहरू
तपाईंहरूको माझमा हुर्किएका र सधैं तपाईंहरूको सुखदुःखको सहयात्रीका रुपमा रहेका तथा आफ्ना प्रतिवद्धताप्रति सधैं अविचलित रहेर काम गर्ने दीर्घबहादुर सोडारीलाई अमूल्य मत दिएर विजयी गराउन हुन हार्दिक अनुरोध गर्दछौं ।

कैलाली–४ (क) का प्रदेश सभा सदस्य उम्मेदवार दीर्घबहादुर सोडारीको संक्षिप्त परिचय
बुबा लोकबहादुर सोडारी र आमा कटुदेवीको कोखबाट २०३४ साल फागुन १६ गते अछाम जिल्लाको कालागाउमा जन्मिनुभएका सोडारीले माविसम्मको शिक्षा अन्नपूर्ण माविबाट पुरा गर्नुभएको थियो । उहाँले कैलाली बहुमुखी क्याम्पसबाट स्नातक तह उत्तीर्ण गर्नुभएको छ ।

१२ वर्षको कलिलो उमेरमा २०४६ सालमा नेकपा (एमाले) निकट अनेरास्ववियूको सदस्य बनेर राजनीतिमा होमिएका उहाँ २०४८ सालमा अछाम क्षेत्र नम्बर–२ को क्षेत्रीय सचिव बन्नुभयो ।

कैलाली बुहुमुखी क्याम्पसमा ०५१ सालमा अनेरास्ववियू प्रारम्भिक कमिटीको उपाध्यक्ष, अध्यक्ष हुदै जिल्ला सदस्य र केन्द्रीय सदस्य हुनुभएका उहाँ २०५० सालदेखि मसुरियामा बसोबास गर्न थाल्नुभयो ।

एमालेको इलाका कमिटि सचिव, जिल्ला कमिटी सदस्य, सचिवालय सदस्य हुदै २०६६ सालमा पार्टीको जिल्ला सचिव निर्वाचित हुनु भएका उहाँ २०७० सालमा ३६ वर्षको उमेरमै नेकपा (एमाले) कैलालीको जिल्ला अध्यक्ष निर्वाचित हुनुभयो।

२०७० सालको संविधान सभा सदस्य निर्वाचनमा कैलाली–४ बाट एमालेका उम्मेदवार रहनु भएका उहाँ २०७४ सालको प्रदेश सभा सदस्य निर्वाचनमा कैलाली–४ (क) बाट निर्वाचित हुनुभयो । उहाँले सुदूरपश्चिम प्रदेश सरकारमा सामाजिक विकास मन्त्री तथा भौतिक पूर्वाधार विकासमन्त्रीको कुशलतापूर्वक जिम्मेवारी बहन गरिसक्नु भएको छ ।

बंगलादेश पाकिस्तान, भारत, कम्वोडिया, चीन, थाइलैण्ड, जापान लगायतका देशको भ्रमण गर्नुभएका उहाँसंग आफ्नो क्षेत्र, जिल्ला र सुदूरपश्चिम प्रदेशको समृद्धिको ठोस खाका र योजना रहेको छ ।

देशभित्र जनपक्षीय आन्दोलन तथा लोकतन्त्र पुनस्थापना र सवलीकरणका आन्दोलनका क्रममा १४ पटक जेल जीवन भोग्नुभएका उहाँ दृढ अठोट, स्पष्ट सोच र लक्ष्यमा अडिग भएको जनताको प्रतिनिधिका रुपमा स्थापित हुनुभएको छ ।

धन्यवाद !
हाम्रो आह्वान, कलममा मतदान !

दीर्घबहादुर सोडारी
उम्मेदवार प्रदेश सभा कैलाली क्षेत्र नम्बर ४ (क)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार