२२ बैशाख २०८१, शनिबार

बाजुरामा गठबन्धन र एमालेबीच कडा प्रतिस्पर्धा




धनगढी / आसन्न निर्वाचनमा बाजुरामा पाँच दलीय गठबन्धन र नेकपा (एमाले) बीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

एमालेबाट स्थायी कमिटी सदस्य ५४ वर्षीय कर्णबहादुर थापा र पाँच दलीय गठबन्धनबाट नेपाली कांग्रेसका सहमहामन्त्री ४८ वर्षीय बद्रीप्रसाद पाण्डे उम्मेदवार छन् ।

कांग्रेस र एमालेका उम्मेदवार राष्ट्रियरुपमा पनि परिचित अनुहार भएकोले उनीहरु वीचको प्रतिस्पर्धालाई रोचकताका साथ हेरिएको छ । एमालेका थापा २०५६, २०६४, २०७० र यो पटक सहित चौथो पटक चुनावी मैदानमा छन् । २०७० मा जीत हासिल गरेका थापा तत्कालिन प्रधानमन्त्री शुशील कोइराला नेतृत्वको संयुक्त सरकारमा उद्योगमन्त्री समेत थिए ।

कांग्रेसका सहमहामन्त्री पाण्डे भने पहिलो पटक प्रत्यक्ष निर्वाचनमा होमिएका छन् । यसअघि उनी समानुपातिक तर्फबाट संविधान सभा सदस्य र राष्ट्रिय सभा सदस्य बन्नु भएका थिए ।

दुईवटै उम्मेदवार थापा र पाण्डेको राजनीतिक यात्रा विद्यार्थी राजनीतिबाटै भएको हो । थापा २०४९ को स्ववियू निर्वाचनमा नेपालकै चर्चित नेपाल ल क्याम्पसको सभापति बनेका थिए । भने पाण्डे पनि वाल्मिकी क्याम्पसको सभापति भइसकेका छन् ।
२०४८ सालदेखि नै एक एकमात्र निर्वाचन क्षेत्र रहेको बाजुरामा २०४८, २०५६ र २०६४ सालको निर्वाचनमा नेपाली कांग्रेस र २०५१, २०७० र २०७४ सालको निर्वाचनमा एमालेका उम्मेदवार विजयी भएका थिए ।

अहिलेसम्म भएका चारवटा स्थानीय चुनावमा पनि एमाले र कांग्रेसले बराबर जीत निकालेका छन् । २०४९ र २०७४ को स्थानीय चुनाव कांग्रेस र २०५४ र २०७९ को चुनाव एमालेले जितेको थियो ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा बाजुराका नौमध्ये छ स्थानीय तहमा नेपाली कांग्रेस र तीनमा एमालेका उम्मेदवार विजयी भएका थिए भने यसपटकको स्थानीय तह निर्वाचनमा एमालेले पनि छ स्थानीय तह जितेको छ । कांग्रेसको हातमा भने तीन पालिका मात्र परेका छन् ।

गत स्थानीय तहको निर्वाचनमा बाजुराका ६९ वडामध्ये एमालेले ३७, कांग्रेसले २८ र माओवादीले चार वडा जितेको छ । वडाको मतका आधारमा गठवन्धन झिनो मतले अगाडि छ तर दलहरुको एकल मतलाई आधार मान्ने हो भने एमाले अगाडि छ ।

वडाध्यक्षहरुले पाएको मतका आधारमा बाजुरामा एमालेले २८ हजार ७३४, कांग्रेसले २३ हजार १४१, नेकपा (माओवादी केन्द्र) ले चार हजार २२९ मत र नेकपा (एकीकृत समाजवादी) ले एक हजार ६८८ मत पाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार