१४ बैशाख २०८१, शुक्रबार

खड्गवहादुरले बनाएको टीकापुरको योजना मैले पुरा गर्ने छु : द्धारिकाप्रसाद न्यौपाने कैलाली क्षेत्र नं. १ प्रदेश सभा ‘ख’ उम्मेदवार





तपाईका एउटा युवा नेताको रुपमा चिनिनुहुन्छ । अहिले तपाई निर्वाचनको अन्तिम प्रचारप्रसारमा हुनुहुन्छ ? कसरी गर्नुभएको छ ।
अव निर्वाचन हुन तीन दिनमात्र बाँकी रहेको छ । हामी चुनावको अन्तिम तयारीमा रहेको छौ । यसपटक पार्टी पक्तिपनि व्यवस्थित ढंगबाट परिचालन गरिएको छ । टीकापुरका नौ वटा वडामा हामी टोल समूह बनाएर चुनावी मैदानमा होमिएका छौ ।

हामी घरदैलो मात्र नभएर सामाजिक संजालपनि प्रचारप्रसारलाई तीव्र बनाएका छौ । हामी हाइटेक्नोलोजी सामाजिक संजाल प्रयोग गरेर चुनावी मैदानमा रहेका छौ । फेसबुक, फेसवुक पेज, टिकटक, ट्वीटर, इन्ट्राग्राममा हाम्रो हाइटेक प्रचार रहेको छ । ति सामाजिक संजालबाट पनि हामी मतदाता समक्ष हाम्रा एजेण्डाको जानकारी गराइरहेका छौ ।

सवै प्रचारको काम सकिएकोले हामी हाम्रा मतदातालाई कसरी संरक्षण गर्ने तिर लागेका छौ । पार्टी पनि एक ढिक्का भएको र हाम्रा एजेण्डाले हामी कांग्रेस र उन्मुक्ति पार्टीलाई पराजित गरेर चुनाव जित्छौ ।

तपाईंका टीकापुरका विकासलागि के छ योजना ?
विकास भनेको जनताको जीवन स्तर सुधार आउनुु नै विकास हो । मसंग टीकापुर बनाउने ‘ड्रिम प्राजेक्ट’ छ । ‘पाइलट सिटी’ र कर्णाली करिडोर, वाटर किङ्गडम टीकापुर पार्क, स्पोर्टस एकेडमी जस्ता बनाउने योजना रहेको छ ।

यस्तै कैलाश मानसरोवर जाने लागि वाटो पनि हामीले टीकापुरबाट बनाउन सक्दछौ । मानसरोवरका दर्शनार्थ गर्ने तिर्थालुहरु सत्तीस्थित पद्म प्रकाशेश्वर मन्दिरको अनिवार्य पुजा गरेर जानुपर्ने मान्यता रहेको छ ।

भगवान परशुरामले आफ्ना गुरु महादेव र सूर्यदेव दुवैलाई एकैपटक तर्पण गर्ने गरि शिवलंग बनाइएको किवदन्ती छ । भारत महाद्धिपबाट ८८ हजार ऋषिमुनि कैलाशयात्रा गर्ने क्रममा कैलाशबाट वगेर आएको कर्णाली नदी तटीय क्षेत्रमा परशुरामले सत्तिस्थित पद्मप्रकाशेश्वर वरिपरि ठूला यज्ञ गरेका थिए । त्यसपछि भारतबाट आउने कैलाशयात्री यही मन्दिरमा पहिले पुजा गर्दथे । हो त्यही भारतबाट आउने कैलाशयात्रीलाई यहि मन्दिरमा पूजा गर्ने धार्मिक मान्यतालाई पुष्टि गर्न म चाहन्छु । मानसरोबर जाने तिर्थालुहरुलाई सत्तिको पद्म प्रकाशेश्वर मन्दिरमा ल्याउन सक्ने हो भने टीकापुरलाई कायापलट गर्न सकिन्छ । हो त्यस्ता योजना मसंग रहेका छन् ।

स्थानीय तहको निर्वाचनमा पार्टीले अपेक्षा गरे अनुसारको विजय हासिल गर्ने सकेन यो निर्वाचन जित्ने आधार के हो ?
हो, हामी गत २०७९ साल बैशाख ३० गते सम्पन्न्न भएको निर्वाचनमा हामीले सिट र मतको आधारमा यस टीकापुर क्षेत्रमा ठूलो पार्टी बन्न सकेनौ । पार्टीको आन्तरिक विवाद र अन्तरघातका कारणले हामीले टीकापुरमा क्षति व्यहोर्नुप¥यो ।

टीकापुरमा हामीले २०५४ साल, २०७४ सालमा प्रचण्ड वहुमतका साथ एमाले जितेका थियौ । टीकापुरमा सिटमा हामी पहिलो पार्टी भन्न सकेनौ । मतका आधारमा एमाले पहिलो पार्टी बन्न सफल भएको छ । स्थानीय तहको निर्वाचनमा एमालेप्रति जनताको आकर्षण देखेर नेपाली काँगेस, माओवादी केन्द्र, नेकपा (समाजवादी केन्द्र) चुनाव लडेनन्, अर्थात पार्टीगत चुनाव लडेनन् ।

नेकपा एमाले एक्लै र पाँच दलीय गठवन्धनको बीचमा चुनाव भएको थियो । चौतर्फी घेराबन्दी हुँदा पनि एमाले सिटमा दोस्रो र मतमा पहिलो भएको छ । हामी सिटमा पहिलो हुन नसकेको कारण समिक्षा गरेका छौं । जनता गठवन्धनको विपक्षमा रहेका छन । जनताको जनलहर एमाले प्रति छ । हामी पार्टीको आन्तरिक जीवनलाई व्यवस्थित गरेर यसपटक टीकापुरलाई एमालेको लालकिल्ला बनाउँछौ ।

जनताले परिर्वतनको अनुभूति गर्न नसक्नुको कारण के हो ?
मुलुकमा राजनीतिक परिर्वतन धेरै भए । जनताका राजनीतिक अधिकार पनि संस्थागत भयो ।

तर आर्थिक, सामाजिक प्रणालीमा परिर्वतन गर्न सकेनौं । प्रमाणी महत्वपूर्ण कुरा हो । अहिले पनि हामी एउटा कुनै काम लिएर सरकारी कार्यालयमा जादा कति झन्झट व्यहोर्नुपर्दछ भन्ने सवैले भोगेको कुरा हो । तसर्थ ति प्रणालीलाई परिवर्तन गरि नयाँ प्रणाली विकास गर्नु आजको आवश्यकता रहेको छ ।

आर्थिक र सामाजिक परिर्वतन गर्नका लागि प्रणाली परिवर्तन गर्न नसक्दा जनताले परिर्वतनको अनुभूति पाउन सकेनन् । अब जनताले परिर्वतनको अनुभुति हुने गरि काम र योजना बनाउनु पर्छ ।

देशको विकास किन हुन सकेन ?
एक शताव्दी पहिलेसम्म हामीभन्दा गरिव राष्ट्रको सूचिमा दर्ज भएका राष्ट्रहरु दक्षिण कोरिया, मलेसिया, दुबई, सिङ्गापुर विकसित मुलुकको रुपमा स्थापित भइसके ।

हामी भने खस्किदै खस्किदै अति गरिब राष्ट्रको सुचिमा आइपुगेको अवस्थामा छौ । हामीसँगै परिवर्तन भएका देश आर्थिक रुपले कहाँ पुगे । हामी किन सिङ्गगापुर, कोरिया जस्तै सम्पन्न हुन सकेनौ ? हामीमा के कमजोरी छ ? आखिरी के भयो भने देश बन्छ ? अब हामी पनि गम्भीर बन्नु पदर्छ । स्थिर सरकार बन्न नसक्नु, लामो समयसम्म यथास्थिमा रमाउने पार्टी सरकारमा रहनु विकासको साझा मोडल नहुनु । राजनीतिक इच्छा शक्ति भएको व्यक्तिले सरकारको नेतृत्व गर्ने नपाउनु । आदि कुराले हाम्रो विकासलाई प्रभाव पारेको छ । त्यसैले यसपटक म जस्ता युवालाई जनताले निर्वाचन गर्ने छन् र हामी हाम्रो आफ्नो ठाउँ बनाउँदै मुलुक बनाउने प्रण गर्दछौ ।

तपाईका केही आँट जोस जाँगर भएको युवा नेता हुनुहुन्छ । के त्यस्तो जोश जाँगर छ, टीकापुरको विकासका लागि के छ ?
हो म यसपालि टीकापुरको विकास गर्नका लागि तयार भएको एउटा युवा हुँ । ममा भएको क्षमता र योग्यता र मैले नै टीकापुरका विकास गर्न सक्छु भनेर पार्टीले यसपटक मलाई उम्मेदवार बनाएको छ ।
टीकापुर धेरै पछाडि परेको जस्तो भान मलाई भएको छ । पछिल्ला शहरको विकास तीव्र गतिमा हुँदा टीकापुर जस्ताको त्यस्तै रहेको छ ।

तपाईंका के छन् योजना खड्गवहादुर सिंहका मास्टर प्लान सफल बनाउने ?
खड्गवहादुर सिंहले सपना साकार पार्नका लागि म अगाडि सरेको छु । खड्गवहादुरले तयार पारेको मास्टर प्लानमा नै रहेर मैले टीकापुरका विकास गर्ने योजना ल्याएको छु । हो टीकापुरको मास्टर प्लान सफल बनाउने नयाँ खड्गवहादुर टीकापुरले खोजिरहेको छ त्यो नयाँ खोजिरहेको मान्छे मै हुँ ।

टीकापुरमा एउटा विकास भएको छ त्यो हो पक्की सडक त्यसभन्दा बाहेक यहाँका विकास खासै भएको छैन । टीकापुरले प्रत्येक निर्वाचनमा निर्वाचित गरेर सांसद, नेता बनाएको छ । तर तिनीहरुले टीकापुरको विकासका लागि केही गरेनन् । आफ्नो विकास मात्रै गरि रहे ।

हो टीकापुका लागि म परीक्षण नभएको युवा हुँ । अरु धेरै पटक परीक्षण भइसकेर ति परीक्षणमा फेल पनि भइसके । अव मेरा एजेण्डाले मात्र खड्गवहादुरको सपना पुरा हुने भएकोले त्यो मैले पुरा गर्नु छ ।

त्यसैले मेरो एउटा मात्र अनुरोध हो यसपटक मलाई टीकापुरका जनताले परीक्षण गर्नका लागि जिताउँने छन् भन्ने आशा लिएको छु ।

तपाई निरन्तर यो क्षेत्रमा राजनीतिक काम गरिरहनु भएको छ यो क्षेत्रमा प्राथामिकताका साथ गर्नेुपर्ने कामहरु के के हुन् ?
फरक फरक मनोविज्ञान भएका मानिसहरु टीकापुर क्षेत्रमा बस्दछन् । शिक्षा, स्वास्थ्य र रोजगार यहाँका समस्या हुन् । अहिले शिक्षाका लागि मानिसहरु काठमाडौँ जाने गरेका छन् । त्यसको लागि यहि नै गुणस्तर र व्यवसायिक शिक्षा यहाँको आवश्यकता हो । त्यही भएर यहाँ कृषिसंगै अरु व्यवसायिक शिक्षाका ठूलाठूला कलेज यहाँ स्थापना गर्नुपर्दछ ।

यस्तै स्वास्थ्यका लागि टीकापुरमा एउटा अस्पताल रहेको छ । उपचारका लागि यहाँका मानिसहरु नेपालगंज, काठमाडौँ र भारतको लखनउ जानु पर्ने वाध्यता रहेको छ । जसको कारणले मानिसहरुले धेरै नै खर्च हुने गरेको छ । त्यसैले अस्पतालको स्तरउन्नति गर्नु आवश्यक रहेको छ । अस्पतालमा विशेषज्ञ सेवा सहितको सुविधा र सय शैय्या बनाउन आवश्यक रहेको छ ।
यस्तै यहाँका रोजगारीको समस्या पनि यहाँ रहेको छ । युवा रोजगारी नपाएर बाहिर जानुपर्ने वाध्यता रहेका छन् । यहा नै उद्योग कलकारखाना स्थापना गरेर ‘एक घर, एक रोजगारी’ गर्ने मेरो योजना रहेको छ ।

कैलालीको टीकापुर क्षेत्र भनेको कृषिको उर्बरभूमि हो । यहाँका कृषि उत्पादनलाई व्यवस्थित गर्न के छ योजना ।
पहिलो कुरा यहाँ कृषिको उर्बरभूमि रहेको कुरा सवैलाई थाहा रहेको छ । कृषि बैंकको स्थापना गरेर यहाँका कृषिले उत्पादन गरेको तरकारी हामी किनिदिन्छौ । अव कृषकले उत्पादन गरेका कृषि सामाग्रीको बजारिकण हामीले गरिदिन्छौ । कृषकको खेतमा नै गएर हामीले ति उत्पादन तरकारी कृषि सामाग्री खरिद गरिदिन्छौ र कृषक अव बजारका लागि भौतारिनुपदैन । टीकापुर कृषिको राजधानी कृषि क्रान्ति टीकापुरबाट नै शुरु गर्नुपर्दछ ।

सुकुम्बासी समस्या समाधान गर्नका लागि तपाईको योजना के छ ?
यहाँका मुक्त कमैया मुक्त भएपनि अझै समस्यामा रहेका छन् । उनीहरुलाई रोजगारीको लागि अझै पनि भारतमा जानु परेको छ । यहाँका मुक्त कमैया भनेका देशभरिका सवभन्दा परिश्रमी हुन्छन् । उनीहरुलाई राज्यले चिन्न सकेको छैन । ति थारु मुक्त कमैयालाई सहि सदुपयोग गर्ने हो भने टीकापुरको कायापलट ल्याउन सकिन्छ । ति मुक्त कमैयालाई टीकापुरको विकास निर्माणलागि मुक्त कमैयालाई नै अघि सार्नुपर्दछ ।

यस्तै सुकुम्बासीलाई सुरक्षित तथा स्तरिय आवास कार्यक्रम ल्याउने मेरो योजना रहेको छ ।

तपाईको चुनाव जित्ने आधार के हो ?
अहिले हामी चुनावको अन्तिम प्रसारप्रसारमा रहेका छौ । यसबीचमा मेरा एजेण्डा देखेर टीकापुर त द्धारिकाप्रसाद न्यौपानेले बनाउदो रहेछ भन्ने मात्र रहेको छ । कर्णाली करिडोर, वाटर किङ्गडम टीकापुर पार्क, स्पोर्टस एकेडमी जस्ता बनाउने मेरा योजना रहेको छ ।

यस्तै कैलाश मानसरोवर जाने लागि वाटो पनि हामीले टीकापुरबाट बनाउन सक्दछौ । मानसरोवरका दर्शनार्थ गर्ने तिर्थालुहरु सत्तीस्थित पद्म प्रकाशेश्वर मन्दिरका पहिलो दर्शन गर्नुपर्ने मान्यतालाई हामीले स्थापित गराउनुपर्दछ ।

मेरो एजेण्डा देखेर विपक्ष डगमगाइसकेका छन् । मैले एजेण्डा यहाँका मतदाताले माया गरेको हुनाले मलाई मन पराएका छन् । कर्णाली करिडोर भएपछि कर्णालीको डुवानका समस्या समाधान हुन्छ । डुवान समस्या हुन भनेको हजारौ विघा जमिन डुवान र सयौ घरपरिवारबाट डुवानबाट बचाउन सकिन्छ । मेरा यस्ता योजना र मेरो योजना नै चुनाव जित्ने हो ।

तपाई आफ्ना प्रतिस्पर्धीले कस्तो पाउनुभयो ?
टीकापुरका मतादाताले सधै नयाँ जनप्रतिनिधि पठाएका थिए । अहिले प्रदेशमा मेरा प्रतिस्पर्धी रणवहादुर रावल र नागरिक उन्मुक्ति पार्टीबाट लक्ष्मणकिशोर थारु रहेका छन् । रावल यसअघि निर्वाचित प्रदेश सभा हुन भने थारु नयाँ पार्टीका उम्मेदवार हुन् । रावललाई जे उद्देश्यले जनताले सांसदमा पठाएका थिए तर त्यो पूरा गर्न सकेनन । उनी आफ्नो पार्टी पनि मन नपराएका नेता हुन । उनी पटक पटक अवसर पाउने केही गर्न नसक्ने नेता हुन् । हो उनको ठाउँमा अव मतदाताले मलाई खोजिरहेका छन् ।

अर्को कुरा थारु नयाँ युवा भए पनि टीकापुरको विकासमा खासै योजनाकार नभएका नेता हुन । अव मतदाता धेरै जाने बुझेका छन् । केही गर्न नसक्ने रावल र भिजन नभएका नेता थारुलाई टीकापुरका जनताले रुचाउन छैनन । मेरो योजनाले टीकापुर साच्चिकै समृद्धि हुने भएकोले सवै मतादाताले मलाई रुचाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार