२१ बैशाख २०८१, शुक्रबार

प्रदेश सभा सदस्यमा पनि कडा प्रतिस्पर्धा



धनगढी/ बाजुरामा दुईवटै प्रदेश सभा सदस्यमा कडा प्रतिस्पर्धा हुने देखिएको छ । प्रदेश सभा ‘क’ मा मतका आधारमा एमाले सत्तारुढ गठवन्धनभन्दा १०१९ मतले अगाडि छ ।

प्रदेश सभा ‘क’ मा २८ वडा रहेकोमा एमालेले १५ र कांग्रेसले ११ र माओवादीले दुई वडा जितेको छ । जसअनुसार एमालेको ११ हजार ४२२, कांग्रेसको सात हजार ६४८, माओवादीको एक हजार ७५६ र एकीकृत समाजवादीको ९९९ मत रहेको छ ।

प्रदेश सभा ‘क’ मा गठवन्धनका दल माओवादी र समाजवादीले मित्रवत प्रतिस्पर्धा भन्दै फरकफरक व्यक्तीलाई चुनावी मैदानमा उतारेकोले स्थानीय चुनावको आधारमा केही मत अगाडि रहेकोले एमाले सहजै जित्ने आकलनमा छ ।

एमालेले हालका प्रदेश सभा सदस्य ४४ वर्षीय वलदेव रेग्मीलाई फेरि चुनावमा उठाएको छ । रेग्मीले प्रदेश सभा हुँदा आफूले धेरै काम गरेकोले जनताले कामको मुल्यांकन गर्ने बताउछन् ।

समाजवादीले युवा संघका केन्द्रीय अध्यक्ष ४१ वर्षीय नरेशकुमार शाही र माओवादीले पूर्व राज्यमन्त्री ४१ वर्षीय कर्णबहादुर विकलाई चुनावमा उठाएको छ ।

समाजवादीका शाही स्थानीय तहको चुनावमा प्राप्त मत जित्ने/हार्ने आधार नहुने बताउदै अरु उम्मेदवारको क्षमता जनताले थाहा पाइसकेको र आफू नयाँ भएकोले जनअपेक्षका मुद्धा लिएर जनतावीच गएकोले आफूले नै जित्ने बताउछन् ।

माओवादीका विक आफूले जनताका हीतमा धेरै काम गरेको बताउदै जनताले न्याय गर्ने बताउछन् ।

प्रदेश सभा ‘ख’ मा ४१ वडा छन् । ती मध्ये एमालेले २३, कांग्रेसले १६ र माओवादीले दुई वडा जितेको छ । जसअनुसार एमालेले १७ हजार ३१२, कांग्रेसले १५ हजार ४९३, माओवादीले दुई हजार ४७३ र समाजवादीले ६८९ मत पाएका छन् । सो मतका आधारमा सत्तारुढ गढवन्धन एक हजार ३४३ मतले अगाडि छ ।

सो क्षेत्रमा एमालेका केन्द्रीय सदस्य तथा २०७४ सालको प्रतिनिधि सभा सदस्यमा निर्वाचित ५५ वर्षीय लालबहादुर थापा र कांग्रेसबाट ५८ वर्षीय पदमबहादुर शाही चुनावी मैदानमा छन् ।

एमालेका थापा आफूले जिल्ला विकास समितिको सभापति र गत चुनावबाट प्रतिनिधि सभा सदस्यकारुपमा जनताका पक्षमा गरेको कामले जनताको साथ पाउने विश्वास व्यक्त गरे । भने शाहीले आफूले जनताका वीचमा काम गर्ने अवसर नपाएकोले जनताले काम गर्ने अवसर दिने दावी गरे । शाहीले आफू अन्तिम पटक चुनाव लड्ने बताउदै आएका छन् । उनी २०७० मा संविधान सभा सदस्य र २०७४ मा प्रदेश सभा सदस्यमा पराजीत हुनु भएका थिए ।

२०५४ मा एमालेका उम्मेदवार थापा जिविस सभापति हुँदा शाही सदस्य थिए । उनी २०४९ समेत जिविस सदस्यमा निर्वाचित भएका थिए ।

२०४८ सालदेखि नै एक एकमात्र निर्वाचन क्षेत्र रहेको बाजुरामा २०४८, २०५६ र २०६४ सालको निर्वाचनमा नेपाली कांग्रेस र २०५१, २०७० र २०७४ सालको निर्वाचनमा एमालेका उम्मेदवार विजयी भएका थिए ।

अहिलेसम्म भएका चारवटा स्थानीय चुनावमा पनि एमाले र कांग्रेसले बराबर जीत निकालेका छन् । २०४९ र २०७४ को स्थानीय चुनाव कांग्रेस र २०५४ र २०७९ को चुनाव एमालेले जितेको थियो ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा बाजुराका नौमध्ये छ स्थानीय तहमा नेपाली कांग्रेस र तीनमा एमालेका उम्मेदवार विजयी भएका थिए भने यसपटकको स्थानीय तह निर्वाचनमा एमालेले पनि छ स्थानीय तह जितेको छ । कांग्रेसको हातमा भने तीन पालिका मात्र परेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार