२१ बैशाख २०८१, शुक्रबार

संघीय र प्रदेशका पूर्वमन्त्रीबीच कडा प्रतिस्पर्धा



कञ्चनपुर/ आसन्न चुनाव नजिकिँदै गर्दा कञ्चनपुर क्षेत्र नम्बर १ मा पूर्व संघीयमन्त्री तथा पूर्व प्रदेश मन्त्रीबीच भिडन्त हुने देखिएको छ ।

कञ्चनपुर–१ मा पाँच दलीय गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रकी नेतृ एव्म पूर्व संघीयमन्त्री विना मगर र नेकपा एमालेका सुदूरपश्चिम प्रदेशका पूर्वमन्त्री तारा लामा तामाङबीच नै प्रमुख प्रतिस्पर्धा हुने देखिएको छ ।

२०७४ सालमा बनेको वाम गठवन्धनमा भने मगर र तामाङ एकअर्काका सहयोगी भएर चुनावमा होमिएका थिए । त्यतिबेला मगर प्रतिनिधि सभामा र लामा प्रदेश सभामा उम्मेदवार भएर निर्वाचित भएका थिए ।

२०७० सालको संविधान सभा सदस्य निर्वाचनमा माओवादी केन्द्रका मगर कांग्रेसका दिवानसिंह विष्टद्वारा पराजित भएकी थिइन् । सो निर्वाचनमा विष्ट १० हजार दुई सय ९४ मत प्राप्त गरेका थिए भने मगरले नौ हजार दुई सय ३६ मत पाएकी थिइन् ।

२०७४ सालको प्रतिनिधि सभा सदस्य निर्वाचनमा एमाले र माओवादी केन्द्रसहितको वाम गठबन्धन बनेपछि मगरले बिष्टलाई पराजित गरेकी थिइन् । सो निर्वाचनमा बाम गठबन्धनकी मगरले ३८ हजार चार सय ७६ मत प्राप्त गरेकी थिइन् भने विष्टले १९ हजार दुई सय १९ मत पाएका थिए ।

यस पटक भने पाँच दलीय सत्तारुढ गठबन्धनबाट माओवादी केन्द्रका नेतृ मगर प्रतिनिधि सभा सदस्यको उम्मेदवार रहेकी छिन् भने सोही गठबन्धनबाटै काँग्रेसका विष्ट प्रदेश सभा सदस्यका उम्मेदवार रहेका छन् ।

यस पटक एमालेबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार बनेका तामाङ २०७४ सालको निर्वाचनमा क्षेत्र नम्बर १ (क) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए ।

कञ्चनपुर–१ मा रहेका बैलौरी नगरपालिकामा माओवादी केन्द्र तथा पुनर्वास नगरपालिका र बेलडाँडी गाउँपालिकामा कांग्रेसका उम्मेदवार विजयी भएका थिए । लालझाडी गाउँपालिकामा एमालेका उम्मेदवार विजयी भएका थिए ।

कञ्चनपुर–१ मा विभिन्न दलले वडामा पाएको मतका आधारमा सत्ता गठबन्धन निक्कै अघि छ । जसअनुसार कांग्रेसको १८ हजार ७३२, माओवादीको १२ हजार ५७२ र नेकपा (एकीकृत समाजवादी) को तीन हजार ५२१ मत रहेको छ । यस्तै एमालेको मत १८ हजार ७७३ रहेको छ ।

यस्तै गरेर सो क्षेत्रका ३२ वडामध्ये काँग्रेसले ११, एमालेले १०, माओवादी केन्द्रले ८, राप्रपा, एकीकृत समाजवादी र स्वतन्त्रले १/१ वडामा जितेका छन् ।

सत्ता गठवन्धनले प्रतिनिधि सभा सदस्यका स्वतन्त्र उम्मेदवार खेम सुवेदीका कारण चुनाव जित्न अझ सजिलो हुने अनुमान गरेको छ । सुवदी एमालेका पुराना नेता हुन ।

गठवन्धनका उम्मेदवार नेतृ मगरले आफूले उठाएका सवाल , विगतमा गरेका काम पनि आफ्नो जीतको आधार भएको बताउछिन् ।

तर एमालेका केन्द्रीय सदस्य कमला बोहरा भने गठवन्धन भित्रको असन्तुष्टी र एमाले उम्मेदवार तामाङको जनसम्पर्क राम्रो भएकोले चुनाव जित्ने दावी गर्छिन । नेतृ बोहरा एमाले उम्मेदवार तामाङले प्रदेश सभा र सरकारमा हुँदा धेरै विकास निर्माणका काम गरेको दावी समेत गर्छिन । यद्यपी ती काम पनि मैले गरेको भनेर अरुले गफ दिइरहेको उनको आरोप छ ।

कञ्चनपुर १ मा रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ती पार्टीले सत्तारुढ गठवन्धन वा एमाले कसका धेरै भोट काट्छ त्यसले पनि हारजीत निर्धारण हुने स्थानीय केवालाल राना बताउनुहुन्छ । उनले पछिल्लो समय नागरिक उन्मुक्तीको चहलपहल बढेको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार