२२ बैशाख २०८१, शनिबार

आरक्ष पीडितका समस्यामा हामी मात्र गम्भीर छौ : एमाले उम्मेदवारहरु




बेलौरी/ नेकपा (एमाले)का कञ्चनपुरको क्षेत्र नम्बर १ र २ का उम्मेदवारहरुले आफूहरु मात्र आरक्ष पीडितका समस्यामा गम्भीर रहेको बताएका छन् ।

लालझाडी गाउँपालिकाको वडा नम्बर ६ चानदेउमा आयोजित चुनावी सभामा बोल्दै एमालेका केन्द्रीय सदस्य तथा क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार नरबहादुर धामीले एमालेले पुनरस्थापना नभएका आरक्ष पीडितलाई १० कट्टा जग्गा वा ६० लाख रुपियाँ दिन निर्णय गरेकै बेला सरकार ढलेकोले कार्यान्वयन हुन नसकेको बताए ।

उनले फेरि एमालेले मात्रै सो मुद्धाको सही ढंगले समाधान गर्ने विश्वास दिलाए । उलने २०७४ मा चुनाव जितिसकेपछि संसद र सरकारलाई आरक्ष पीडितका पक्षमा काम गराउन पहल गरेको र नतिजा निस्कने अवस्थामा पुग्दा सरकार ढलेको बताए ।

सोही कार्यक्रममा बोल्दै अर्का केन्द्रीय सदस्य कमला बोहराले पनि आफू भूमि आयोगमा भएको बेला आरक्ष पीडित र सुकम्वासी भूमिहीनको पक्षमा काम गर्न खोजेको बताइन ।

क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार तारा लामा तामाङले आफू र क्षेत्र नम्बर २ का उम्मेदवार धामी मिलेर आरक्ष पीडितका समस्या समाधान गर्ने बताए । उनले भने त्यसका लागि आफूहरुले जित्नु अनिवार्य भएको बताए ।

अर्का केन्द्रीय सदस्य तथा क्षेत्र नम्बर २ प्रदेश ख का उम्मेदार कृपाराम रानाले कांग्रेस सरकार भएकै बेला २०५८ सालमा जनतालाई जवरजस्ती विस्थापित गरिएको घट्ना भुल्न नहुने बताए । उनले भने त्यति बेला बृद्ध, बालक, सुत्केरी, गर्भवती, अपांग समेत नभनेर अमानविय तरिकाले जनतालाई विस्थापित गरेर शुक्लाफाँटा आरक्ष क्षेत्र विस्तार गरिएको स्मरण गरे ।

एमालेका प्रदेश सचिव तथा प्रदेश सभा सदस्यका समानुपातिक उम्मेदवार धर्मराज पाठकले एमालेले मात्र आरक्ष पीडित, सुकुम्वासी, मुक्त कमैया, मुक्त हलिया, एकल महिला, जेष्ठ नागरिकको पक्षमा काम गर्ने भएकोले जनताले प्रदेश र संघमा एमालेको सरकार बन्ने गरेर मतदान गर्नुपर्ने बताए ।

उनले २०५१ सालमा एमालेको अल्पमतको सरकार बन्दा पनि सुकुम्वासीका क्षेत्रमा ऐतिहासिक काम भएको चर्चा पनि गरे ।

सोही कार्यक्रममा बोल्दै क्षेत्र नम्बर १ को प्रदेश सभा ख का उम्मेदवार पल्लवराज भट्टले आफूले पदमा नहुँदा पनि आरक्ष पीडितका पक्षमा धेरै काम गरेको बताउदै जनताले जिताएर पदमा पुगे आरक्ष पीडितका पक्षमा बोल्न झन सहज हुने बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार