१४ बैशाख २०८१, शुक्रबार

आसन्न निर्वाचन : बझाङमा पूर्व सहकर्मी बीच कडा प्रतिस्पर्धा



बझाङ / आसन्न निर्वाचन नजिकिँदै गर्दा बझाङमा दुई पक्षबीच तीब्र प्रतिस्पर्धा हुने देखिएको छ । बझाङमा पाँच दलीय गठबन्धनबाट नेकपा एकीकृत समाजवादी पार्टीका स्थायी कमिटि सदस्य भानुभक्त जोशी र नेकपा एमालेबाट केन्द्रीय सदस्य ऐनबहादुर महर उम्मेदवार रहेका छन् । यी दुई बीच नै कडा प्रतिस्पर्धा हुने आँकलन गरिएको छ ।

एकीकृत समाजवादी पार्टीका उम्मेदवारका जोशी यसअघि सांसद र मन्त्री बनिसकेका छन् । उनी यसअघि एमालेबाट संघीय सांसद निर्वाचित भएका थिए । युवा महर एमाले निकट अनेरास्ववियूको केन्द्रीय अध्यक्ष समेत रही सकेका छन् ।

गठबन्धनका साझा उम्मेदवार जोशी आफू अनुभवी, पाको र जिल्लाको विकासका सम्भावना र चुनौतीबारे राम्रो जानकार भएको दाबीसहित चुनावी मैदानमा उत्रिएका छन् ।

एमाले उम्मेदवार महर पहिलो पटक प्रतिनिधि सभा सदस्यको चुनावमा होमिएका छन् । उनी आफूलाई विशेष गरी युवा वर्गको साथ र समर्थन रहेको दाबी गर्छन् ।

गत स्थानीय तह निर्वाचनमा पाँच दलीय गठबन्धनको कुल मत ४१ हजार बढी रहेको थियो । त्यस्तै, एमालेले २८ हजार बढी मत पाएको थियो ।

स्थानीय तह निर्वाचनमा जिल्लाका १२ वटा पालिकामध्ये कांग्रेसले छ वटा पालिकामा प्रमुख सहित ३५ वडा जितेको थियो । एमालेले तीन वटा पालिका प्रमुख र २८ वडा जितेको थियो । त्यस्तै, नेकपा माओवादी केन्द्रले दुई वटा पालिका प्रमुख र १४ वडा तथा एकीकृत समाजवादीले एउटा पालिका र १७ वटा वडामा विजय प्राप्त गरेको थियो ।

प्रदेश सभा सदस्यतर्फ पाँच दलीय गठबन्धनबाट प्रदेश क्षेत्र १ मा नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंह, एमालेका अफिलाल ओखेडा र प्रदेश २ मा नेकपा माओवादी केन्द्रका भीमबहादुर भण्डारी र नेकपा एमालेका लालबहादुर रावलबीच प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार