२२ बैशाख २०८१, शनिबार

यो देश जीत्ने वा हार्ने निर्वाचन हो– ओली



ओली भन्छन्– एमालेसँग एक्लै लड्ने आँट कुनै पनि पार्टीको छैन

अत्तरिया / नेकपा(एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचन “देश जीत्ने वा हार्ने निर्वाचन” भएको विश्लेषण गरेका छन् । उनले लोकतन्त्रमा निर्वाचन स्वाभाविक र नियमित प्रक्रिया भए पनि यस पटकको निर्वाचनले राष्ट्रलाई सफल बनाउने वा असफल ? भन्ने फैसला गर्ने दाबी गरे ।

“यो सामान्य निर्वाचन होइन” शनिबार कैलालीको अत्तरिया र लम्कीमा आयोजित चुनावी सभामा अध्यक्ष ओलीले भने– मंसिर ४ ले फुटेको घैंटोका खपटाहरु जोडेर बनेको पुतली र राष्ट्रवादी शक्ति निर्माणबीच फैसला गर्नेछ ।

उनले अहिले एमालेसंग एक्लै लड्नसक्ने सामथ्र्य भएका नेपालमा एउटै पनि पार्टी नभएका कारण पाँच दलीय गठबन्धन बनेको दाबी गरे । उनले भने– देश बनाउने कुनै भिजन नभएका, चारतिर फर्किएकाहरु र आआफ्नो स्वार्थका लागि मात्रै गठजोडमा जोडिएकाहरुले एमालेसँग लड्ने ताकत राख्दैनन् । अरुको त कुरै छोडौ, स्वयं काँग्रेसमा पनि एमालेसँग एक्लै लड्ने सामथ्र्य छैन ।

उनले पाँच दलीय गठबन्धनले साझा चुनावी घोषणापत्र र कार्यक्रम समेत दिननसकेकोे बताए । भने, गठबन्धनका प्रत्येक दलका आआफ्ना घोषणापत्र छन्, कथंकदाचित सरकार बनाइहाले पनि कसको घोषणापत्र लागू हुन्छ ।

उनले गठबन्धनसंग भावी प्रधानमन्त्री नै नभएको वा देखाउन नसकेको बताए । “प्रत्येक दलले आआफूले प्रधानमन्त्री घोषणा गरेका छन् । गठबन्धनले प्रधानमन्त्री नै देखाउन सक्दैन भने कसरी देश बनाउँछ ?” उनको प्रश्न छ ।

पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले एमाले सरकारका पालामा देश विकासका ८२ वटा माइलस्टोन रहेको र आगामी दिनमा कार्यान्वयन गरिने २२ वटा ग्यारेन्टीहरु जनतासामु प्रस्तुत गरिएको बताए । “हामीले गर्भदेखि मान्छेको मृत्युपर्यन्तसम्मका कार्यक्रमहरु प्रस्तुत गरेका छौं” उनले भने ।

एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल र माओवादी केन्द्र अध्यक्ष प्रचण्डलाई चर्को आलोचना गरेका उनले “हरियो मुठो देखाएपछि म्याँ म्याँ गर्दै पछिपछि लाग्नेहरुले बाह्यशक्तिहरुसंग साँठगाँठ गरेर नेकपाको तत्कालीन लोकप्रिय सरकार ढालेको” आरोप लगाए ।

एकीकृत समाजवादी पार्टीलाई खरानीको डल्लोको संज्ञा दिँदै उनले “अलिकति पानी पर्दासाथ गल्ने” बताए । “माधवजीहरुको पार्टी त मंसिर ४ सम्म रित्तो भाँडो भइसक्छ, प्रचण्डहरु पनि क्रमशः समाप्त हुँदैछन्” उनको दाबी छ ।

उनले चुनावमा जनताले “गलत तरिकाले पैसा कमाएका भ्रष्टाचारीहरुको पैसा लिँदा हुने” बताए । भने– भ्रष्टाचारीहरुको पैसा खाए हुन्छ, कुनै पाप लाग्दैन, तर मतचाही आफ्ना छोराछोरीको भविष्य सम्झेर भ्रष्टाचारीहरुलाई नहाल्नुहोला ।

अत्तरियाको चुनावी सभामा एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्ट, पोलिटव्युरो सदस्य तथा कैलाली क्षेत्र नम्बर ५ का उम्मेदवार नारदमुनि राना, पोलिटव्युरो सदस्य लीला भण्डारी, प्रदेश सभा सदस्यका उम्मेदवारहरु कैलाली क्षेत्र नम्बर ४ ‘क’ का भीमबहादुर देउवा र ‘ख’ का हरिसिंह साउद, कैलाली क्षेत्र नम्बर ५ ‘क’ का नेपालु चौधरी तथा ‘ख’ का दुर्गाप्रसाद जोशी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

त्यसैगरी शनिबार नै कैलालीको लम्कीमा आयोजित चुनावी सभामा अध्यक्ष ओलीले अहिलेको निर्वाचन देश जीत्ने वा हार्ने भन्ने लडाई भएको दाबी गरे । उनले भने– देशभित्र र बाहिरका तत्वहरु यो चुनावलाई नेपालकै विरुद्ध प्रयोग गर्न खोजिरहेका छन् ।

पश्चिम सेती बनाउँछौं– ओली
यसअघि शनिबार बिहान डोटीको दिपायलमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले पश्चिम सेती परियोजनाकोे काम नयाँ ढंगले अगाडि बढाइने बताए ।

उनले लामो समयदेखि चर्चामा रहेको पश्चिम सेती परियोजनाको विगतमा विभिन्न कारणले रोकिएको बताउँदै मंसिर ४ पछि आफ्नो नेतृत्वमा सरकार बनेमा काम अघि बढाइने बताए । उनले भने– विगतमा विभिन्न राजनीतिक कारणले पश्चिम सेती परियोजनाको काम अगाडी बढेन । अब मंसिर ४ पछि पश्चिम सेती परियोजनाको काम शुरु हुन्छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार