२ जेष्ठ २०८१, बुधबार

भारतसंग वार्ताद्वारा अतिक्रमित भूमि फिर्ता ल्याउँछौं– प्रधानमन्त्री देउवा




दार्चुला/ प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले कालापानी, लिपुलेक तथा लिम्पियाधुरासहितको अतिक्रमित भूमि भारतसंग कुटनीतिक वार्ताका माध्यमबाट फिर्ता ल्याइने बताएका छन् ।

प्रधानमन्त्री देउवाले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको हो भनेर संसदले दुई तिहाई बहुमतले पारित गरिसकेकोले अब वार्ताका माध्यमबाट फिर्ता ल्याइने बताए ।

“यो (अतिक्रमित भूमि) को विषय भाषण गरेर समाधान हुने होइन” बुधबार दार्चुलाको गोकुलेश्वरमा पाँच दलीय गठबन्धनद्वारा आयोजित चुनावी सभामा उनले भने– अतिक्रमित भूमि फिर्ता ल्याउन भारतसंग कुरा गर्नुपर्छ, ओलीजी (एमाले अध्यक्ष केपी शर्मा ओली) जस्तो चर्को भाषण गरेर समस्या समाधान हुँदैन ।

सभामा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष ओलीले नेपालको चुच्चे नक्सा नबनाएको दाबी गरे । उनले भने– कोही पनि भ्रममा नपर्नुहोला । म पनि त्यतिवेला त्यो पार्टी (नेकपा) को अध्यक्ष थिए । मसंग अत्यधिक बहुमत थियो । भारतसंग वार्ताद्वारा अतिक्रमित भूमि फिर्ता ल्याउँछौं ।

चुनावी सभामा अधिकांस समय एमाले अध्यक्ष ओलीको आलोचनमा खर्चेका काँग्रेस सभापति देउवा, माओवादी केन्द्र अध्यक्ष प्रचण्ड लगायतका वक्ता नेताहरूले गठबन्धनको आवश्यकताबारे जनतालाई आश्वस्त पार्ने प्रयास गरेका थिए ।
चुनावी सभामा नेपाली कांग्रेसका नेता तथा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले एमाले अध्यक्ष ओलीलाई ओली विश्राम लिन आग्रह गरे ।

मन्त्री वडूले नेपालको चुच्चे नक्सासहितको किताब छापिसकेपछि एमाले अध्यक्ष ओलीले नै रोकेको आरोप लगाए ।
त्यस्तै, बुधबार नै बैतडीमा आयोजित चुनावी सभामा काँग्रेस सभापति तथा प्रधानमन्त्री देउवाले पश्चिम सेती परियोजनाको निर्माण कार्य छिट्टै अघि बढ्ने बताए । उनले पश्चिम सेतीबारे भारतीय कम्पनीसंग सम्झौता भइसकेको र काम अघि बढ्ने बताए ।

उनले पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको काम पनि अघि बढ्ने बताए । प्रधानमन्त्री देउवाले पञ्चेश्वर परियोजनाको काम अघि बढाउन भारतीय प्रधानमन्त्री समेत इच्छुक रहेको बताए ।

बैतडी र दार्चुलाको चुनावी सभामा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल भने सहभागी भएनन् । कार्यक्रममा उनी कार्य व्यस्तताका कारण सहभागी हुन नसकेको जानकारी गराइएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार