२४ बैशाख २०८१, सोमबार

लामो समय अपमान सहेँ पनि पार्टीभित्रै अन्तरसंघर्ष गर्छु– काँग्रेस नेता भण्डारी




धनगढी / नेपाली काँग्रेसका पूर्व केन्द्रीय सदस्य सुनीलकुमार भण्डारीले आफूले लामो समयदेखि पार्टीभित्र अपमान सहनु परे पनि पार्टीभित्रै रहेर अन्तरसंघर्ष गर्ने बताएका छन् ।

काँग्रेसभित्र पछिल्ला वर्षहरुमा परिवारवाद, नातावाद, चरम गुटबन्दी, हैकमवाद बढेको बताउँदै उनले यी सबैका विरुद्ध आफ्नो बाँकी जीवन समर्पित गर्ने पनि बताए ।

“मैले अहिले निकै पीडाबोध गरेको छु” आसन्न कैलाली ४ बाट प्रतिनिधि सभा सदस्यका प्रवल दावेदार रहेका भण्डारी टिकट नपाएपछि मौन रहेका उनले बुधबार आफ्नै निवासमा आयोजना गरेको पत्रकार भेटघाटमा भने– तर, जतिसुकै अपमान सहनु परे पनि बाँकी जीवन पार्टीभित्रका विकृतिविरुद्ध नयाँ ढंगले भूमिका निर्वाह गर्ने निधोमा पुगेको छु ।

कैलाली ४ बाट टिकट नपाएपछि राजनीतिबाट सन्यास लिने चर्चाबीच बुधबार पत्रकार सम्मेलनमार्फत उनले राजनीतिमै सक्रिय रहने बताए ।

राजनीतिबाट उनले आफू पार्टीभित्रको गलत प्रवृत्ति, विकृति, हैकमवादप्रति जहिले पनि असहमत भएका कारण अवसरबाट सधैं बञ्चित पारिएको र अपमानित हुनुपरेको बताए ।

भने– २०४६ सालपछि मलाई कहिल्यै पनि जनताबाट चुनिने अवसर दिइएन । २०७४ सालमा मैले कैलाली ५ बाट उम्मेदवार बन्ने चाहना राखेको थिए, तर मलाई ४ नम्बरमा टिकट दिइयो । बामगठबन्धनको आँधीबेहरीबीच त्यो क्षेत्रबाट मलाई उम्मेदवार बनाइयो । मैले पराजय भोगे, तर त्यसपछिका दिनमा निरन्तर सो क्षेत्रका नेता, कार्यकर्ता र आम जनतामाझ रहे । म स्वाभाविक उम्मेदवार थिए, तर मलाई अवसर दिइएन ।

उनले काँग्रेसभित्र मौलाएको परिवारवाद, नातावाद, हैकमवाद विरुद्ध धेरै जनाले चुनावमा विद्रोह समेत गरेको चर्चा गरे । भने– कतिपयले विद्रोह गर्नुभएको छ, तर मेरो कायरता भन्नुस् वा पार्टीप्रतिको मेरो दायित्वबोधका कारण मैले गरिन ।

सञ्चारकर्मीहरुको एक जिज्ञासामा उनले आफू भित्रि मनबाट पार्टी छोड्ने निर्णयमा पु्गिसकेका भए पनि आफ्नो भावनासँग जोडिएका तमाम साथीहरु, शुभचिन्तक तथा नेताकार्यकर्ताहरुको भावना र जिम्मेवारीबोधका कारण जतिसुकै कठिन अवस्था आए पनि पार्टीभित्रै सक्रिय रहने निर्णयमा पुगेको बताए ।

एकअर्को प्रसंगमा उनले कैलालीसहित सुदूरपश्चिम प्रदेशभरी पार्टीलाई जिताउन प्रयासरत रहने बताए । उनले थपे– मैले अर्को कुरा पनि जोड्न चाहन्छु– कैलालीमा नेविसंघको स्थापना गर्ने अहिलेका प्रतिनिधि सभा सदस्यका उम्मेदवार डिल्लीराज पन्त नै हुन्, तर नेविसंघको मसाललाई बालिराख्नेमा स्वर्गीय किशोर वम, पुष्करनाथ ओझा, प्रभाकर भण्डारी लगायतका युवा नै हुन् । पार्टीभित्रको चरम गुटबन्दी र हैकमवादका विरुद्ध विद्रोह गरेकाहरुप्रति पनि मेरो सहानुभूति छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार