८ जेष्ठ २०८१, मंगलवार

भोली आइतबार धनगढीमा गठबन्धनको संयुक्त प्रशिक्षण



प्रधानमन्त्रीसहित शिर्ष तीन नेताले सम्बोधन गर्ने

धनगढी/ आसन्न निर्वाचनलाई लक्षित गरी भोली (आइतबार) धनगढीमा सत्तारुढ पाँच दलीय गठबन्धनको संयुक्त प्रशिक्षण कार्यक्रम हुने भएको छ ।

संयुक्त प्रशिक्षण कार्यक्रममा प्रधानमन्त्री एवं नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री तथा पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड” र नेकपा (एकीकृत समाजवाद) अध्यक्ष माधवकुमार नेपालले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

निर्वाचन आयोगले आगामी १७ गतेसम्म निर्वाचनलाई लक्षित गरी आमसभा, कोणसभा जस्ता कार्यक्रम नगर्न तथा बढीमा २५ जनामात्रै सहभागी गराएर घरदैलो स्वरुपका कार्यक्रम मात्रै सञ्चालन गर्न निर्देशन दिएपछि राजनीतिक दलहरुले प्रशिक्षण, शुभकामना आदानप्रदानका नाममा कार्यक्रम गरिरहेका छन् ।

भोली आइतबार आयोजना हुने सुदूरपश्चिम प्रदेश स्तरीय संयुक्त प्रशिक्षण कार्यक्रमको संयोजनको जिम्मेवारी नेकपा माओवादी केन्द्रले पाएको छ । कार्यक्रमबारे जानकारी दिँदै माओवादी केन्द्रका प्रदेश अध्यक्ष हरिप्रसाद चौधरी उत्सवले संयुक्त प्रशिक्षण कार्यक्रममा प्रदेशका सबै नौ जिल्लाबाट गठबन्धन दलका प्रतिनिधिहरुको सहभागिता रहने बताए ।

माओवादी केन्द्र प्रदेश अध्यक्ष उत्सवका अनुसार संयुक्त प्रशिक्षण कार्यक्रममा गठबन्धन दलका प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य, प्रदेश समितिका पदाधिकारीहरु, जिल्ला सभापतिसहित पाँच जना तथा प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका प्रत्यक्ष तथा समानुपातिकतर्फका उम्मेदवारहरुले भाग लिनेछन् ।

उनले संयुक्त प्रशिक्षण कार्यक्रममा पाँच सय आठ जनाको सहभागिता रहने जानकारी दिए । प्रशिक्षण कार्यक्रममा सहभागी बन्न प्रधानमन्त्री देउवासहित गठबन्धन दलका शिर्ष नेताहरु भोली नै धनगढी आइपुग्ने छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार