८ जेष्ठ २०८१, मंगलवार

थारुलाई मधेसी सूचीमा राखिएपछि तीब्र विरोध




मोर्चाको चेतावनी– नसच्याए ठूलो मूल्य चुकाउनु पर्ला

धनगढी/ थारु जातिलाई मधेसी सूचीमा राखेपछि तीब्र विरोध सिर्जना भएको छ । थरुहट, थारुवान राष्ट्रिय मोर्चाले मधेसीको सूचीबाट थारुको नाम नहटाए ठूलो मूल्य चुकाउनु पर्ने चेतावनी दिएको छ ।

मधेसी आयोगले केही दिनअघि राष्ट्रपतिलाई बुझाएको आयोगको चौथो वार्षिक प्रतिवेदनमा मधेसी समुदायको थर सूचीकरण अध्ययनमा थारु जातिलाई पनि मधेसीको सूचीमा समावेश गरिएको छ ।

थरुहट थारुवान राष्ट्रिय मोर्चाले मधेसी आयोगको सो प्रतिवेदनप्रति तीब असहमति व्यक्त गर्दै “मधेसी आयोगले थर सूचीकरण अध्ययनका नाममा तथ्य, आधार तथा प्रमाण बिना हचुवाको भरमा आदिवासी भूमिपुत्र थारु जातिको इतिहास, अस्तित्व र पहिचानलाई समाप्त पार्ने षड्यन्त्रका साथ योजनावद्ध ढंगले सिफारिस गरेको” भन्दै भत्र्सना गरेको छ ।

मोर्चाले शुक्रबार प्रेषित गरेको प्रेस विज्ञप्तीमा भनिएको छ– राष्ट्र र राष्ट्रिय स्वाधिनताका निमित्त उच्च योगदान पु¥याउँदै आएका आदिवासी भूमिपुत्र थारु जातिको आफ्नै विशिष्ट पहिचान, गौरवमय इतिहास, सभ्यता, संस्कृति, रहनसहन, मौलिकता र मूल्यमान्यता रहेका छन् । नेपालको संविधानले थारु जातिलाई अलग जातिको रुपमा संवैधानिक व्यवस्था गरि सोअनुरुप विभिन्न ऐनकानुन निर्माण गरिसकेको छ । थारु जाति कदापि मधेसी होइनन् भन्ने मधेसी आयोगलाई हेक्का होस् ।

थरुहट थारुवान राष्ट्रिय मोर्चाले मधेसी आयोगको थर सिफारिस प्रतिवेदनमा थारु जातिलाई मधेसीको सूचीबाट तत्काल हटाउन चेतावनीसहित आग्रह गरेको छ ।

मोर्चाका प्रवक्ता मीनराज चौधरीद्वारा जारी सो विज्ञप्तीमा– सरकार, शासक, प्रशासक तथा गैरराज्य पक्षबाट सुनियोजित रुपमा थारु जातिको अस्तित्व एवं पहिचानमाथि धावा बोल्दै मधेसी समुदायमा समाहित गर्न पटक–पटक हर्कतहरू हुँदै आएको आरोप लगाइएको छ । भनिएको छ– यस्ता प्रकारका गलत कार्यविरुद्ध सिंगो थारु समुदाय एकजुट भएर थरुहट थारुवान आन्दोलनमार्फत आफ्नो हक अधिकार र पहिचानका निरन्तर संघर्ष गर्दै आएको छ ।

मोर्चाले थारु जातिको पहिचान र अस्तित्व समाप्त पार्न भइरहेका हर्कतहरूको निरन्तरताका रुपमा मधेसी आयोगको पछिल्लो प्रतिवेदन रहेको आरोप लगाएको छ । विज्ञप्तीमा उल्लेख छ– विस्तारवादी नीति र गलत नियतका साथ संविधान र ऐन कानुनको बर्खिलाप हुनेगरी आदिवासी थारु जातिको मौलिक पहिचान एवं अस्तित्व मेट्ने गरि राष्ट्रपतिसमक्ष बुझाएको मधेसी आयोगको सिफारिस प्रतिवेदन थारु जातिले कुनै पनि हालतमा स्वीकार गर्दैन ।

मोर्चाले आयोगले बुझाइएको प्रतिवेदमा मधेसी समुदायको सूचीबाट थारु जातिको नाम तत्काल हटाएर संशोधन गर्न माग गरेको छ । विज्ञप्तीमा चेतावनी दिइएको छ– हाम्रो आग्रहलाई कमजोरी र नजरअन्दाज गरिए आयोगले भारी मूल्य चुकाउनु पर्ने छ ।
फाइल तस्वीर

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार