७ जेष्ठ २०८१, सोमबार

युवाहरूको मतदाता जागरुक अभियान




धनगढी/ स्वच्छ निर्वाचन ः योग्य प्रतिनिधित्वको नारासहित युवाहरूले मतदाता जागरुक अभियान सञ्चालन गरेका छन् ।

काठमाडौंमा रहेको तन्नेरी र वीरगन्जको हाम्रो अभियान नामक युवाहरूको संस्थाले बिहीबार धनगढीबाट निर्वाचन लक्षित “अलिकती उज्यालो अभियान” सञ्चालन गरेका छन् ।

यस क्रममा बिहीबार धनगढीको पार्कचोकमा सडक नाटक, सेल्फी वुथ, स्वच्छ निर्वाचनसम्बन्धी प्लेकार्डहरू प्रदर्शन तथा उम्मेदवारहरूबाट लिखित प्रतिवद्धता लगायतका कार्यक्रम भएका छन् ।

लामो समयदेखि स्वच्छ, मर्यादित निर्वाचन, सक्षम तथा इमान्दार नेतृत्व लगायतका नारासहित अभियान सञ्चालन गर्दै आएका युवाहरूले यस पटक “अजेण्डाका आधारमा उम्मेदवार जिताऔं” भन्ने नारासहित देशभरी अभियान सञ्चालन गरेका छन् ।
युवा कलाकारहरू “सुन्दर पाँच वर्षको खोजी, सक्षम नेतृत्व रोजी” शिर्षकमा सडक नाटक प्रस्तुत गरे । कार्यक्रममा थुप्रै व्यक्तिले सेल्फी वुथमा फोटो खिचाएका थिए ।

अभियानका संयोजक शिवनाथ यादवका अनुसार अभियानको शुरुवात सुदूरपश्चिम प्रदेशको धनगढीबाट भएको छ । उनले पहिलो चरणमा धनगढीदेखि कैलालीको अत्तरिया, लम्की, बाँकेको कोहलपुर र सुर्खेतसम्म सात दिन अभियान सञ्चालन गरिने बताए । त्यस्तै, दोस्रो चरणमा दोलखादेखि झापासम्म र पाल्पा लगायतका स्थानमा १२ दिनसम्म अभियान सञ्चालन हुने छ ।

युवाहरू शिवनाथ, दिपज्योती श्रेष्ठ, गणेश बुढाथोकी, कैलाश न्यौपाने, मुन्ना सर्राफ, दिप्ती आचार्य, रमेश श्रेष्ठ, आयुश श्रेष्ठ, भावना अधिकारी, कल्पना पौडेल र निर्मल पौडेलसहितको टिमले अभियानका क्रममा सडक नाटक, गीत प्रस्तुति, मतदान, फोटो सेल्फी सहित मतदातामा जागरणको प्रयास गरिरहेका छन् । धनगढीको कार्यक्रममा स्थानीय पत्रकार गगन अयडीले सहयोग तथा संयोजन गरेका थिए ।

अभियानका संयोजक यादवले “निर्वाचनप्रति युवाहरूमा नैराश्यता बढेको वेला अजेण्डाका आधारमा सक्षम नेतृत्व रोजौ भन्ने आह्वानका साथ मतदातालाई जागरुक बनाउने प्रयासं” मा जुटेको बताए ।

अभियानका क्रममा प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यका उम्मेदवारहरूबाट लिखित रुपमा प्रतिवद्धता लिने कार्यक्रम पनि समावेश गरिएको छ । उम्मेदवारहरूबाट पाँच वर्षका लागि स्थायी सरकार बनाउने, निर्वाचित भएको दलमा पाँच वर्षसम्म रहने वा दलबदल नगर्ने, जनता र दलप्रति जवाफदेही हुने, भ्रष्टाचार नगर्ने र गर्न नदिने, नैतिकताको प्रश्न उठेमा पदबाट राजिनामा दिने लगायतका १८ बुँदामा उम्मेदवारहरूबाट लिखित प्रतिवद्धता लिने कार्यक्रम रहेको उनले बताए ।

अभियानमा स्वच्छ निर्वाचन ः योग्य प्रतिनिधित्व शिर्षकमा नागरिक घोषणापत्र, २०७९ पनि प्रस्तुत गरिएको छ । नागरिक घोषणापत्रमा वितेको पाँच वर्षको अवधिमा दलहरूको आन्तरिक विवाद, निरन्तर सत्तामा बसिरहने महत्वाकांक्षा, सरकार सञ्चालनमा असमझदारी आदिका कारण मुलुकले स्थीर सरकार पाउन नसकेको उल्लेख छ ।

त्यस्तै, सरकार सञ्चालनको जिम्मेवारी पाएका दल तथा नेतृत्वले कुशलतापूर्वक पदीय जिम्मेवारी बहन गर्न नसकेको, शक्ति सत्ता र स्रोतसाधनको दुरुपयोग भएको, र दलहरूले निर्वाचनताका प्रस्तुत गरेका प्रतिवद्धतापत्र अनुसार काम गर्न नसकेको नागरिक घोषणापत्रमा उल्लेख छ ।

युवाहरूले नागरिक घोषणापत्रमार्फत स्वच्छ निर्वाचन र योग्य जनप्रतिनिधि छनौटका लागि नागरिक ऐक्यवद्धताका लागि आह्वान गर्दै कुनै पनि नाममा गलत उम्मेदवारलाई मतदान नगर्न आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार