१७ बैशाख २०८१, सोमबार

बाजुरामा एमालेका उम्मेदवारको मनोनयन दर्ता



कर्णबहादुर थापा प्रतिनिधि सभा, प्रदेशमा लालबहादुर थापा र बलदेव रेग्मीको उम्मेदवारी दर्ता

धनगढी / आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि प्रतिनिधि सभाको एकमात्र निर्वाचन क्षेत्र रहेको बाजुरबाट नेकपा (एमाले) का उम्मेदवारहरुले प्रतिनिधि सभा र प्रदेश सभाका लागि आइतबार दिउँसो मनोनयन दर्ता गरेका छन् ।

प्रतिनिधि सभाका लागि एमालेका स्थायी समिति सदस्य तथा पूर्वमन्त्री कर्णबहादुर थापाले उम्मेदवारी दर्ता गराएका छन् । थापा ०७० सालको संविधान सभा सदस्यमा समेत बाजुराबाटै निर्वाचित हुनु भएका थिए । सोही क्रममा उनी शुशिल कोइराला नेतृत्वको संयुक्त सरकारमा मन्त्री भएका थिए । उनी ०४९ सालमा नेपाल ल क्याम्पसका स्ववियू सभापति समेत थिए ।

एमाले निकट प्रेस चौतारी नेपालका प्रदेश अध्यक्ष कृष्ण ओलीका अनुसार यस्तै गरेर प्रदेश सभा (क) बाट अहिलेका प्रदेश सभा सदस्य बलदेव रेग्मी र (ख) बाट अहिलेका प्रतिनिधि सभा सदस्य लालबहादुर थापाले उम्मेदवारी दर्ता भएको छ ।

प्रदेश सभामा उठेका एमालेका केन्द्रीय सदस्य र बाजुरा जिल्ला इन्चार्ज थापा ०५४ सालमा जिल्ला विकास समितिको सभापति थिए । उनले दुईपटक केन्द्रीय कमिटी सदस्य र दुई जिल्लाको पार्टी प्रमुखको जिम्मेवारी सम्हालेका छन् ।

अविरल वर्षाका कारण एमाले उम्मेदवार र सर्मथकहरु छाता ओढेर मनोनयन दर्ता गर्न गएका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार