११ बैशाख २०८१, मंगलवार

दशै मनाउन फर्किने नेपालीको भीड अझै जारी




धनगढी / नेपालीको महान चाड दशै तिहार मनाउन भारतका विभिन्न ठाउँबाट घर फर्केर आउनेको संख्या अझै बढ्दै गएको छ ।
त्रिनगर प्रहरी चौकीमा कार्यरत प्रहरी सहायक निरीक्षक मीनबहादुर ऐरका अनुसार घटस्थापनाका दिनसम्म दैनिक ४/५ सय नेपालीहरु घर फर्किने गरेका थिए । त्यसपछि भने आज अस्टमीसम्म पनि दैनिक तीन हजारसम्म नेपालीहरु घर आउने गरेका छन् ।

भारतको गौरीफन्टा र नेपालको धनगढी अर्थात त्रिनगर नाकाबाट नेपाल आइरहेकाहरुमा सूदूरपश्चिम प्रदेशका धेरै रहेका छन् । त्यसपछि धेरै आउनेको संख्या कर्णाली र लुम्विनी प्रदेशका छन भने फाटफुटरुपमा भने राजधानी काठमाडौदेखि पूर्वि नेपालसम्मका रहेको उनले बताए ।

घर फर्किनेहरुमा अधिकांश दशैपछि काममा फर्किने बताउछन् भने केही मात्र तिहारपछि फर्किने बताउछन् । दशैसम्मको मात्र छुट्टी पाएको छु त्यसैले २२ गतेतिर फर्किने योजनामा छु बझाङका धर्मराज जैसीले बताए । उनले भने, म भारतको दिल्लीमा काम गर्छु केही दिन घर परिवार र आफन्तसंग रमाएर फर्किन्छु ।

भारतको पुनाबाट आउनु भएका डोटीका लोकबहादुर बोहरा भने तिहार पनि मनाएर जाने योजनामा छन् ।
भारतबाट आउनेमा आधा जस्तो पूरै परिवार सहितका छन् भने आधा जस्तो पुरुष मात्र छन् । चेन्नइको एक क्याम्पसमा कार्यरत वीरहादुर बोहराले पनि एक महिनाको छुट्टीमा घर आएको बताए ।

अधिकांशले स्वास्थ्य सेवा लिन मान्दैनन्
भारतबाट आउनेहरुको विवरण नेपाल प्रहरीले संकलन गर्छ । नाम, ठेगाना, आएको र जाने ठाउँको नाम लेखिसकेपछि स्वास्थ्य सेवा लिन आग्रह गरिन्छ तर धेरैले सो सेवा लिन मान्दैनन् र सिधै गन्तव्यतिर लाग्छन् ।

भारतिय व्यारिएर कटेपछि नेपाली सुरक्षाकर्मीले नजिकै स्थापना गरिएको प्रहरी डेक्समा नाम लेख्न र अर्को स्वास्थ्यकर्मीले स्वास्थ सेवा लिन आग्रह गर्छन । तर अधिकांशले वेवास्था गरेर हिड्छन् ।

प्रहरी र स्वास्थ्यकर्मीले हातै जोडेर अनुरोध गरेपछि केही यात्रुले मात्र आफ्नो विवरण टिपाउछन् भने ती मध्ये पनि केहीले मात्र स्वास्थ्य सेवा लिने गर्छन् ।

स्वास्थ्य सेवा हेल्प डेस्कमा धनगढी उपमहानगरपालिका, पुर्नवास नगरपालिका र जिल्ला जनस्वास्थ्य कार्यालय र फाया नेपाल लगायतका गैरसरकारी क्षेत्र संस्थाको समन्वयमा कोभिडको पहिलो, दोस्रो र बुस्टर खोप लगाउने व्यवस्था छ ।

भारतबाट आएकाहरुको कोरोना, डेुंग, मलेरिया र एआइभी/एड्स र टिवी परीक्षण गर्ने निशुल्क व्यवस्था छ ती सुविधा बारेको जानकारी मुख्य सडकमै दिने गरिन्छ । निशुल्क सेवा भए पनि भारतबाट आएकाले स्वास्थ्य सेवा लिन मान्दैन जवकी नीजि स्वास्थ्य संस्थामा डुेंगु परीक्षणको एक हजार सात सय र मलेरिया तीनसय ५० सम्म लाग्ने गर्छ ।

सीमा क्षेत्रमा विहान ६ बजेदेखि राती ८ बजेसम्म स्वास्थ्य सेवा दिने व्यवस्था गरिएको छ । स्वास्थ्य हेल्प डेस्कमा दैनिक १५० जनासम्मले कोरोनाको खोप लगाउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार