२२ बैशाख २०८१, शनिबार

सत्याग्रही डा. केसीलाई काठमाडौं लैजाने प्रयास सफल भएन



धनगढी / नौ दिनदेखि धनगढीमा सत्याग्रहमा रहेका प्राध्यापक डा. गोविन्द केसीलाई आज (मङ्गलबार) थप उपचारका लागि काठमाडौं लैजाने तयारी भए पनि सफल हुनसकेन ।

उनको स्वास्थ्यस्थिति गम्भीर बन्दै गएपछि उनलाई नेपाली सेनाको हेलिकोप्टरमा धनगढीबाट काठमाडौं लैजाने भनिएकोमा उनले अस्वीकार गरेपछि साँझ ५ बजेतिर हेलिकोप्टर फर्किएको छ । डा. केसीको स्वास्थ्य अवस्था बिग्रिएपछि सत्याग्रहको दुई दिनपछि उनलाई धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।

डा. केसीलाई काठमाडौं लैजानका लागि नेपाली सेनाको स्काई ट्रक हेलिकोप्टर आज बिहान धनगढी आइपुगेको हो । उनलाई काठमाडौं जान कैलालीका प्रमुख जिल्ला अधिकारीसहितका सरकारी अधिकारीहरुले निकै आग्रह गरे पनि उनले मानेनन् ।
जिल्ला प्रशासनका कार्यालय, कैलालीका सूचना अधिकारी शिवराज जोशीले भने– हामी मनाउने प्रयास गर्यौ, तर उहाँले मान्नुभएन । सेनाको हेलिकोप्टर धेरै समय बस्न नसक्ने भएकोले काठमाडौं फिर्ता गएको छ ।

डा. केसीले आफूलाई जबरजस्ती लगिए “अपहरण” हुने चेतावनी दिएका थिए । उनको स्वास्थ्यजाँचमा खटिएका डाक्टर अमृत जैशीले डा. केसीको भनाई उधृत गर्दै भने– म कुनै हालतमा पनि सेती प्रादेशिक अस्पतालबाट अन्यत्र जान्न । यदि जबरजस्ती लगियो भने यो अपहरण हुनेछ ।

चिकित्सकहरुले डा. केसीको स्वास्थ्य अवस्था दिनप्रतिदिन थप जटिल बन्दै गएकोले बहुविशेषज्ञसहितको विशिष्टकृत अस्पतालमा लैजानुपर्ने सल्लाह दिँदै आएका छन् । सोमबारदेखि उनको पेटमा अल्सर भई आन्तरिक रक्तश्रावको समस्या देखिएको छ ।

डा. जैशीले चिकित्सकहरुले उनलाई जबरजस्ती लग्दा स्वास्थ्यस्थिति झन् जटिल बन्नसक्ने भएकोले सहज वातावरण बनाएर पठाउनु उचित हुने सल्लाह दिएको बताए ।

स्वास्थ्य क्षेत्रको समग्र सुधारको सात बुँदे मागसहित डा. केसीले नौ दिनअघि धनगढी–१, एलएनचोकस्थित कृष्णमन्दिरको धर्मशालामा २० औं सत्याग्रह शुरु गरेका हुन् । उनको स्वास्थ्यस्थिति बिग्रिन थालेपछि दुई दिनपछि सेती प्रादेशिक अस्पताल लगिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार