२२ बैशाख २०८१, शनिबार

अछाम बाढी तथा पहिरो : २२ जनाको शव निकालियो, एक अझैं वेपत्ता,पीडितहरुलाई छिट्टै राहत–प्रदेश सरकार




धनगढी / गत शुक्रबारको अविरल वर्षा र बाढी तथा पहिरोमा अछाममा ज्यान गुमाएकामध्ये आइतबार साँझसम्म २२ जनाको शव निकालिएको छ । एक जना अझै वेपत्ता रहेका छन् ।

सुदूरपश्चिम प्रदेश सरकारले अछामका पहिरो तथा बाढीबाट ज्यान गुमाएका व्यक्तिका परिवार तथा पीडितहरुलाई चाढै राहत उपलब्ध गराउने जनाएको छ ।

अछामका तुर्माखाँद र ढकारी गाउँपालिका तथा कमलबजार नगरपालिकामा पहिरोमा २२ जनाको ज्यान गएको थियो ।
जिल्ला प्रशासन कार्यालय, अछामका अनुसार आइतबार बिहान तुर्माखाँद गाउँपालिका–५, काँडाचौरका १३ वर्षीय सुन्दर शाहीको शव फेला परेको छ । शनिबार अबेर साँझसम्म शव फेला परेका १७ जनाको पहिचान खुलेकोमा राती थप चार जनाको शव भेटिएको थियो ।

अछामका पत्रकार सुशील भण्डारीले दिएको जानकारी अनुसार शनिबार राती तुर्माखाँद–५ का १७ वर्षीया विमला शाही, १७ वर्षीया कल्पना शाही, १ वर्षीया मेनिका शाही र तीन वर्षीया कल्पना शाहीको शव फेला परेको थियो । तुर्माखाँद गाउँपालिका–५ काँडाचौरमा दुई परिवारका गरी नौ जनाको पहिरोमा मृत्यु भएको हो ।

बाढी र पहिरोबाट ढकारी गाउँपालिका–१ का मोतिराम रिमाल वेपत्ता भएका छन् । जिल्ला प्रशासन कार्यालय, अछामका सूचना अधिकारी दिपेश रिजालले दिएको जानकारीअनुसार पशुचौपायासंगै गोठमा रहेका मोतिरामको गोठमा माथिबाट पहिरो खसेको र पहिरोले उनी र पशुचौपायासहित गोठलाई बगाएर खोलामा पुर्याएको थियो । सूचना अधिकारी रिजालले सुरक्षाकर्मीहरुले वेपत्ता मोतिरामको खोजतलास जारी राखेको बताए ।

भारी वर्षा र पहिरो तथा बाढीबाट ठूलो जनधनको क्षती भएको कमलबजार नगरपालिका र तुर्माखाँद तथा ढकारी गाउँपालिका सदरमुकाम मङ्गलसेनबाट पाँच घन्टाको दुरीमा रहेका छन् । तीन दिनको अविरल वर्षाका कारण दर्जनौ स्थानमा पहिरो खसेका कारण सडक यातायात अवरुद्ध भएको छ ।

यसैबीच, अछाम प्रशासनले पहिरोमा ज्यान गुमाएकाहरुको गाउँमै पोष्टमार्टमको व्यवस्था मिलाएको छ । सूचना अधिकारी रिजालले भने– घटनास्थलहरु पाँच, छ घन्टाको दुरीमा छन् । सडक भत्केका कारण पोष्टमार्टमका लागि शवहरु जिल्ला अस्पतालमा ल्याउन सकिने अवस्था छैन । हामीले चिकित्सकहरुलाई गाउँमै पोष्टमार्टम गर्न पठाइसकेका छौं ।

बिहीबारदेखि शनिबारसम्म परेको अविरल वर्षा र आएको बाढी तथा पहिरोले ती तीन पालिकामा धनमालको समेत ठूलो क्षती भएको अनुमान गरिएको छ । सूचना अधिकारी रिजालले भने– अहिले हामी वेपत्ताको खोजी तथा उद्दारमा केन्द्रीत रहेका छौं । यत्रो भीषण वर्षा, बाढी र पहिरोबाट निश्चय पनि ठूलो परिमाणमा धनमालको पनि क्षती भएको छ । मानवीय उद्दार र राहतको कार्यसंगै धनमालको क्षतीको विवरण सङ्कलन गर्दैछौं ।

यसैबीच, सुदूरपश्चिमप्रदेश सरकारले अछामका बाढी र पहिरो प्रभावित परिवारलाई चाँडै राहत दिने जनाएको छ ।

प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री रणबहादुर रावलले बाढी र पहिरोबाट ज्यान गुमाएका व्यक्तिका परिवारलाई प्रदेश सरकारले राहत स्वरुप एक लाख रुपैयाँ तथा क्रिया खर्चवापत २० हजार रुपैयाँ उपलब्ध गराउने जानकारी दिए । उनले भने– यसका साथै पूर्ण रुपमा घर क्षति भएका परिवारलाई ५० हजार रुपैयाँ उपलब्ध गराउने छौं ।

उनले अछाम र दार्चुलाका बाढी र पहिरो पीडित तथा कैलाली र कञ्चनपुरका बाढी प्रभावित परिवारका लागि कमी हुन नदिने बताए ।

उनले पीडितको खोज तथा उद्दारमा प्रदेश सरकारले स्थानीय सरकारहरुसंग समन्वय गरेर सम्पूर्ण सुरक्षा निकायलाई परिचालन गरिएको बताए ।

मन्त्री रावलले जिल्लामा रहेका विपद् व्यवस्थापन समितिसंग पनि राहतका लागि रकम भएको र कहिँकतै कमी भएमा प्रदेश सरकारले तत्काल रकम पठाउने बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार