२० बैशाख २०८१, बिहीबार

कैलाली ५ बाट डा.आरजुु राणा देउवाको एकल नाम सिफारिस



धनगढी/ नेपाली कांग्रेसको कैलाली क्षेत्र नम्बर ५ को क्षेत्रीय समितिले सो क्षेत्रबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बन्नका लागि डा. आरजुु राणा देउवाको एकल नाम सिफारिस गरेको छ ।

क्षेत्रीय सभापति भीम पडालका अनुसार क्षेत्रीय समितिको बिहीबार बसेको बैठकले सर्वसम्मतरुपमा नेतृ देउवाको नाम सिफारिस गरेको हो ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रधानमन्त्री शेरबहादुर देउवाका धर्मपत्नी डा. देउवा यसअघि ०७४ सालको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा पनि कैलाली क्षेत्र नम्बर ५ बाट नै उम्मेदवार भएकी थिइन ।

सभापति पडालका अनुसार प्रतिनिधि सभा सदस्यको उम्मेदारका लागि महासमिति सदस्य क्षितिज भण्डारी पनि दावी प्रस्तुत गरेका थिए तर बैठकले सर्वसम्मतरुपमा डा. देउवाको एकल नाम मात्रै जिल्ला कार्य समितिलाई पठाउने निर्णय गरेको छ ।

क्षेत्रीय समितिले प्रतिनिधि सभाको समानुपातिकतर्फको उम्मेदवारका लागि नरनारायण शाह मनु , टेकबहादुर रैका, नृपबहादुर वड, नृपबहादुर सुनार, मनिराम देवल, शुशिला मिश्र, पुष्पा भट्ट, आनन्दराज जोशी, जानकीदेवी जोशी, दिव्येश्वरी शाह, भीमबहादुर शाहको नाम सिफारिस गरेको थियो । प्रतिनिधि सभाको समानुपातिकमा महिलातर्फ भने जीवन रानाको नाम मात्र सिफारिस भएको छ ।

कैलाली ५ को ‘क’ प्रदेश सभाकोलागि प्रत्यक्षतर्फ ८ जनाको दावेदारी छ जसमा गणेशबहादुर देउवा, सन्तराम चौधरी, रामसमझ राना, प्रभातकुमार चौधरी, प्रेमराज जोशी, नारायणप्रसाद बराल, लक्ष्मीनारायण चौधरी र सिताराम राना रहेका छन् ।

यस्तै प्रदेश सभाको ख को प्रत्यक्षतर्फ हालका प्रदेश सभा सदस्य डिल्लीराज पन्तदेखि कांग्रेसका प्रदेश समितिका महामन्त्री नरनारायण शाह मनुसम्मले दावी गरेका छन् । यस्तै व्यवसायी तथा कांग्रेस नेता कृष्णबहादुर महरा, युवानेता क्षितिज भण्डारी र जिल्ला सचिव केशव मिश्रले पनि उम्मेदवार हुने चाहना राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार