१६ चैत्र २०८०, शुक्रबार

उपभोक्ता जागरण तथा शिक्षिका तीज नृत्य प्रतियोगिता




धनगढी / उपभोक्ता अधिकारबारे आम उपभोक्ताहरुमा जागरण बढाउने उद्देश्यसहित धनगढीमा उपभोक्ता जागरण अभियान तथा प्रथम धनगढी शिक्षिका तीज नृत्य कार्यक्रम भएको छ ।

राष्ट्रिय उपभोक्ता मञ्च, कैलालीको आयोजनामा भएको कार्यक्रमको प्रदेशका सामाजिक विकास राज्यमन्त्री टेकबहादुर रैकाले एक समारोहबीच उद्घाटन गरे ।

सो अवसरमा राज्यमन्त्री रैकाले प्रदेश सरकारले बजार अनुगमन कार्यलाई अझ बढी प्रभावकारी बनाउन ठोस कार्यक्रम ल्याउने बताए ।

कार्यक्रममा कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापा, उपभोक्ता मञ्चका अध्यक्ष हरि रेग्मी, प्याब्सन कैलालीका अध्यक्ष टोपेन्द्रबहादुर शाह लगायतले उपभोक्ताहरु स्वयं जागरुक भएपछि मात्रै वस्तु र सेवामा ठगिने अवस्थामा कमी आउने चर्चा गरे ।
तीज नृत्य प्रतियोगिता धनगढीमा रहेका १२ वटा संस्थागत विद्यालयको सहभागितामा थियो ।

प्रतियोगितामा ब्राइट वे बोर्डिङ स्कुल प्रथम, थ्री स्टार बोर्डिङ स्कुल द्वितीय र डिस्कभरी बोर्डिङ स्कुल तृतीय भए ।

प्रतियोगितामा विजेता ब्राइट वे स्कुलले २० हजार एक सय रुपैयाँ पुरस्कार प्राप्त गर्यो भने द्वितीय स्थान प्राप्त गरेको थ्री स्टारले १० हजार एक सय र तृतीय स्थान प्राप्त गर्ने डिस्कभरी स्कुलले पाँच हजार एक सय रुपैयाँ पुरस्कार प्राप्त गरे ।

सो अवसरमा विजेता टोली तथा सहभागीहरुलाई बरिष्ठ पत्रकार मनमोहन स्वार, उपभोक्ता मञ्चका अध्यक्ष हरि रेग्मी, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य भरत शाह लगायतले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार