११ बैशाख २०८१, मंगलवार

सशस्त्र प्रहरीमा राशन घोटाला प्रकरण : काण्डमा मुछिएका सशस्त्र प्रहरी एसपी हेडक्वार्टर तानिए



धनगढी/ नियमविपरित एकै पटक धेरै कर्मचारीलाई विदामा राखेर रासनवापतको रकममा घोटाला गरेको आरोप लागेका सुदूरपश्चिम प्रदेशको दार्चुलामा कार्यरत सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक (एसपी) त्रिभुवन बिष्टलाई हेडक्वार्टर तानिएको छ ।

दार्चुलास्थित सशस्त्र प्रहरी बल ४४ नम्बर गणमा प्रमुखका रुपमा कार्यरत सशस्त्र एसपी बिष्टमाथि “सुरक्षाकर्मीलाई बिदामा राखेर राशनमा घोटाला गरेको” आरोप लागेको छ ।

सशस्त्र प्रहरी बल नेपाल, नम्बर ७ बैद्यनाथ बाहिनी मुख्यालय, कैलालीले एसपी बिष्टलाई छानबिनमा राखेर तत्काल जिम्मेवारीबाट समेत हटाइएको पुष्टि गरेको छ ।

उनीमाथि धेरै संख्यामा सुरक्षाकर्मीलाई बिदामा छाडेर राशनवापत प्राप्त हुने रकम आफुले लिनेगरेको आरोप लागेको छ । राशनमा अनियमितताबारे छानबिन गर्न सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) पुरुषोत्तम थापाको नेतृत्वमा गठित समितिले काम अघि बढाइसकेको छ ।

सो राशन घोटालाबारेको सूचना मिडियालाई प्रवाह गरेको भन्दै सोही गणमा कार्यरत वरिष्ठ सशस्त्र प्रहरी हवल्दार नरेशसिंह साहुमाथि मुद्दा चलाइएको छ । बरिष्ठ हवल्दार साहुमाथि एसपी बिष्टको सिफारिसमा मुद्दा चलाइएको बताइएको छ ।
उनलाई सशस्त्र प्रहरीको विशेष अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ । उनी अहिले काठामाडौंस्थित डिल्लीबजार कारागारमा बन्दी छन् ।

सशस्त्र प्रहरीको नियमानुसार कार्यालय कार्यरत कर्मचारीमध्ये एक पटकमा बढीमा १५ प्रतिशतलाई बिदामा छाड्न सकिने प्रावधान छ । तर, एसपी बिष्टले एक पटक झण्डै ४७ प्रतिशत कर्मचारीलाई विदामा राखेको बताइएको छ ।

सो गणमा दुई सय ५८ जना कार्यरत रहेकोमा एकै पटकमा एक सय २२ जनालाई बिदामा राखेको दाबी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार