७ बैशाख २०८१, शुक्रबार

धनगढी पोलिटेक्निक इन्स्टिच्युटमा तालाबन्दी, “उपमहानगर विद्यार्थीको भविष्यमाथि खेलबाड गर्दे”



सरकारी क्याम्पसलाई बजेट, आफ्नै शिक्षालयमा शुन्य
-ल्याबको अभावमा अरुतिर धाउन बाध्य छन्, विद्यार्थीहरु
-शौचालय, खानेपानी, विद्युतको अभाव
-विद्यार्थीको आक्रोस– हाम्रो भविष्यमाथि खेलबाड गरिदैछ
-सरोकारवाला भन्छन्– शिक्षालयलाई पसलका रुपमा हेरियो


धनगढी/ धनगढी उपमहानगरपालिकाले तीन वर्षअघिदेखि सञ्चालन गरेको धनगढी पोलिटेक्निक इन्स्टिच्युट (प्राविधिक शिक्षालय) मा तालाबन्दी गरिएको छ । ल्याब, पुस्तकालय, खानेपानी, विद्युत, शौचालयसहित आधारभूत सेवा समेतको अभाव बेहोर्दै आएका विद्यार्थीहरुले आइतबार तालाबन्दी गरे ।

आक्रोसित विद्यार्थीहरुले तीन वर्ष पुग्दा समेत आधारभूत सुविधा उपलब्ध गराउनेतर्फ कुनै पहल नभएको भन्दै आइतबार संस्थाको मुलद्वारमा तालाबन्दी गरे । धनगढी पोलिटेक्निक इन्स्टिच्युट स्थानीय तहले सञ्चालन गरेको नेपालकै दोस्रो प्राविधिक शिक्षालय हो । यसअघि भक्तपुर नगरपालिकाले पहिलो पटक प्राविधिक शिक्षालय सञ्चालन गरेको थियो ।

धनगढी उपमहानगरपालिकाले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम केन्द्र (सिटिइभिटी) संगको साझेदारीमा २०७६ सालमा सो पोलिटेक्निक इन्स्टिच्युट सञ्चालनमा ल्याएको थियो । शिक्षालयमा तीन वर्षे होटल व्यवस्थापन (डिप्लोमा इन होटल म्यानेजमेन्ट) र अटोमोबाइल इन्जिनियरिङ (डिप्लोमा इन अटोमोबाइल इन्जिनियरिङ) को अध्ययन अध्यापन भइरहेको छ । हाल सो इन्स्टिच्युटमा दुवै संकायका गरी ९८ जना विद्यार्थी अध्ययनरत रहेको बताइएको छ ।

तालाबन्दी गरेपछि विद्यार्थीहरुले भने– हामीले पटकपटक शिक्षालय प्रशासनसमक्ष आफ्ना माग राख्दै आयौ । एक महिनाअघि साउन २९ गतेको अल्टिमेटम दिएर ज्ञापनपत्र दियौ । कुनै सुनुवाई नभएपछि अहिले बाध्य भएर तालाबन्दी गर्नुपर्यो ।

तालाबन्दीमा उत्रिएका विद्यार्थीहरुमध्येका अटोमोबाइल इन्जिनियरिङ विषयमा अध्ययनरत लोकराज ओझाले अनुमोदन दैनिकसंग भने– शिक्षालय सञ्चालन भएको तीन वर्ष भइसक्यो, तर अहिलेसम्म न पुस्तकालय छ, न प्रयोगशाला । छात्राका लागि शौचालय छैन । न कक्षा कोठामा पंखा छन्, न खानेपानीको व्यवस्था छ । हामीले जर्किनमा पानी ल्याएर काम चलाउनुपर्ने अवस्था छ ।

विद्यार्थीहरुले “आधुनिक शिक्षा भनेर शुल्क लिने, तर सामान्य सुविधा समेत उपलब्ध नगराएकोे” आक्रोस व्यक्त गरे । उनीहरुले प्राविधिक विषयमा अध्ययन गर्ने विद्यार्थीहरुका लागि शैक्षिक भ्रमण, स्थलगत भ्रमण, प्रयोगात्मक अभ्यास अनिवार्य भए पनि संस्थाले कुनै चासो नदिएको बताए । विद्यार्थी लोकराजले भने– बल्लतल्ल गत वर्ष मंसिरमा शैक्षिक भ्रमणमा लगियो, तर अहिलेसम्म सो वापत खर्च भएको एक लाख रुपैयाँ अझैं दिएका छैनन् ।

उनीहरुले अब कुनै किसिमको आलटालले आफूहरु सहमतिमा नहुने बताए । “अब त अति भयो, अब शिक्षालय वा उपमहानगरपालिकाले आलटाल गरेर सहमति हुदैन” विद्यार्थी लोकराजले भने– हामीले अहिल्यै सबै भौतिक संरचना बनाऊ भनेका छैनौ । तर, प्रयोगशाला, पुस्तकालय, शौचालय, विद्युत, प्राक्टिकल, फिल्ड भिजिट जस्ता कुराको ग्यारेन्टी नहुन्जेल सहमति हुनसक्दैन ।

उपमहानगरपालिकाले सस्तो शुल्कमा होटल म्यानेजमेन्ट तथा अटोमोबाइल इन्जिनियरिङ पढाउने उद्देश्यसहित सो शिक्षालय सञ्चालन गरेको छ । शिक्षालय उद्घाटनअघि तत्कालीन नगरप्रमुख नृपबहादुर वडले भनेका थिए– प्रदेशका विद्यार्थीलाई सस्तो शुल्कमा प्राविधिक शिक्षा प्रदान गर्ने उद्देश्यले उपमहानगरपालिकाले यो शिक्षालयको योजना बनाएको हो ।

शिक्षालयमा तीन वर्षे होटल म्यानेजमेन्टमा एक लाख ५३ हजार र तीन वर्षे अटोमोबाइल इन्जिनियरिङमा एक लाख ८२ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।

उपमहानगरपालिकाले वडा नम्बर ६ स्थित बासुदेवी माध्यामिक विद्यालयको तीन बिघा जमिन भाडामा लिएर सो शिक्षालय सञ्चालन गर्दैआएको छ । शिक्षालय सञ्चालनका लागि उपमहानगरपालिका प्रमुख अध्यक्ष र उपप्रमुख, शिक्षा, युवा तथा खेलकुद महाशाखा प्रमुख, प्रमुख प्रशासकीय अधिकृत सदस्य रहने गरेर ११ सदस्यीय सञ्चालक समितिको व्यवस्था गरिएको छ ।

शिक्षालयका निवर्तमान निर्देशक टेकेन्द्रबहादुर देउवाका अनुसार बासुदेवी माविसंग भाडामा लिएको जग्गामा उपमहानगरपालिकाले शुरुमा चार कोठे भवन निर्माण गरेको थियो । उनले भने– चालु आर्थिक वर्षमा १० कोठे भवन निर्माणका लागि सङ्घीय सरकारले बजेटको व्यवस्था गरेको छ । तर, उपमहानगरपालिकाले यस वर्ष शिक्षालयका लागि कुनै रकम छुट्याएको छैन ।

शिक्षालय सञ्चालन र शुरुको भौतिक संरचना निर्माण गर्न उपमहानगरपालिकाले शुरुमा पाँच लाख र दोस्रो पटक २५ लाख रुपैयाँ अनुदान दिएको थियो । “उपमहानगरपालिकामा नयाँ नेतृत्व आएपछि यस वर्ष शिक्षालयका लागि एक रुपैयाँ पनि बजेट राखिएन” देउवाले भने– अहिले आएर उपमहानगरपालिकाले शिक्षालयलाई नाफा र घाटाको पसलका रुपमा व्यवहार गरि“दै छ ।

शिक्षालयका निवर्तमान निर्देशक देउवाले गोपाल हमाल नगर प्रमुख निर्वाचित भएलगत्तै आफूले शिक्षालयको अवस्थाबारे ब्रिफिङ गरेको बताए । “पदभार ग्रहण र सञ्चालक समिति बैठकका लागि अनुरोध गरे पनि उहाँले समय दिनुभएन” उनले विद्यार्थीहरुले गत असार २८ गते नै विभिन्न मागसहित शिक्षालय प्रशासनमा निवेदन दिएको र आफूले नगर प्रमुखका सल्लाहकारमार्फत सो निवेदन नगर प्रमुखलाई बुझाएको बताए ।

उनका अनुसार नगर प्रमुख हमाल कार्यविधि संशोधनको सोचमा रहेका छन् । कार्यविधिमा सञ्चालक समितिका संस्थापक अध्यक्ष पदेन सदस्य रहने व्यवस्थाका कारण नगर प्रमुख हमालले कार्यविधि संशोधन गर्न चाहेको हुनसक्ने उनले दाबी गरे । यसअघि सञ्चालक समिति अध्यक्ष निवर्तमान नगर प्रमुख नृपबहादुर वड रहेका थिए । गत स्थानीय निर्वाचनमा नगर प्रमुखमा वड हमालसंग पराजित भएका थिए ।

हाल सो शिक्षालय बासुदेवी माविको एउटा भवनमा सञ्चालन भइरहेको छ । शिक्षालयमा ल्याब, शौचालय, पुस्तकालय जस्ता आधारभूत सुविधाको मात्रै अभाव छैन, अध्यापनका लागि पूर्णकालीन र विषयगत शिक्षक (प्रशिक्षक) समेतको व्यवस्था भएको छैन ।

अटोमोवाईल इन्जिनियरिङ र होटल म्यानेजमेन्ट विषय पठनपाठनका लागि कम्तिमा १० वटा ल्याव आवश्यक भए पनि अहिलेसम्म एउटै पनि व्यवस्था गरिएको छैन । सिटिइभिटिले दिएको अनुदान रकमबाट प्रयोगशालाका लागि थोरै उपकरण, सामाग्री खरिद गरिएको भए पनि सञ्चालनका लागि पर्याप्त नभएको शिक्षकहरु बताउँछन् । सामाग्रीअटोमोवाईल इन्जिनियरिङ र होटल म्यानेजमेन्ट विषय पठनपाठनका लागि कम्तिमा १० वटा ल्याव आवश्यक भए पनि अहिलेसम्म एउटै पनि व्यवस्था गरिएको छैन । सिटिइभिटिले दिएको अनुदान रकमबाट प्रयोगशालाका लागि थोरै उपकरण, सामग्री खरिद गरिएको भए पनि सञ्चालनका लागि पर्याप्त नभएको शिक्षकहरु बताउँछन् ।

आफ्नो प्रयोगशाला नभएपछि बासुदेवी माविसंग सम्झौता गरेर कम्यूटर र विज्ञान प्रयोगशाला प्रयोग गर्ने व्यवस्था गरिएको छ । त्यस्तै, अटोमोबाइल र होटल म्यानेजमेन्टको प्रयोगात्मक अभ्यासका लागि अटोमोवाइल डिलर्स एसोसिएसन तथा कैलाली होटल व्यवसायी सङ्घसंग सम्झौता गरिएको छ ।

शिक्षालयमा प्रयोगशाला निर्माण गर्न गत वर्ष सिटिइभिटीमा २७ लाख रुपैयाँको प्रस्ताव गरिएको उनले बताए । प्रयोगशालाको अभावमा विद्यार्थीहरुले बजार तथा अन्य विद्यालयको प्रयोगशाला धाउनुपर्ने बाध्यता छ ।

गत बैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा धनगढी उपमहानगरपालिका प्रमुखमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल विजयी भए पनि अहिलेसम्म आफूहरुको गुनासो सुन्ने चेष्टा समेत नगरेको विद्यार्थीहरुले आरोप लगाए ।

शिक्षालय सञ्चालन कार्यविधि अनुसार सञ्चालक समितिको अध्यक्ष नगरप्रमुख रहने व्यवस्था गरिएको छ । आन्दोलित विद्यार्थीहरुले भने– निर्वाचित भएको तीन महिनापछि नगर प्रमुख हमालज्यू शिक्षालयमा अध्यक्षको पदभार ग्रहण गर्न आउनुभयो । तर, न हाम्रा गुनासा सुन्नुभयो, न सञ्चालक समितिको बैठक नै डाक्नुभयो ।

डेढ साताअघिमात्र निर्देशकका रुपमा पदस्थापन गरेका उपमहानगरपालिका शिक्षा, युवा तथा खेलकुद महाशाखाका अधिकृत सूर्यबहादुर कार्कीले विद्यार्थीहरुले विगतदेखि नै पटकपटक आफ्ना माग प्रस्तुत गरेको बताए । “उपमहानगरपालिका स्वयंले सञ्चालन गरेको प्राविधिक शिक्षालयका लागि किन कुनै चासो लिइएको छैन ?” अनुमोदन दैनिकको एक प्रश्नमा शिक्षालयका नवनियुक्त निर्देशक कार्कीले भने– समस्या पहिलेदेखि कै रहेछन् । चालू आर्थिक वर्षको बजेट र कार्यक्रम बनाउ“दा कोहीकसैले पनि शिक्षालयबारे पहल नै नगरेका रहेछन् ।

धनगढी उपमहानगरपालिकाले चालू आर्थिक वर्षको बजेटमा फूलबारी क्याम्पसका लागि २० लाख रुपैयाँ विनियोजन गरेको छ । निर्देशक कार्कीले भने– सरकारी क्याम्पसका लागि तेत्रो रकम छुट्याइयो, तर आफ्नै शिक्षालयलाई आवश्यक बजेट राख्नेबारे कसैले सोचेनन् ।

उपमहानगरपालिकाका शिक्षा, युवा तथा खेलकुद महाशाखा प्रमुख नरेन्द्रबहादुर खाती (उपसचिव) ले “धनगढी पोलिटेक्निक इन्स्टिच्युट स्वायत्त संस्था भएकोले उपमहानगरपालिकासंग सम्बन्ध नभएको” बताए । उनले भने– हामीले उपमहानगरपालिकाबाटै शिक्षालयको निर्देशक नियुक्त गरेका छौं । त्यहाँको समस्या त्यही सम्बोधन हुनुपर्छ ।

यसैबीच, सिटिइभिटीले “पाठ्यक्रम अनुसार पूर्णकालिक प्रशिक्षक नियुक्त गर्न र न्यूनतम प्रयोगात्मक सामग्रीको व्यवस्था गर्न” शिक्षालयलाई पत्राचार गरेको छ । पत्रमा भनिएको छ– सिकाइको न्यूनतम पूर्वाधार व्यवस्थापन नभएमा सञ्चालन स्वीकृति समेत रद्द गरिने जानकारी गराइन्छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार