१६ चैत्र २०८०, शुक्रबार

मन्त्री वडूसंग उपभोक्ता मञ्चको छलफल




धनगढी/ उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद वडूसंग राष्ट्रिय उपभोक्ता मञ्चका प्रतिनिधिहरुले भेट गरेर बजार अनुगमन, उपभोक्ता अधिकार लगायतका विषयमा छलफल गरेका छन् ।

उपभोक्ता मञ्चका सुदूरपश्चिम प्रदेश अध्यक्ष हरि रेग्मी, जिल्ला उपाध्यक्ष तथा कैलाली उद्योग वाणिज्य संघका सदस्य शम्भु लामिछानेसहितको टोलीले मंगलबार कैलालीको गोदावरीमा मन्त्री वडूसंग भेट गरेको थियो ।

भेटका अवसरमा मञ्चका प्रदेश अध्यक्ष रेग्मीले कैलाली सहित सुदूरपश्चिम प्रदेशमा बजार अनुगमन समस्या र चुनौति, बजार अनुगमनमा विभिन्न निकायबीच समन्वयको अवस्था, उपभोक्ता हित संरक्षणका लागि गर्नुपर्ने कार्य लगायतका विषयमा अवगत गराएका थिए ।

सो अवसरमा मन्त्री वडूले बजार अनुगमनलाई प्रभावकारी बनाउन विशेष प्रयास गर्नुपर्ने बताए । मन्त्री वडूले भने– बजार अनुगमन आकस्मिक हुनु जरुरी छ । चाड पर्व वा कुनै विशेष अवसरमा पहिले नै जानकारी गराएर अनुगमन गर्दा खासै उपलब्धी हुदैन । त्यसैले हरेक महिना कुनै दिन आकस्मिक रुपमा अनुगमन गरिनु आवश्यक भइसकेको छ ।

मन्त्री वडूले सरकारले बजारमा मालसामानको कृत्रिम अभाव, सामान आयातमा कम मुल्यांकन (अण्डर बिलिङ), कालोबजारी, मूल्यसूची, गुणस्तरहीन खाद्य सामग्री आदि पक्षमा गम्भीरतापूर्वक काम गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार