७ बैशाख २०८१, शुक्रबार

देवरिया गौशालामा पशुचौपायालाई सास्ती



फाइल तस्बिर

धनगढी / धनगढी उपमहानगरपालिका वडा नम्बर ७ देवहरियास्थितकान्जी हाउस छाडा पशुचौपायले भरिभराउ छ । खुल्ला मैदानभित्र तारजाली र पर्खाल तथा टिनको टहराभित्र पशुचौपायाहरू राखिएका छन् । केही पर सामुदायिक वनको किनारमा लोपोन्मुख गिद्धको ठूलो बथान देखिन्छ ।

कान्जी हाउसमा मरेका गाईगोरुहरू सामुदायिक बनको किनारामा फाल्ने गरिएको छ । ठूलो संख्यामा गिद्धहरू सिनो खाइरहेका छन् । कान्जी हाउसमा राखिएका अधिकांस गाईगोरु खाना र पानीको अभावमा कृषकाया बनेका छन् ।

काञ्जीहाउसको गाई हेरालु पृथ्वी रानाले भने–यहाँ गाईगोरुहरूलाई खुवाउन भुस्सा र चोकर मात्र छ । घाँस नपाएपछि गाईगोरुहरू कमजोर बनिरहेका छन् ।’ उनका अनुसार गाईगोरुको हेरचाहमा निकै चुनौति थपिएको छ ।

आईतबार मात्र दुई वटा गाई मरेको उनले जानकारी दिए । दुई गाई मरेपछि सामुदायिक वन छेउमा फालिएको थियो । समाचार संकलनका क्रममा सञ्चारकर्मीहरू त्यहाँ पुग्दा गिद्धहरू गाईको सिनो लुछाचुडी गरिरहेका थिए । गिद्धले लुछाचुडी गरिरहेका ठाउँभरी मरेका गाईगोरुहरूको हड्डी फैलिएका थिए ।

काञ्जीहाउसका हेरालु पृथ्वीले उपमहानगरपालिकाले धमाधम छाडा पशुचौपायालाई कान्जी हाउसमा ल्याउदा बचाउन समस्या भईरहेको बताए । पहिला यहाँ १८० मात्र गाईगोरु थिए । जेठयता धमाधम छाडा पशुचौपाया यहाँ ल्याउने गरिएको छ ।

कहिले २० वटा, कहिले २५ गरि अहिले यहाँ चार सय बढी गाईगोरुहरू पुगेका छन् उनले भने– चरिचरन गराउन लगु भने जंगलबाटै भाग्ने डर छ । हरियो घाँस काटेर ल्याउन सकिने अवस्था छैन । अहिले यहाँ भएको भुस्सा र चोकर दिईरहेका छौं । घाँस नपाएपछि गाईगोरु कमजोर भईहाल्छन् ।

आईतबार पनि धनगढी उपमहानगरपालिकाभित्र रहेका छाडा गाईलाई सो गौशालामा लगिएको छ । हरियाली मौसममा पनि गाईगोरुलाई खुल्ला आकासमा तारजाली भित्र थुनिएको भन्दै स्थानीयहरूले चिन्ता व्यक्त गरेका छन् । स्थानीय रोहित गिरीले भने– घाँस नपाएर गाईगोरु मर्दा समेत उपमहानगरपालिकाले गौ संरक्षणमा ध्यान दिनसकेको छैन । हरियो घाँसको सट्टा थुनेर भुस्सा र चोकरमात्र खुवाईरहेको छ ।

गाई हेरालु पृथ्वीले गाईगोरुलाई चरिचरन गराउन ठाउँ र जनशक्ति अभाव भएको बताए । उनले भने– सामुदायिक वनले आफनो क्षेत्रभित्र चरिचरन गराउन दिदैन । यही रहेको देवहरिया वनस्पति उद्यान क्षेत्रमा चरिचरन गराईरहेका छौं ।

उनले चार सय गाईगोरु भए पनि आफुले एक सयलाई मात्र चरिचरन गराउन लग्ने गरेको बताए । उनका अनुसार अन्य गाइगोरु भुस्सा र चोकरकै भरमा थुनेर राखिएको छ । उनले भुस्सा र चोकर पनि अभाव भईरहेको बताए ।

गत चैतमा उपमहानगरपालिकाले पाँच डल्लप र मारवाडी सेवा समाजले सात ट्रली भुस्सा तथा सात कठ्ठा चोकर उपलब्ध गराएको थियो । त्यसयता गौशालामा गाईगोरु थप्ने काममात्र भयो । गाईगोरुलाई चाहिने स्रोतसाधनको व्यवस्थापनमा कसैको ध्यान नपुगेको उनले गुनासो गरे ।

गाई जंगलमा चराएर फर्किएका राना अन्य गाईलाई सोही भुस्सा र चोकर दिने तयारी गरिरहेका थिए । उनले भने– पहिला यहाँ आठ जना हेरालु थिए । अहिले छ जनामात्र छौं । सबैलाई जंगल चराउन लग्न बढी हेरालु राख्नुपर्ने देखिन्छ । नत्र चरिचरन गर्न नपाएका गाईहरू मर्ने जोखिम बढेको छ ।

२०७४ सालमा अस्थायी रुपमा सञ्चालनमा ल्याइएको सो कान्जी हाउसलाई हटाउन वनस्पति अनुसन्धान केन्द्रले पटक–पटक पत्राचार गरिरहेको छ । केन्द्रका प्रमुख गंगा दत्त भट्टले गौशालाका कारण देवहरिया वनस्पति उद्यान केन्द्रमा असर परिरहेको बताए ।

छाडा पशुचौपायाको अस्थायी रुपमा व्यवस्थापन गर्न सहज होस भनेर उपमहानगरपालिकालाई केही वर्षका लागि सहमति जनाई कान्जी हाउस सञ्चालन गर्न दिइयो’ उनले भने– सम्झौता सकिए पनि उपमहानगरपालिकाले सो कान्जी हाउसको स्थायी समाधान भने निकाल्न सकेको छैन ।

उनले कान्जी हाउसमा रहेका गाईगोरुलाई उद्यानमा ल्याएर चरिचरण गराउदा संरक्षित वनस्पतिहरू मासिन थालेको बताए ।
उनले कान्जी हाउसमा रहेका गाईगोरुलाई सामुदायिक वन वा अन्य क्षेत्रमा चरिचरन गराउनुपर्ने बताए । उनले भने– सामुदायिक वनले आफनो क्षेत्रमा चरिचरन गर्न दिदैनन । अनि त्यहाँ भएका हेरालुले उद्यानमा चरिचरन गराउछन् । हामीसंग त्यति जनशक्ति पनि भएन । कर्मचारी अभावकै कारण रोक्न समस्या भएको छ ।’ उनले काञ्जी हाउसका कारण त्यहाँका स्थानीयहरूले पनि उद्यान क्षेत्रमा चरिचरन गराईरहेको बताए ।

रकम असुलेर गाई संरक्षण गर्ने संस्थालाई सेवासुविधा
धनगढी उपमहानगरपालिकाबाट जेठ महिनामा (२३ दिन) को सेवासुविधा वापत प्राप्त भएको रकम ५५ हजार छ सय ८७ रुपैया धनगढी उपमहानगरपालिका वडा नम्बर ३ स्थित गौ संरक्षण सेवा समितीलाई प्रदान गरियो । साथै, प्रत्येक महिना सेवा सुविधा मार्फत आएको रकम सामाजिक संघसस्थालाई हस्तान्तरण गरिने छ’ उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालले पहिलो सेवासुविधा पाएपछि दिएको प्रतिक्रिया थियो ।

उपमहानगरपालिकाबाट सञ्चालित गौशालालाई जनशक्ति, स्रोत साधन अभाव झेलिरहेका बेला नगर प्रमुख हमालले घरभित्रका गाईलाई संरक्षण गर्ने संस्थालाई रकम सहयोग गरेकोमा गर्व व्यक्त गरे ।

सो संरक्षण समितिले सडकमा रहेका छाडा पशुचौपायालाई संरक्षण गरेर राख्ने भन्दै घर–घरबाट मुठ्ठीदान, उपमहानगरपालिका, प्रदेश सभा सदस्य डिल्लीराज पन्त, प्रदेशको भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयबाट रकम संकलन गरि भौतिक संरचना तयार गरेको थियो ।

तर, अहिले सो समितिले सडकभन्दा पनि घरमा रहेका गाईहरूलाई घरधनीबाट रकम लिएर संरक्षण गरिरहेको छ । सो समितिले गाई तथा बाच्छा राखेवापत प्रति घरधनी वार्षिक चार हजार रुपैया लिने गरेको बताइएको छ ।

नगर प्रमुख हमालले पहिलो सेवासुविधा सो समितिलाई प्रदान गरे पनि अहिले उपमहानगरपालिकाले सडकमा रहेका गाईहरूलाई समात्दै वडा नम्बर ७ स्थित देवहरिया पुर्याउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार