४ जेष्ठ २०८१, शुक्रबार

जथाभावी सडक खन्दा गएको पहिरोले ज्यान गयो



अछाम / दाइ विदेश जान आमाले जम्मा गरेको पैसा लिन कर्णाली नदी छेउको घरबाट लेकको घर आएका विरेन्द्र विष्टले फर्किन पाएनन् । रोपाइको काम सकिएपछि लेकको घरमा बस्ने योजना बनाएर श्रीमती हरिकला विष्टलाई उज्जवलसिंहले घर पठाए ।

त्यही राती पहिरोले घर भत्किएपछि पुरिएर ज्यान गयो । कर्णाली नदी छेउमा रोपाइँका काम सकेर साउन ८ गते लेकको घर फर्केकै राती तीन जनाले पछिल्लो दिन देख्न पाएनन् ।

अघिल्लो आइतबार राती तुर्माखाँद गाउँपालिका–२ भुलुमा घर माथिबाट आएको पहिरोले एकै परिवारका तीन जनाको घरमा पुरिएर मृत्यु भयो । कारण थियो घरमाथि खनिएको सडक ।

जेठको अन्तिम सातातिर खनिएको सडक भासिँदा रुख सहितको पहिरोले घर भत्किएपछि एकै परिवारको तीन जनाको ज्यान गएको थियो । भने पहिरोले घरभित्र पुरिएकी एक महिलालाई करिब २ घण्टापछि घाइते अवस्थामा स्थानीयले उद्धार गरेका थिए ।

नयाँ खनिएको तुर्माखाँद–भैरवस्थान–भुलु–रहफ सडक खण्डको विष्ट टोलमा करिब ५० मिटरमाथिबाट आएको पहिरोले घरमा सुतिरहेका ४२ वर्षीया हरिकला विष्ट, २५ वर्षीय विरेन्द्र विष्ट र १५ वर्षीय संविधान विष्टले ज्यान गुमाए ।

“त्यता रोड नल्याइदिनुस् हाम्रो घर पुरिएला पहिला नै भनेका हौ, गरिब हुन् भनेर हामीलाई हेपे अहिले यस्तो अवस्था भयो ।” श्रीमती गुमाएका उज्जवलसिंह विष्टको भनाइ छ ।

“रोडको छेउतिर ढालेर राखेको चिउराको रुख हटाइ दिनुस् भनेर हामीले पटक पटक भन्यौ तर कसैले सुनेनन्, अहिले मान्छेको ज्यान गयो ।” मृतकका आफन्त स्थानीय तुलसी विष्टले भने । सडक काट्नेले घर माथिको माटो मिलाएर रुखको व्यवस्थापन गरिदिए मान्छेको ज्यान नजाने स्थानीयको भनाइ छ । नयाँ सडकको कारण पहिरो गएको वडा अध्यक्ष नरेन्द्रबहादुर शाहीसमेत सहमत छन् ।

ठेक्कामार्फत खनिएको उक्त सडक वातावरणीय प्रभाव अध्ययन नै नभएको पाइएको छ । पहिरो गएको ठाउँकै अगाडि भागबाट सडक भासिन थालेको र अर्को घर पुरिनेमा स्थानीय तुलसीको छ । “रोड काटिसकेपछि भुलुका अधिकाँस घरमा पुग्ने निङगाल खानेपानी समेत बगेको छ, हामीले आकाशको पानी खान पर्नेछ ।” वर्षा सकिएपछि खानेपानी अभाव हुने चिन्ताले भुलुका बासिन्दालाई पिरोल्न थालिसकेको तुलसीको भनाइ छ ।

घरमाथि थुपारिएको सडकको माटो र रुखलाई व्यवस्थापन गर्न स्थानीयले नदिएको निर्माण पक्षलाई उदृत गर्दै तुर्माखाँद गाउँपालिकाका प्राविधिको दाबी छ । तर थुपारिएको माटो र रुखको व्यवस्थापनको सूचना गाउँपालिकासम्म नपुगेको प्रमुख प्रशासकीय अधिकृत प्रेमबहादुर बुढाको भनाइ छ ।

सडक काट्ने जिम्मा लिएको ठेकेदार कम्पनीका प्रतिनिधिको मोबाइल बन्द भएकोले सम्पर्क हुन सकेन ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार