८ बैशाख २०८१, शनिबार

मन्दिर निर्माणको माग थेग्न नसक्ने छ : मन्त्री रावल




धनगढी / सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशवबहादुर रावलले जनताका माग अनुसार नै चालु आर्थिक वर्षको बजेट विनियोजन भएको बताएका छन् ।

धनगढीमा बुधबार आयोजित गत आर्थिक वर्ष ०७८/७९ को प्रारम्भिक प्रगति विवरण बारे जानकारी दिन आयोजित कार्यक्रममा उनले पहाडबाट तराइमा बसाइँसराई भएपछि थेग्न नसक्ने गरेर तराइका कैलाली, कञ्चनपुरमा बढी मन्दिर निर्माणको माग आएको बताए ।

मन्दिर निर्माण कार्य विगतमा पनि प्रदेशकै उद्योग, पर्यटन, वन तथा वातारण मन्त्रालयबाट हुने गरेका थिए तर यसपटक प्रावधिक त्रुटीले सामाजिक विकास मन्त्रालयको कार्यक्रममा पनि मन्दिर निर्माणको योजना परेकोले बढी चर्चा भएको उनले बताए ।

उनले चालु आर्थिक वर्षको बजेटले खेलकूद र स्वास्थ्यमा अझ राम्रो परिणाम दिने विश्वास पनि व्यक्त गरे ।

एक प्रश्नको जवाफमा उनले भौतिक पूर्वाधार विकास मन्त्रालयले आफैले नौ अर्व बजेट मागेको, त्यसैमा सङ्घीय सरकारको साढे पाँच अर्व, प्रदेश सभा सदस्यले मागेका भौतिक पूर्वाधारका कार्यक्रम पनि सोही मन्त्रालयमा परेकोले बजेटको आधा जस्तो १८ अर्व रुपियाँ सो मन्त्रालयमा परेको पनि बताए ।

सो मन्त्रालयका राज्यमन्त्री अमरबहादुर साउदले गत वर्षको वेमौसमी वर्षाले गरेको क्षतिको पुर्ननिर्माण गर्नु पर्ने भएकोले समेत भौतिक पूर्वाधारमा बढी बजेट देखिएको बताए ।

सो अवसरमा सो मन्त्रालयका सचिव जितेन्द्र बस्नेतले ४० प्रतिशत जनशक्ति नहुँदा गत आर्थिक वर्षमा खर्च धेरै हुन नसकेको बताए । उनले भने , हाम्रा ऐन नियमले गर्दा साउनमा लागत अनुमान, भदौमा टेण्डर आव्हान जस्ता अनेक प्रक्रिया पूरा गर्दा मङ्सिरमा मात्र काम शुरु हुने भएकोले खर्च अपेक्षितरुपमा हुन नसकेको हो ।

उनले गतवर्षको अन्तिममा प्रावधिक कारण ६० करोड भुक्तानी हुन नसक्दा पनि खर्च प्रतिशत कम देखिएको बताउदै अरु तीन प्रदेशको तुलनामा बढी खर्च गरेको बताए । सुदूरपश्चिमले २० अर्व ९६ करोड ६१ लाख ९२ हजार रुपियाँ अर्थात ६६.६१ प्रतिशत खर्च गरेको उनले बताए ।

उनले चालु आर्थिक वर्षको बजेटमा आर्थिक मामिला मन्त्रालयले मिल्दै नमिलेका बाहेक सम्वन्धित मन्त्रालयबाट गएको योजना कटौती नगरेको समेत बताए । उनले नमिलेका कुरा पनि सम्विन्धित मन्त्रालयका प्रतिनीधिको अगाडि नै हटाइने गरेको समेत बताए ।

सचिव बस्नेतले विगतको तुलनामा सामाजिक विकास मन्त्रालयमा बजेट बढेको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार