२० बैशाख २०८१, बिहीबार

जहाजको शौचालयमा दुई सर्को चुरोट तानेको उपाध्यायको स्वीकारोक्ती



उपाध्यायले प्रहरीलाई पहिलो पटक जहाज चढेको र त्यो बेला मदिरा सेवन गरेको पनि बताएको छन् ।


धनगढी / बुधबार बुद्ध एअरको काठमाडौबाट धनगढी उडेको जहाजमा चुरोट खाएको आरोपमा पक्राउ परेका टीकापुरका नारायण उपाध्यायले आफूले शौचालयमा दुई सर्को तानेको स्वीकार गरेका छन् ।

जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका उपाध्यायले प्रहरीसंगको बयानमा आफू पहिलो पटक जहाज चढेकोले अन्जानमा जहाज भित्रै चुरोट खाएको पनि बताएका छन् । उनले जहाज चढ्नु अघिदेखि नै आफूले मदिरा सेवन गरेकोले पनि जहाजका नियम ख्याल नगरेको पनि बताएका छन् ।

मलाई काठमाडौ विमानस्थलको प्रहरीले चुरोट र लाइटर फाल्न भनेका थिए तर लुकाएरै लगे उनले प्रहरीसितको बयानमा भनेका छन् । उनले चुरोट खाएपछि धुँवा आएकोले एअर होस्टेजले शौचालय हेर्दा चुरोट आएर निभाएको भेटिएको जनाइएको छ ।

प्रहरीले उनी विरुद्ध सार्वजनिक अपराध सम्वन्धी मुद्धा अन्र्तगत दुरव्यवहारको मुद्धा चलाउने भएको छ । सो मुद्धा प्रमुख जिल्ला अधिकारीले हेर्ने व्यवस्था छ ।

सो मुद्धा चलाउदा बढीमा एक वर्ष जेल र २० हजार सजाय हुने व्यवस्था रहेको अधिवक्ता गम्भीरसिंह ऐरले बताए ।

प्रहरी प्रवक्ता वेदप्रकाश जोशीले सात दिन भित्र प्रमुख जिल्ला अधिकारीकलाई उपाध्याय विरुद्धको मुद्धा पेश गर्ने तयारी भइरहेको बताए ।

जहाजमा एकदमै चाँडो आगलागी हुने भएकोले ध्रुमपान सेवन पूर्णरुपमा प्रतिवन्धित छ । तर जहाजमा यस्तो हर्कत गर्नेलाई के कारवाही गर्ने भन्ने कानुन नहुँदा उपाध्यायमाथि सामान्य खालको मुद्धा चलाइन लागेको हो । जुन मुद्धा प्रमुख जिल्ला अधिकारीले चाहेमा सहजै सजिलै तरिकाले टुंगोमा पुगाउन सक्छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार