१० श्रावण २०८१, बिहीबार

प्रधानमन्त्री रोजगार कार्यक्रमले विपन्न वर्गको आर्थिक अवस्था सुधार : मन्त्री कुँवर




धनगढी / श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले प्रधानमन्त्री रोजगार कार्यक्रमले विपन्न वर्गको आर्थिक अवस्था सुधारमा टेवा पुगेको बताएका छन् ।

कैलालीको धनगढीमा मंगलबार प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयन प्रक्रियामा सुधार सम्बन्धि अन्तरक्रिया कार्यक्रमको समापन कार्यक्रममा बोल्दै मन्त्री कुँवरले प्रधानमन्त्री रोजगार कार्यक्रमले विशेषगरी विपन्न वर्गका नागरिकहरुको आर्थिक अवस्था सुधारमा टेवा पुगेको बताए।

स्थानीय स्तरमा आवश्यकताको पहिचान गरेर सोही अनुसार कार्यक्रम कार्यान्वयन गर्दा लक्षित वर्ग त्यसबाट प्रत्यक्ष लाभावन्वित हुने मन्त्री कुँवरको भनाई छ । देश विकासमा युवा जनशक्तीको अनिर्वाय सहभागितामा जोड दिदैं उनले दक्ष युवा जनशक्ती उत्पादन र तिनीहरुलाई स्वदेशमै रोजगारी सिर्जना गर्नेतर्फ सबै तहका सरकारहरुको गम्भिर ध्यान जानुपर्ने बताए ।

कार्यक्रममा प्रधानमन्त्री रोजगार कार्यक्रमका निर्देशक डण्डराज घिमिरेले कैलाली र कञ्चनपुरमा प्रधानमन्त्री रोजगार कार्यक्रम संचालनपछि भएका उपलब्धी र प्रभावकारी कार्यान्वयनका लागि भइरहेका समस्याका बारेमा जानकारी गराए ।

कार्यक्रममा कैलालीका १३ र कंचनपुरका नौ पालिकाका प्रतिनिधि दुई जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत लगायत रोजगार संयोजकहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार