१० श्रावण २०८१, बिहीबार

उपमहानगरपालिकामा चार समिति गठन, एकलौटी ढङ्गले समिति गठन गरियो– एमाले जनप्रतिनिधि



  • बैठकमा केही बेर मेयर र वडाध्यक्ष भुवन रिजालबीच झोकाझोक भएको थियो ।
  • हामीलाई आक्रोसित हुन आउछ भन्दै मेयर हमालले वडाअध्यक्ष रिजाललाई धम्काए

धनगढी / धनगढी उपमहानगरपालिकामा गठन गरिएका विभिन्न चार वटा समितिहरूमा नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधीहरूलाई “वाइपास” गरेको भन्दै आपत्ति जनाएका छन् ।

उपमहानगरपालिकाको सोमबार बसेको आठौ नगर सभाको चौथो बैठकले विभिन्न चार वटा समिति गठन गरेको थियो । तर, कुनै पनि समितिमा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूलाई नसमेटिएको आरोप लगाइएको छ ।

नगर सभा बैठकले उपमेयर कन्दकला रानाको संयोजकत्वमा तीन सदस्यीय न्यायिक समिति गठन गरेको छ । दुवै सदस्य नेपाली काँग्रेसबाट निर्वाचित जनप्रतिनिधि रहेका छन् । न्यायिक समिति संयोजक उपमेयर हुने संवैधानिक व्यवस्था छ त्यो व्यवस्था नभएको भए एमाले पक्षलाई संयोजक पनि बनाउने थिएनन् एमाले प्रतिनिधिहरुको बुझाइ छ ।

समिति गठनमा सदस्यहरूको वडा नम्बर ४ का अध्यक्ष बुद्धिबहादुर खड्काले प्रस्ताव गरेको बताइएको छ । उपप्रमुख रानाले आफू संयोजक रहेको समितिमा दुई जना सदस्य मनोनयन गर्दा आफूसंग कुनै सरसल्लाह नगरिएकोमा आपत्ति जनाइन् ।

वडाध्यक्ष खड्काले न्यायिक समिति सदस्यमा काँग्रेसबाट निर्वाचित मिना मल्ल सिंह र महेन्द्र खड्काको नाम प्रस्ताव पेश गरेका थिए । वडाध्यक्ष खड्काले पेश गरेको प्रस्ताव निर्णयार्थ पेस गर्दा पारित भएको मेयर गोपाल हमालले सभालाई जानकारी गराएका थिए ।

त्यस्तै, लेखा समितिमा काँग्रेसकाका निर्वाचित वडाध्यक्ष प्रेम भण्डारीको संयोजकत्वमा धर्मराज उपाध्याय, हिरालाल राना, विपिन कटुवाल र मिलन रैका सदस्य रहेका छन् ।

तेजराज पनेरुको संयोजकत्वमा गठन भएको विधायन समितिमा मायाकुमारी विक, शारदा ताम्राकार, हरिनारायण राना र डम्बर नाथ जोशी सदस्य रहेका छन् ।

त्यस्तै, दत्तुराम पाण्डेयको संयोजकत्वमा गठन भएको सुशासन समितिमा सत्यदेवी जोशी, श्यामराज बोहरा र बासु रानाथारु सदस्य रहेका छन् ।

धनगढी उपमहानगरपालिकामा काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रबाट निर्वाचित जनप्रतिनिधी रहे पनि स्वतन्त्र उम्मेदवार बनेर मेयर विजयी गोपाल हमालले काँग्रेसका जनप्रतिनिधीहरूलाई मात्र काखी च्यापेको र अन्य दलका जनप्रतिनिधीहरूलाई बाइपास गरिरहेको आरोप लागेको छ ।

बैठकमा वडाध्यक्ष खड्काले अपाङ्ग समिति गठनका लागि पनि आग्रह गरे पनि स्वीकृत भएन ।

नेकपा एमालेबाट निर्वाचित वडा नम्बर १८ का वडाध्यक्ष भुवन रिजालले समितिहरू गठन गर्दा नगर प्रमुख र काँग्रेस मिलेर एकलौटी गरेको आरोप लगाए । समितिहरू गठन गर्दा एकलौटी गरियो, यसमा हाम्रो आपत्ति छ” उनले भने– बैठकमा वडा नम्बर १८ मा जग्गाधनी पुर्जा वितरणका लागि अमिन खटाउन माग गर्दा एजेण्डा सकिएको बताइयो ।

उनले ऐनमा समितिहरू गठन गर्दा सबैको अस्तित्व समेटिने गरी गर्नुपर्ने प्रावधान रहे पनि लत्याइएको आरोप लगाए । उनले भने– नगर प्रमुखले एउटा दललाई मात्रै काखी च्याप्ने काम गर्नुभएको छ ।

एमालेका जनप्रतिनिधिहरूले मेयर हमालले सधैं समन्वय र सहकार्यको कुरा गरे पनि व्यवहारमा उल्टो गरिरहेको बताए । उनीहरूको प्रशन छ– यो कस्तो संस्कार हो ? सबैलाई समेट्ने भन्ने, काम गर्दा चाही एकलौटी गर्ने । के उहाले निरंकुशता देखाउन खोज्नु भएको हो ?

एमालेका जनप्रतिनिधिहरूले मेयर हमालले एमालेलाई किन वाइपास गरेको भन्नेमा आफूहरू अचम्म मानिरहेको बताए । भने– उहाँको एमालेसंग कुन्नी के रिस हो ?

मेयर हमालले भने आफुले सबैलाई समेटेरै काम गर्ने बताए । उनले भने– मैले कुनै गल्ती गरेको छैन । गल्ती गरेको भए सच्चिन तयार छु । समिति गठन गर्दा कसैले पनि विरोध जनाएनन् । त्यसैले पारित भएको हो ।

तर, वडाध्यक्ष रिजालले उपमहानगरपालिकाले बैठकअघि आफुहरूलाई कार्यसूचि र एजेण्डा उपलब्ध नगराएको दाबी गरे । उनले भने– बैठक १ बजेदेखि सुरु हुने भनियो, तर के एजेण्डा हुन् ? भन्ने कुनै पूर्व सूचना र जानकारी थिएन ।

मेयर हमालले नगर कार्यपालिकामा एमालेका सदस्य नै नरहेको बताए । उनले आफूले कानुनले दिएको अधिकारमा टेकेर नै काम गरिरहेको बताए ।

बैठकमा केही बेर मेयर र वडाध्यक्ष रिजालबीच झोकाझोक भएको थियो ।

मेयर हमालले एक्कासी आक्रोसमा नआउनुस । आक्रोसमा आउन हामीलाई पनि आउछ’ भनेपछि दुई जनाबीच बाँझाबाझको अवस्था सिर्जना भएको थियो ।

उपमेयर कन्दकलाले आफनो संयोजकत्वमा रहेको न्यायिक समितिमा आफुले सदस्य छनौट गर्न नपाएको बताइन । उनले भनिन– मसंग कुनै सर–सल्लाह भएन । कोसंग नाम लिएर प्रस्ताव पेश गरियो ?’

उपप्रमुखले नगर मेयरमाथि विभिन्न गुनासो राख्दा पनि मेयर हमालले कुनै जवाफ दिएनन । उपमेयरले जिज्ञासा राखेपछि मेयर हमालले सभाको आठौं अधिवेशन अन्त्य भएको जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार