१४ बैशाख २०८१, शुक्रबार

एक्सक्लुसिभ : गुरुलाई पराजीत गरेका मेयर बाँनिया भन्छन्– बुढीगंगालाई समृद्ध बनाउछौ




धनगढी / बाजुराको बुढीगंगा नगरपालिका मेयरमा निर्वाचित रामबहादुर बाँनियाले पञ्चवर्षीय योजना बनाएर नगरलाई समृद्ध बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले शिक्षा, स्वास्थ्य र भौतिक पूर्वाधारमा विशेष जोड दिएर नगरपालिकालाई समृद्ध बनाउने बताए ।

मेयरमा विजयी भएपछि अनुमोदन खबरसंगको कुराकानीमा नवनिर्वाचित मेयर बाँनियाले आफ्नो जीतमा सबै मतदाताप्रति आभार प्रकट गरे । उनले भने– मलाई जनताले यति समर्थन र विश्वास गर्नुभएको छ, म उहाँहरुको विश्वासको उच्च सम्मान गर्दै नगरपालिका र नागरिकबीच समन्वय गर्ने संयन्त्र बनाएर काम गर्छु ।

मेयर बाँनियाले आफ्नै गुरु (काँग्रेसका रंगबहादुर खाती) लाई पराजीत गरेका हुन् । त्रिशक्ति मावि, तल्लाकोटबाट एसएलसी उत्तीर्ण गरेका बाँनियालाई खातीले २०५४/५५ मा भानोदय उच्च माविमा प्लस टु मा राजनीतिशास्त्र पढाएका थिए । खाती उनका नजिकका साढुदाई पनि हुन ।

“आफ्नै गुरुलाई हराउँदा कस्तो अनुभव भइरहेको छ ?” अनुमोदन खबरको एक जिज्ञासामा उनले भने– मेरो उहाँप्रति सधैं श्रद्धा, सम्मान छ, तर धार्मिकशास्त्र होस वा राजनीति सबैतिर चेलासंग गुरु नै पराजीत भएका छन् ।

उनले थपे– खाती सरकै कारण जनताले दुई पटक मतदान गर्नुपर्ने अवस्था आयो । यसमा म दुःखी छु । दुईवटै चुनावमा उहाँ (खाती) ले राज्यशक्तिको दुरुपयोग गर्नुभयो । तर, जनताले मलाई जिताए । म कहिल्यै जनताको शिर झुकाउने काम गर्नेछैन ।

बुढीगंगा नगरपालिकामा ०७४ को चुनावमा काँग्रेसका दीपकबिक्रम शाहसित २८५ मतले पराजीत बाँनियाले यसपटक एक हजार बढी मतले जितेका छन् । “यति फराकिलो मतान्तरले कसरी जित्नुभयो ?” उनले भने– यसपटक मैले २५ वर्ष गाउँघरमै बसेर गरेको समाजसेवाको मूल्यांकन गरेर जनताले मलाई जिताए । जनताको अदालतले सत्यका पक्षमा निर्णय गरेको छ, न्याय दिएको छ ।

यस्तो छ बानियांको राजनीतिक जीवन
४१ वर्षीय बाँनियाले स्नातक तह उत्तीर्ण गरेका छन् । उनले प्लस टु भानोदय उच्चमावि, नौविसबाट र स्नातक तह डोटीको डोटी क्याम्पसबाट उत्तीर्ण गरेका हुन ।

उनले २०५० सालबाट एमाले निकट अनेरास्ववियुबाट राजनीति शुरु गरेका हुन् । उनी भानोदय उच्चमाविमा अनेरास्ववियुको सचिव र डोटी क्याम्पसमा अध्यक्ष बनेका थिए ।

उनी ०६१ मा गाउँकमिटी सचिव र ०६५ सालदेखि जिल्ला कमिटी सदस्य छन् । अहिले उनी जिल्ला कमिटी सचिवालय सदस्य समेत हुन ।

त्रिशक्ति उच्च माविको व्यवस्थापन समितिको अध्यक्ष समेत रहेका बाँनिया लघुविद्युत उत्पादनदेखि धेरै सामाजिक क्रियाकलापमा आवद्ध रहँदै आएका छन् ।

बुढीगंगा नगरपालिका–८ (साविकको बाह्रबीस गाविस–७ बाँनियाबाडा) का बासिन्दा मेयर बाँनियाको जन्म सामान्य किसान परिवारमा माइलो सन्तानका रुपमा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार