६ जेष्ठ २०८१, आईतवार

बाजुराको बूढीगंगामा मतदान शुरु



बाजुरा । बाजुराको बूढीगंगा नगरपालिकामा मतदान सुरु भएको छ। गत वैशाख ३० गते भएको निर्वाचन विवादित भएपछि त्यसलाई रद्द गरेर नयाँ जनप्रतिनिधि चुन्न आज मतदान गरिएको हो।

बिहान ७ बजेदेखि मतदान सुरु भएको छ। बूढीगंगा नगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसका रंग खाती र एमालेका रामबहादुर बानियाँ उम्मेदवार छन्।

निर्वाचनलाई स्वच्छ, निस्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षा व्यवस्थामा कडाइ गरिएको प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले बताए।

१० वटा मतदानस्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट प्रहरी निरीक्षक (इन्सपेक्टर)को नेतृत्वको टोली खटाइएको उनले बताए। जिल्ला प्रहरी कार्यालय बाजुराका डिएसपी सूर्य थापाले शान्तिपूर्ण वातावरणमा चुनाव भइरहेको बताए।

गत वैशाख ३० गते भएको निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमालेबीच मतदानमा धाँधली भएको भन्दै विवाद भएपछि मतदान नै स्थगित गरिएको थियो। निर्वाचन आयोगले गरेको स्थलगत अध्ययनले पुन:निर्वाचन गर्ने निष्कर्ष निकालेको थियो। निर्वाचन पुन: हुनुपर्ने माग गर्दै अदालतमा मुद्दासमेत परेको थियो। पछि सर्वदलीय सहमतिका आधारमा पुन: निर्वाचनको मिति तय गरिएको थियो।

बूढीगंगाका केही वडाहरुमा कांग्रेस र एमालेका कार्यकर्ताहरुले बुथ कब्जा गरेर मतदान गरेको आरोप लागेपछि मतगणना हुन सकेको थिएन। स्थिति असहज भएपछि त्यहाँका निर्वाचन अधिकृत नै फिर्ता भएका थिए।

पुन: निर्वाचन गर्नका लागि निर्वाचन आयोगले नयाँ निर्वाचन अधिकृतको रुपमा लक्ष्मण बहादुर कडायतलाई तोकेको छ। यसैगरी पहिलेका प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौडेलको सट्टा प्रकाशचन्द्र अधिकारीलाई बाजुराको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको नेतृत्व पनि सरकारले फेरेको थियो।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार