६ चैत्र २०८०, मंगलवार

बजेट काण्डमा प्रधानमन्त्रीको समेत संलग्नता छ : महासचिव पोख्रेल



धनगढी / नेकपा (एमाले)का महासचिव शंकर पोख्रेलले बजेट निर्माणको अनैतिक कार्य वारे प्रधानमन्त्री चुप लाग्नु भनेको गम्भीर विषय भएको बताएका छन् ।

उनले प्रधानमन्त्री चुप लाग्नु भनेको बजेट निर्माणमा सरोकारवालालाई संलग्न गराउन प्रधानमन्त्रीको पनि भूमिका छ भन्ने् पुष्टी हुने बताए ।

प्रेस चौतारी नेपाल कैलालीले अत्तरियामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले बजेट बनाउनमा अनैतिकरुपमा लागेकाहरु काँग्रेस निकटका व्यापारिक घरानाका भएकोले पनि प्रधानमन्त्रीको संलग्नता देखिने दावी गरे ।

राष्ट्र बैंकले आठ खर्ब भन्दा वढी रकम निस्कासन गरेको भए पनि बजार र बैंक दुवैतिर पैसा नभेटिनु सरकारप्रतिको अविश्वास रहेको पनि उनले चर्चा गरे । सरकारको नीतिले पैसा हराएकोले नयाँ व्यवसाय गर्नका लागि ऋण खाज्नेले ऋण पनि पाएनन् उनले भने आर्थिक संकट सरकारद्धारा सिर्जना गरिएको हो, सरकारको नीति ठिक हुने वित्तिकै यो संकट टर्छ ।

महासचिव पोख्रेलले स्थानीय तहको गठवन्धनबाट काँग्रेसले मात्रै लाभ लिएको बताउदै माओवादी विगतको १७ बाट १३ प्रतिशतमा झरेको बताए । उनले मतका आधारमा एमाले नै ३४ प्रतिशत मत ल्याएर ठूलो पार्टी बनेको बताउदै काँग्रेसले ३३ प्रतिशत मत मात्रै पाएको बताए ।

माधव र झलनाथका कारण एमाले कमजोर हुन्छ भन्ने मनोविज्ञानको स्थानीय चुनावबाट अन्त्य भएको बताउदै महासचिव पोख्रेलले आगामी चुनावमा एमाले बृहत्तर परिणाम ल्याउने दावी गरे ।

१३ प्रतिशतको माओवादी र चार प्रतिशतको एकीकृत समाजबादीले ३४ प्रतिशतको एमालेलेलाई सक्छौ भन्नु गलत भएको बताउदै उनले स्थानीय चुनावमै घेरावन्दी गरेर एमालेलाई हराउन नसकेको बताए ।

चुनावमा वाम एकताको सम्भावना छ भन्ने प्रश्नमा उनले नेपालमा एमाले मात्र वामपन्थी रहेको बताउदै बुर्जवा पार्टी काँग्रेसको पछाडि लाग्नेहरु वामपन्थी हुन नसक्ने बताए । उनले भने स्थानीय आवश्यक्ताका आधारमा कतै तालमेल हुनसक्छ तर राष्ट्रिय तहमा चुनावी गठवन्धन कसैसित हुँदैन ।

उनले संघ र प्रदेशको चुनाव संवैधानिक बाध्यता भएको बताउदै चुनाव गर्न नसक्ने हो भने अहिले सरकारले राजीनामा गर्नुपर्ने बताए । यो सरकारले चुनाव गराउन नसके अर्को सरकारले चुनाव गर्छ महासचिव पोख्रेलले भने । स्थानीय चुनाव पनि एमालेको दवावका कारण भएको उनको जिकिर थियो ।

नेकपा टुक्रनुमा एमाले र ओली होइन माधव र प्रचण्ड जिम्मेवार रहेको चर्चा गर्दे महासचिव पोख्रेलले एमालेसंग चुनावी तालमेल गर्न काँग्रेससंगको सम्वन्ध विच्छेद गरेर आउनु पर्ने बताए ।

महासचिव पोख्रलले वर्तमान सरकारले मुलुकलाई विदेशीको क्रिडास्थल बनाएको पनि आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार