१३ बैशाख २०८१, बिहीबार

धनगढीका मेयर गोपाल हमाल, उपमेयर कन्दकला रानाको यसरी भयो दोहोरो आरोप्रत्यारोप




धनगढी / धनगढी उपमहानगरपालिकाको आठौ नगर सभाको तेस्रो बैठकमा नगर प्रमुख गोपाल हमाल र उपप्रमुख कन्दकलाबिच चर्काचर्की भएको छ ।

उपप्रमुख रानाले उपमहानगरपालिकाको वार्षिक कार्यक्रम पुस्तिका विधि र प्रक्रिया विपरित आएको भनेपछि उनीहरु दुई जनाबीच चर्काचर्की भएको हो ।

‘बजेट, योजना तर्जु गर्दा कस्को अधिकार कति छ भन्ने स्पष्ट छ । नीति नगर प्रमुखले बनाउने कुरा हो त्यसमा मेरो विरोध भएन । मैले समर्थन गरे’ उपप्रमुख रानाले भनिन –‘बजेटको संयोजक उपप्रमुख हो । संविधानले दिएको हक अधिकार मलाई प्रयोग गर्न दिइएन । म विधि र प्रक्रियाको खोजीमा छु ।’ उनले नगर सभामा योजनामाथिको छलफल अघि बढाउन पाउनुपर्ने बताइन । ‘यसको संयोजक उपप्रमुख हो भने खै त यसको अधिकार प्रयोग भएको ? कति बेला छलफल भयो ? कुन अवस्थामा हामीले छलफल गर्यौ, समन्वय र सहकार्य गर्यौं ?’

उनले भनिन –‘यसमा मेरो धेरैनै आपत्ति छ । एजेण्डा के हो थाहा छैन । नगर सभा छ । एजेण्डा मागिरहेको छ । कुन–कुन एजेण्डामा छलफल गर्नेपर्ने छ र प्रत्यक्ष प्रशारणमा जोडिनुभएका हाम्रा जनसमुदायहरु उपमेयरले कस्तो बजेट बनाउनु भयो भनी खोजीमा छन ।’

उनले आफू उपप्रमुख भएको भन्दै आफनो मात्र अपमान नभई समग्र महिलाको अपमान भएको बताउँदै ‘नेपालको कानुनले जारी गरेको प्रक्रियाबाट म वञ्चित भए । मलाई धेरै चोट र एकदमै दुखी तुल्याएको छ ।

मैले न्याय माग्ने पनि यसै नगर सभामार्फत हो । अहिलेसम्म हाकिम सावको फोन उठ्दैन । फोन गर्छु उहाँ कार्यक्रममा छु भन्नुहुन्छ । हाकीम साव र मेयर साव अलग्गै बसेर योजना बनाएर प्रस्तु गर्नुहुन्छ । यो कतिसम्मको न्यायोचित होला भन्ने तपाईहरुलाई महशुस भइसकेको छ ।’

उनले मञ्चका कार्यक्रममा पनि नगर प्रमुखले आफूलाई जान नदिएको सभामा व्यक्त गरिन । ‘अस्ती ४ गतेको कार्यक्रममा मैले मञ्चमा जानुपर्ने मेयर सावले जाने अनुमतिनै दिनु भएन । कतिसम्मको हेपाहा प्रवृति हो । धनगढी उपमहानगरपालिकामा उपमेयरको के कति काम छ ? के दायित्व छैन । जनसमुदायले किन मलाई यो ठाउँमा पठायो त ? मैले कुनै व्यक्ति र कसैको सोर्सफोर्स लगाएर यो ठाउँमा आएको छैन । म धनगढी उपमहानगर पालिका चलाउनका लागि जनताले पठाएको उपप्रमुख हो भने मेरो अधिकार खै देखाईदिनुपर्यो मेयर साव ।’

उनले धनगढी उपमहानगरपालिका कुनै कम्पनि वा उद्योग नभएको बताइन । उनले भनिन –‘धनगढी उपमहानगरपालिका हो भने यो योजना तर्जुमाको संयोजकसंग छलफल गरेर, होइन भने कार्यपालिकाको बैठकमा छलफल गरेर पास गरेर यो कार्य सभा सञ्चालन हुने जिम्मा थियो भने किन खै त यो कतिसम्मको अपहेलना ?’

उनले हाकिम व्यस्तता देखाउँदै आफनो कार्यकक्षमा आउन गाह्रो मान्ने बताउँदै –‘उपप्रमुखको कार्यकक्षमा आउन उहाँलाई गाह्रो हुन्छ । या दबाब या असहयोग गर्न चाहनु भएको हो ।’

उनले उपमहानगरपालिकाभित्र रहेका कुनै पनि महाशाखाका कर्मचारीसंग सरसल्लाह नभएको बताइन । उनले योजनाको किताव कसले र कहिले तयार पारेको भन्दै प्रश्न गरिन । उनले वार्षिक कार्यक्रम पुस्तिकालाई व्यक्तिगत बनाइएको बताइन । ‘म मेयर सावसंग मिलेर जाउँ । समन्वय गरेर जानुपर्छ भनेको छु । नगर प्रमुखका राम्रा कुराको समर्थन गरेको छु । नगर प्रमुखको नारा सुन्दर छ तर, एकलौटी छ’ उनले भनिन ।

उनले उपमेयरको सचिवालयमा कर्मचारी नभएको भन्दै –‘मैले हारगुहार गरे धेरै मेरो सचिवालयमा सचिव छैन । मैले कसरी हरेक कुराको सूचना पाउ र कुनै कार्यक्रम हुँदा मैले कसरी हिड्ने जुन मैले हारगुहार गरे । मैले नारायण शर्मा ज्यूलाई धेरै अनुरोध गरे । हेर्नुस त कर्मचारीले पनि उपमेयरलाई हेपेको प्रवृति । अहिलेसम्म न उहाँ आफु आउनु भयो । न कसैलाई पठाउनु भयो काम गर्नका लागि ।’

उनले पुराना योजनालाई दोहोर्याउँदै लग्ने र नयाँ योजना अहिले नपार्ने प्रतिक्रियाको जवाफ दिँदै भनिन –‘म यति नबुझेको महिला होइन । सदस्य पनि होइन । उपप्रमुख हुँ । धेरै कुरा बुझ्छु । ठिक छ धनगढी उपमहानगरपालिकामा ऋण छ । त्यो पनि हेर्छु । पुराना योजनालाई कसरी लैजाने र नयाँ योजनालाई कसरी समावेश गर्ने, हुन्छ की हुँदैन त्यसमा ख्याल गर्न मलाई राम्रोसंग आउँछ । तर, सरसल्लाह त हुनुपर्यो । छलफल त हुनुपर्यो । समय छैन हामीसंग ।

म त्यो समयको मध्ये ख्याल गर्दै सरसल्लाह नै छैन भने कसरी यो नगर सभा चल्छ । नगर सभा छ प्रत्येक सदस्यहरुको हातमा एजेण्डा आउनुपर्छ । एजेण्डामा छलफल गर्नुपर्छ । एजेण्डामा छलफल गरेर आएपछि त सुन्दर धनगढी बन्छ । हाम्रो धनगढी हामी बनाउँछु भन्ने नारा लगाउने एकतान्त्रिक प्रणाली लागु हुने । यसमा हाम्रो धेरै आपत्ति छ । हामी नगर सभा चलाउन सक्दैनौं । स्थगित गर्छौ ।’

उपप्रमुखले उठाएको जवाफ दिँदै नगर प्रमुख हमालले बजेट बनाउँदा उपप्रमुखको सहभागितामै तयार भएको बताए । ‘बजेट हामी सबैले हेरेको बजेट हो । बजेट बनाउँदा उपप्रमुख पनि आफै सहभागि हुनुहुन्छ । यो कमिटिले बनाएको बजेट हो । त्यो बजेट कार्यपालिकामा प्रस्तुत भयो ।

कार्यपालिकामा प्रस्तुत हुँदा १० करोड रुपैया काट्नुपर्ने अनुमोदित भएको छ’ उनले भने –‘अहिलेको यो छलफल भनेको अब हामीले कहाँ कहाँ र कुन–कुन शिर्षकमा बजेट कटौति गर्यौं । यो पूर्ण रुपमा के हो भने जुन शाखामा जो बस्नु भएको छ । यो उहाँहरुले बनाएको हो । मैले बजेट बनाएको भएत मैले योजना हालेको होला नी । मैले सडक हालेको होला । मेरो स्वार्थ ढल्किनु पर्यो नी त्यसमा । कुनै स्वार्थ छैन ।’

उनले उपप्रमुखलाई संविधान पढ्न अनुरोध गरे । नगर प्रमुख हमालले उपप्रमुखले पार्टीको आस्था देखाउने गरेको बताउँदै ‘उहाँ शंका गर्नुहुन्छ हरेक कुरामा । उहाँ के भन्नु भएछ भने हामी त पार्टीवाला हौं हाम्रो पछाडि त पार्टी छ । गोपी हमालकोपछि को छ । म के टिको लगाएर आएको हो । त्यो २६ हजार जनताले मत दिएर म निर्वाचित भएको हुँ । उहाँ आफु जिम्मेवार पदमा बसेको व्यक्तिले त्यो बोल्नुभएको छ । त्यसकारण के भने हत्तोत्साहित गराउने काम नगरौं । द्वन्द्व बढायो भने बढ्छ । मैले कुनै अनैतिक काम गरेको छैन । जति छ तपाईहरुलाई देखाएरै गरेको छु ।’

‘के केमा बजेट काटियो । किन र कसरी काटियो भन्ने लगायतमा छलफलमा अघि बढौं । हैन अब ठिक छ सभानै नचल्ने भएपछि नचलोस् । मेरो मात्र त जिम्मेवारी होइन । हामी सबै उत्तिकै जिम्मेवार हो’ उनले भने –‘समन्वय एकतर्फबाट होइन दुई तर्फबाटै हुन्छ । रिपोर्टिङ मेयरले उपमेयरलाई गर्ने की उपमेयरले मेयरलाई यो तपाईहरु भन्नुहोस । म आफनो काममा व्यस्त हुन्छु । म चाहि विना काममा कसैकोमा जाँदैन । जान पनि फुर्सद छैन ।’

उनले उपमेयरलाई पंगु बनाउने, काम गर्न बाँधा पुर्याउने आफनो उद्देश्य नरहेको बताए । उनले भने –‘उपप्रमुखले मलाई कम्पनि चलाएको जस्तो होइन भनेर डाइरेक्ट भन्नुभयो । अब मैले तपाईको पुरानो पेशाको कुरा निकालिदियो भने के हुन्छ ? तपाईको चित्त दुख्दैन । म कुनै चोर डाका कम्पनिबाट आएको हो । के मैले गिरोह चलाएको हो । मैले कम्पनि चलाएर के गरे राज्यलाई कर तिरे । सयौं मानिसलाई रोजगारी दिएको छु । सामाजिक क्षेत्रमा काम गरेको छु । अनि मैले व्यवसाय नगर्ने । तपाईले के हिसावले भन्नुभयो । हामी व्यक्तिगत कुरामा नजाउ है ।’

नगर प्रमुखको जवाफमा चित्त नबुझेपछि उपप्रमुखले बोल्न माग गरिन । नगर प्रमुख हमालले प्रमुख प्रशासकिय अधिकृत रामलाल श्रेष्ठलाई बोल्न दिए । प्रमुख प्रशासकिय अधिकृत श्रेष्ठपछि पुनः उपप्रमुख रानाले बोल्न शुरु गरेकी थिइन ।

‘सन्तोषजनक उत्तर पाएको भए म बोल्थेन । तर मेयर सावको धम्की दिने बानी अहिलेसम्म गएको छैन । उहाँले फेरि पनि धम्की दिनुभयो । कि बन्द गर्नुहुन्छ भने तयार छु रे । यहाँ बन्द गर्ने कुरै छैन । किन बन्द गर्ने ? हामी बन्द गर्न आएका होइनौं । हामी सहज वातावरण मिलाउन आएका हौ’ उनले भनिन –‘धनगढी बनाउन संग संगै सहकार्य गरेर अघि बढ्ने हो । छुटिको दिन मैले सचिवहरुसंग सहकार्य गर्नका लागि मेयर सावलाई फोन गरे तर, उठाएनन ।’ उपप्रमुख बोल्दै गर्दा नेपाली काँग्रेसबाट निर्वाचित वडा नम्बर ३ का वडा अध्यक्षले बजेटमाथिको छलफल अघि बढाउन भन्दै आवाज उठाए । तर, उपप्रमुखले आफनो धारणा व्यक्त गर्ने काम जारी राखेकी थिइन भने बैठकमा सहभागि नेपाली काँग्रेसका जनप्रतिनिधीहरु विरोध गरिरहेका थिए ।

उपप्रमुखलाई बोल्न नदिन काँग्रेस जनप्रतिनिधीले आवाज उठाएपछि नेकपा एमालेका जनप्रतिनिधीहरुले उपप्रमुखले बोल्न पाउनुपर्ने माग गरे ।

वार्षिक पुस्तिकामाथिको छलफल शुरु नहुँदै नेपाली काँग्रेस र नेकपा एमालेबिचका जनप्रतिनिधी चर्काचर्की चलेको थियो । झण्डै १५ मिनेट बैठक हलभित्रै चर्काचर्की भएपछि छलफल अघि बढ्न सकेको थिएन । सोही विवादपछि वडा अध्यक्षहरुले आ–आफनो धारणा व्यक्त गरेका थिए ।

विरोध शान्त भएपछि वार्षिक कार्यक्रम पुस्तिकामाथिको छलफल अघि बढेको थियो । जनप्रतिनिधीहरुले छलफलमा भाग लिएपछि उपप्रमुख रानाले आफुले तयार गरेको १९ वटै वडाको नगर स्तरिय योजना नगर प्रमुख हमाललाई पेश गर्दै बैठक अघि सर्न नसक्ने अडान लगिन ।

प्रमुख प्रशासकिय अधिकृत श्रेष्ठले नियमित कार्यक्रम भन्दै कर्मचारीले प्रस्तावन राख्ने बताउँदै –‘यो बजेट अधिवेशन हो । बजेटलाई पास गर्नैपर्छ । बजेट पास भएपछि समिति गठन गर्नुपर्ने व्यवस्था छ । त्यो समिति आजै गठन गर्नुपर्ने भन्ने छैन । अर्को दिनको बैठकले समिति गठन गर्न सक्छ । आजको दिन बजेट छलफल हो । छलफलमा हामी सबैलाई पढ्न गाह्रो होला भनेर यहाँ प्रस्तुत गरिएको हो । सुनिसकेपछि धेरै कुरा याद हुन्छ । पढन अल्छी लाग्छ । अक्षर सानो सानो पनि हुन्छ । पढ्न गाह्रो पनि हुन्छ । यो व्यवहारिक कुरा राखेको हो ।’

उनले बजेट, नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ भएको जानकारी दिए । उनले न्यायिक समितिलाई दुई सदस्यीय मनोनयन गर्ने, पाँच जनाको सार्वजनिक लेखा समिति, विद्यायन समिति र सुशासन समिति मनोनयन गर्ने बताए ।

२६ करोड आन्तरिक आम्दानीको प्रक्षेपण गरिएकोमा आम्दानी २० करोड रहेको छ भने खर्च ४० करोड रहेको छ । यसमा कुनै पनि जनप्रतिनिधीहरुले आवाज नउठाउने गरेको उनले बताए । बैठकमा बजेट पारितमा सहमति नजुटेपछि नगर प्रमुख हमालले बैठक आधा घण्टाका लागि स्थगित भएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार