७ बैशाख २०८१, शुक्रबार

नालामा डोजर लगाउदा धनगढीको १ र ५ नम्बर वडा जोड्ने कल्भर्ट जोखिममा





धनगढी / धनगढी उपमहानगरपालिका वडा नम्बर १ र वडा नम्बर ५ जोड्ने सडक भासिएर कल्भर्ट जोखिममा परेको छ ।

जथाभावी डोजर लगाई सडक र कल्भर्ट संरक्षणका लागि बनाइएको तटबन्धन भत्काएपछि सडक भाँसिएको हो ।

धनगढी वडा नम्बर १ स्थित नविन जिम क्लब पछाडीदेखि वडा नम्बर ५ तारानगर जाने सडक भाँसिएको स्थानीयहरुले बताए ।

सडक भाँसिएपछि दुई वडा जोड्ने कल्भर्ट भत्किने जोखिममा रहेको उनीहरुको भनाई छ ।

धनगढी उपमहानगरपालिकाले नाला अतिक्रमण हटाउने अभियान अन्तरगत वडा नम्बर ५ सुकुटी नालामा डोजर लगाउन शुरु गरेको थियो । अतिक्रमित भौतिक संरचना हटाउने नाममा नालामा रहेका ठुला तथा साना रुखहरुसंगै कटान रोक्न बनाइएका तटबन्धन डोजर लगाएर भत्काइएको थियो ।

सो कल्भर्टलाई संरक्षण गर्न सरकारले लाखौं लगानी गरि बनाएको तटबन्धन डोजर लगाएर भत्काउँदा सडक भाँसिएको जनाइएको छ । तीन वर्ष अघि सो कल्भर्ट भाँसिने जोखिममा परेपछि उपमहानगरपालिकाले दुई लाख बढी रकम खर्च गरेर तटबन्धन सहित मर्मत गरेको थियो ।

राष्ट्र बैंकदेखि सो कल्भर्ट छेउछाउमा रहेका ठुला रुख, बाँसका झारी र तटबन्धन भत्काएर नालीभित्रै गाँडिएको छ ।

उपमहानगरपालिकाले अतिक्रमण हटाउने नाममा जथाभावी डोजर लगाएपछि एक वस्ती कटानको जोखिममा रहेको छ । नाला छेउछाउमा रहेका रुख तथा बोटविरुवा कटान गरेपछि एलजी एकेडेमी नजिक रहेको बस्ती कटानको जोखिममा परेको स्थानीयहरु बताउँछन । विद्यालय छेउमै बस्तीभित्र पानी नपुगोस भनेर त्यहाँ फोहोर व्यवस् थापन गरिएको थियो ।

अहिले डोजर लगाएपछि सामान्य वर्षातले ती फोहोर पनि नालामै बग्न लागेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार