१३ बैशाख २०८१, बिहीबार

रतन थापालाई एमाले कैलालीको अध्यक्षबाट हटाइयो



  • अध्यक्ष थापालाई अध्यक्षबाट हटाइए पनि संगठित सदस्य कायमै
  • जिल्ला परिषदबाट साउन १५ भित्र अध्यक्ष छान्न प्रदेश कमिटीद्धारा जिल्ला कमिटीलाई निर्देशन
  • तत्काल उपाध्यक्षले अध्यक्षको जिम्मेवारी सम्हाल्ने

धनगढी / नेकपा (एमाले ) सुदूरपश्चिम प्रदेश कमिटीले सो पार्टीका कैलाली अध्यक्ष रतन थापालाईे अनुशासनको कारबाही गरेको छ ।

स्थानीय तहको निर्वाचनमा जिल्लामा आफनै पार्टीका उम्मेदवारलाई पराजित गराउन सक्रिय रहेको भन्दै उनलाई अध्यक्ष पदबाट प्रदेश कमिटीले हटाएको निर्णय गरेको हो ।

‘प्राप्त भएका सिफारिश, प्रमाण तथा दस्तावेजहरुलाई मध्यनजर गर्दा कैलाली जिल्ला कमिटीका अध्यक्ष रतन थापाले पार्टीको विधानको धारा ८० को १, २, ३, ४, ५, ६, १२ र १३ बमोजिमको गम्भिर प्रकृतिको अनुशासनको उल्लंघन गरेको बैठकले ठहर गरको छ’ प्रदेश सचिव धर्मराज पाठकले बताए ।

पार्टीका कैलाली जिल्ला ईन्चार्ज नारदमुनी रानाले प्रदेश कमिटीमा गरेको अनुशासनको कारबाहीको सिफारिस तथा प्रदेश कमिटीमा सिफारिस साथ प्राप्त भएका तथ्य, प्रमाण तथा दस्तावेजहरुको अध्ययन तथा प्राप्त भएका सिफारिसहरुलाई ध्यानमा राखी सो निर्णय गरेको बताइएको छ ।

‘पार्टीको जिल्ला अध्यक्ष जस्तो जिम्मेवार व्यक्तिबाट गम्भिर प्रकृतिको अनुशासनको उल्लंघन भएको तथा कारबाहीको लागि जिल्ला पार्टीको सचिवालयको बैठकको निर्णय, जिल्ला ईन्चार्जको सिफारिश, सम्बन्धित भूगोलका केन्द्रिय सदस्यहरुको राय समेतको आधारमा पार्टी विधानको धार ८१ बमोजिम निजलाई कैलाली जिल्ला कमिटीको अध्यक्ष पदबाट निस्काशसन गर्ने निर्णय गरिएको छ’ उनले भने ।

अध्यक्षबाट थापालाई हटाइएपछि रिक्त पदमा बहालवाला उपाध्याक्षलाई कार्यवाहक जिल्ला अध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको प्रदेश सचिव पाठकले बताए ।

‘रिक्त रहेको पदमा पार्टी विधानको धारा ६८ को २ बमोजिम बहालवाला उपाध्यक्षलाई कार्यबाहक जिल्ला अध्यक्षको जिम्मेवारी दिएर पार्टी कामलाई अगाडि बढाउन कैलाली जिल्ला कमिटीलाई निर्देशन गर्ने निर्णय गरिएको छ’ उनले भने ।
उनका अनुसार साउन १५ गतेभित्र जिल्ला अधिवेशन प्रतिनिधि परिषदको बैठक आयोजना गरेर जिल्ला अध्यक्ष चयन गर्न जिल्ला कमिटीलाई निर्देशन पनि दिइएको छ ।

‘जिल्ला कमिटीको अध्यक्ष चयन गर्नका लागि मिति ०७९ साल श्रावण १५ गते भित्र जिल्ला अधिवेशन प्रतिनिधि परिषदको बैठकको आयोजना गरेर पार्टी विधान बमोजिम अध्यक्ष चयन गर्न जिल्ला कमिटी कैलालीलाई निर्देशन गर्ने निर्णय गरिएको छ’ उनले भने ।

प्रदेश अध्यक्ष दामोदर भण्डारीको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो । बैठकमा प्रदेश केन्द्रीय सचिव तथा प्रदेश सचिव लेखराज भट्ट, कैलाली इन्चार्ज नारदमुनी राना, प्रदेश कमिटीका पदाधिकारी लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार