११ बैशाख २०८१, मंगलवार

फिल्मी शैलीमा आक्रमण र लुटपाट : अनुसन्धानको चार घन्टामै अभियुक्तहरु पक्राउ





धनगढी / कैलालीको गोदावरी नगरपालिका–४, बुढितोला जङ्गलको गाइमारा भन्ने स्थानमा सोमबार बिहान सांघातिक आक्रमण गरी एक नेपाली युवकलाई लुट्ने तीन भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

घटनाको सूचना पाएलगत्तै अनुसन्धान तीब्र बनाएको कैलाली प्रहरीले चार घन्टाभित्रै आक्रमणकारी लुटेरा तीन जना भारतीय नागरिकलाई पक्राउ गरेको जनाएको छ ।

सोमबार बिहान बिहान साढे ११ बजेतिर कञ्चनपुरको वेदकोट नगरपालिका–३ दैजीका ३७ वर्षीय लोकेन्द्र भण्डारीलाई तीन जना भारतीय युवकहरुले चक्कु र ढुङ्गाले आक्रमण गरेर घाइते बनाउनुका साथै उनीसंग भएको रकम, मोबाइल फोन तथा कार लुटेर फरार भएका थिए ।

घटनाको दिउसो एक बजेतिर सूचना पाएपछि अनुसन्धान तीब्र बनाएको कैलाली प्रहरीले साँझ पाँच बजेतिर घटनामा सङ्लग्न तीनै जना अभियुक्तहरुलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रवक्ता (प्रहरी नायव उपरीक्षक) वेद प्रकाश जोशीका अनुसार अनुसन्धान टोलीले गोदावरी नगरपालिका–१, ऐश्वर्य सामुदायिक बनमा भारतको हरियाणा, सोनिपतका १८ वर्षीय भगत सिंह, १८ वर्षका साहिल बादलिसे र २० वर्षका सन्नी जाटलाई बनमा लुकिबसेको अवस्थामा फेला पारेको हो ।
प्रहरीले यसअघि गोदावरी नगरपालिका–१ को मनेहरा गाउको एक पेट्रोल पम्पको भित्रि सडकमा लुटिएको कार पनि फेला पारेको थियो ।

तीनै जना अभियुक्तहरुले डडेल्धुराको आलिताल गाउँपालिकामा कम्प्युटर अपरेटरमा कार्यरत नायव सुब्बा लोकेन्द्रलाई साढे ११ बजेतिर कैलालीको गोदावरी नगरपालिका–४ को बुडितोला जङ्गलको फोक्सेको मोडभन्दा केही वर गाइमारा भन्ने स्थानमा साङ्घातिक आक्रमण गर्नुका साथै लुटेका थिए ।

कञ्चनपुरको चमनचौराहाबाट कैलालीको खानीडाँडासम्म लिफ्ट मागेका उनीहरुले गाइमारामा पुगेपछि “फोटो र भिडियो खिच्ने” भन्दै लोकेन्द्रलाई पनि कारबाट बाहिर निकालेर सडकबाट करिब ५० मिटर तल जङ्गलमा लगेर चक्कु र ढुङ्गाले प्रहार गरी घाइते बनाएका थिए ।

प्रहरीका अनुसार घाइते लोकेन्द्रलाई अभियुक्त तीनै जनाले उनकै बेल्टले घाँटी र खुट्टा बाँध्नुका साथै तौलियाले मुख र हात पछाडी लगेर बाँधेर जङ्गलमै छोडेका थिए । घटनाको केही बेरपछि लोकेन्द्र जसोतसो सडकमा आएर गुहार मागेको र बस तथा मोटरसाइकलमा आइरहेका यात्रुले घटनाबारे प्रहरीलाई सूचना गरेको थिए ।

सूचनाको लगत्तै घटनास्थल पुगेको गोदावरी प्रहरी चौकीका एक प्रहरी सहायक निरीक्षकको कमाण्डको टोलीले लोकेन्द्रलाई उपचारका लागि अत्तरियास्थित पद्मा अस्पताल पुराउनुका साथै घटनास्थलको अनुसन्धान गरेको थियो ।

पद्मा अस्पतालमा उपचारमा रहेका लोकन्द्रले अनुमोदन दैनिकसंगको कुराकानीमा घटना साढे ११ देखि पौने १२ बजेको बीचमा भएको बताए । उनले भने– म बिहान आफ्नै कार प्र ३ ०१००२३ च ८७२१ बाट आलिताल जान निस्किए । चमनचौराहमा एउटा अटोरिक्सामा आएका मजदुर जस्ता देखिने तीन जना भारतीय युवकहरुले खण्डाला (खानीडाँडा) सम्म आफूहरुलाई पनि लैजान आग्रह गरे । मैले हुन्छ भने ।

लोकेन्द्रका अनुसार उनी देहाती शैलीको हिन्दी बोलिरहेका थिए । उनले भने– मैले उनीहरुको बोली राम्ररी बुझिरहेको थिइन् । कारमा संगै रहेका उनीहरु वेलावेलामा कुन सडक कहा जान्छ भनेर सोधिरहेका थिए । कैलालीको गोदावरी पुलमा पुगेपछि उनीहरुले खोलामा नुहाए र मन्दिरमा पुजा गरे ।

करिब २० मिनेट उनीहरुले त्यहाँ विताए । उनी हामी त्यहाँबाट उकालो लाग्यौं ।

“म कार चलाइरहेको थिए” लोकेन्द्रले भने– बुडितोलाको जङ्गल आएपछि मैले ११ः२७ बजेतिर मेरो अफिसको एक जना सरसंग फोनमा कुरा गरे । त्यहा पुगेपछि तीनै जना भारतीयहरुले फोटो र भिडियो खिचौं, राम्रो ठाउ रहेछ, साथीहरुलाई देखाउनु पर्छ भनेर आग्रह गरे । मैले तपाईंहरु खिच्नुसु भने, तर उनीहरुले मलाई फोटो खिचिदिन आग्रह गरे ।

मलाई सडकबाट केही तल जङ्गलमा लगेर फोटो खिच्न भने । म उनीहरुको फोटो खिचिरहेको थिए, त्यत्तिकैमा एक जनाले पछाडिबाट ममाथि चक्कुले प्रहार गर्यो । मेरो औलामा चक्कु लाग्यो । मैले प्रतिकार गर्न खोजे । तीनै जनाले ममाथि ढुङ्गाले आक्रमण गरे । करिब दुई मिनेट मैले प्रतिकार गरे, तर उनीहरुले मलाई घाइते बनाएर मेरो घाटी, हातखुट्टा र मुख बाधे र जङ्गल मै छोडे ।

लोकेन्द्रका अनुसार उनलाई घाइते बनाएर बाँधेपछि उनीहरुले उनीसंग भएको पाँच हजार रुपैयाँसहित पर्स र मोबाइल लुटे । अनि कार लिएर फरार भए । लोकेन्द्रले भने– मलाई केही बेर होस नै भएन । बल्लतल्ल घिस्रिएर सडकमा आए । बाटोमा आइरहेका गाडी र मोटरसाइकल चालकहरुलाई गुहारे । शुरुमा केही जना उल्टै डराएर गए । पछि केही बस र मोटरसाइकल चालकहरुले सहयोग गरे र प्रहरीलाई खबर गरे ।

घटनास्थलको केही किलोमिटर टाढा खानीडाँडामा एक कार्यक्रममा सहभागी रहेका कैलालीका सञ्चारकर्मीहरुले फर्किने क्रममा घटनाबारे जानकारी पाएका थिए । घटनास्थलमा प्रहरीको टोली अनुसन्धानमा रहकेो थियो । जङ्गलमा खनियो टिप्न आएका खानीडाँडाका नन्दराम देवकोटाका अनुसार सडकको किनारामा घाइते तथा खातखुट्टा, मुख बाधिएको अवस्थामा रहेका लोकन्द्रका शरीरबाट रगत बगिरहेको थियो । उनी राम्ररी कुरा गर्न नसक्ने अवस्थामा थिए ।

घटनाको लगत्तै अनुसन्धान थालेको मालाखेती प्रहरी इलाका प्रहरी कार्यालयका प्रमुख (प्रहरी नायव उपरीक्षक) रविन्द्रराज पाण्डेले विभिन्न स्थानमा रहेका सिसिटीभी फुटेजको अध्ययन गर्ने कार्यसहित अनुसन्धान अघि बढाएको बताएका थिए । उनले कारको विवरण र अभियुक्तहरुको हुलियासहित कैलाली र कञ्चनपुरका सबै प्रहरी इकाईहरुलाई सूचना गरिएको बताएका थिए ।

जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रवक्ता (डिएसपी) वेद प्रकाश जोशीले भने– घटनापछि अनुसन्धान तीब्र बनाउदै जाने क्रममा गाडी भेटियो । हामीलाई स्थानीयले पनि निकै सहयोग गरे । र, त्यसको केही बेरपछि अभियुक्तहरु पनि पक्राउ परे ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार