८ बैशाख २०८१, शनिबार

हिन्दु राष्ट्रका लागि राजसंस्था छोड्यौ : अध्यक्ष थापा




धनगढी / राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले हिन्दु राष्ट्रलाई संस्थागत गराउन राजसंस्थाको मुद्दालाई छोडेको बताएका छन ।

धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै अध्यक्ष थापाले राजसंस्थालाई संस्थागत गराउन पार्टी स्थापना भएपनि अहिले सो मुद्दाले हिन्दु राष्ट्रको नारा ओझेलमा पर्न लागेको बताएका हुन । उनले विचार समयकाल र परिस्थिति अनुसार परिमार्जन गर्दै अघि बढ्नुपर्ने बताए ।

‘देश र जनताको भावनाको सम्मान गर्दै राजसंस्थाको एजेण्डा छोड्ने निर्णय गरेका हौं’ उनले भने –‘राजसंस्थाको एजेण्डा बोकी रहदा हिन्दु राष्ट्र कहिले पुर्नस्थापना नहुने, पार्टी देशको अग्रणी स्थानमा नहुने, मुलुकको आर्थिक सामाजिक विकासको एजेण्डा पनि पुरा गर्न नसकिने भएकाले हामीले एजेण्डा छोडेका हौं ।

’ उनले देशका ठुला दलहरुले पनि राजसंस्थाहरुसंग सहकार्य गरेर अघि बढेका इतिहास रहेको बताउँदै –‘२०६२/६३ सालको राजनीतिक परिवर्तन पछि नेपाली काँग्रेस, नेकपा एमाले लगायतका पार्टीहरुले पनि राजसंस्थाको एजेण्डा छोडेका थिए ।’ उनले असम्भव एजेण्डा बोकेर जनतालाई धोका दिने, स्वयम राजालाई पनि धोका दिने र आफना कार्यकर्तालाई धोका दिने काम पार्टीले नगर्ने बताए ।

उनले राजसंस्थाको एजेण्डा छोडेता पनि हाम्रा मुलभुत एजेण्डाहरु यथावत रहेको बताए । ‘हामीले हिन्दु राष्ट्र स्थापना गराउन सकेनौं । तर, धर्मनिरपक्षेता, गणतन्त्र र संघियता अपरिवर्तनिय होइन । जनताको अभिमतबाट परिवर्तन गराउन सकिन्छ भन्ने अधिकार हामीले स्थापित गरे’ उनले भने –‘त्यही अधिकारका कारणले गर्दा आज राजसंस्थाको पक्षमा, हिन्दु राष्ट्रको पक्षमा र संघियताको विरुद्धमा आवाज उठाउन पाउने अधिकार हामीले प्राप्त गरेका छौं ।’

थापाले संघियतालाई संस्थागत गर्न संघिय प्रणालीमा सुधार गरेर अघि बढ्नुपर्ने सुझाव दिए । ‘अहिले संघिय स्वरुपलाई सुधार गरेर अघि बढ्न आवश्यक रहेको छ’ उनले भने ‘संघिय सरकारलाई बलियो बनाउँदै स्थानीय तहलाई बढीभन्दा बढी अधिकार दिएर दुई तहको सरकार बनेमा संघियतालाई थप संस्थागत हुन्छ ।’ उनले प्रदेश सरकारको आवश्यकता नरहेको स्पष्ट धारणा व्यक्त गरे ।
उनले बहुदलिय प्रजातन्त्रमा दलको विकल्पमा व्यक्ति हुन नसक्ने बताए । ‘एउटा दल असफल भए भोली जनताले अर्को दललाई रोज्छन । प्रजातन्त्रमा स्वतन्त्र रुपमा पनि विचार लिएर जान सकिन्छ ।

यसलाई हामीले अन्यथा लग्नु हुँदैन’ उनले भने –‘स्थानिय तहमा निर्दलिय आधारमै निर्वाचन गरेपनि हुन्छ । कतिपय मुलुकमा स्थानिय तह निर्दलिय आधारमा भएका छन । तर, संसदमा त स्वतन्त्र एक जना गएर के परिवर्तन हुन्छ ?’ उनले दलहरु असफल भएको, नेताहरुप्रति जनतामा वितृष्णा रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार