६ जेष्ठ २०८१, आईतवार

सङ्घीयतापछि धेरै विकास भएको छ : सभामुख थापा




धनगढी / सुदूरपश्चिम प्रदेश सभाका सभामुख अर्जुनबहादुर थापाले सङ्घीयताको विरोध नबुझेकाहरुले गरिरहेको बताएका छन् ।

गण्डकी प्रदेशबाट आएका संसदीय समाचार संकलन गर्ने पत्रकारहरुसंगको भेटघाटका क्रममा शनिबार बोल्दै उनले सङ्घीयता आएपछि विगतमा नभएका काम भएको चर्चा पनि गरे ।

“हिजोका अस्पतालमा डाक्टर थिएनन् आज सुदूरपश्चिमका सबै अस्पतालमा डाक्टर छन् ,कोरोनाकालमा प्रदेश सरकारहरुले नागरिकको उपचारमा राम्रो काम गरे र बाढी पीडितहरुलाई प्रदेश सरकारहरुले नै तत्काल राहत दिन्छन् ” सभामुख थापाले उदाहरण दिदै भने ।

प्रदेश सरकारहरुले प्राथकिमता दिएर काम गर्नुपर्छ सभामुख थापाले भने । उनले विगतका तुलनामा राम्रो बजेट पनि प्रदेशकै कारण गाउँगाउँमा पुगेको बताए । उनले भने,पहिले काठमाडौ, झापा र मोरंगमा मात्र धेरै बजेट जान्थ्यो अहिले गाउँगाउँ गएको छ ।

उनले बजेटका सन्र्दभमा भने सरकारले ल्याइसकेपछि संशोधन हुन्न भन्नु हिजोको राणा र राजाको शासनको शैली भयो यो परम्परा केन्द्रदेखि प्रदेश र स्थानीय तहसम्म सुधारेर जानुपर्ने आवश्यक्ता छ । गल्ती, कमजोरी हुन्छन् ती सच्चाएर जानुपर्छ उनले जोड दिदै भने ।

सभामुखले प्रदेश सभाले पारित गरेका विद्येयक र विद्येयक पारित गर्ने प्रक्रियाबारे पनि पत्रकारहरुलाई जानकारी दिएका थिए ।

सो अवसरमा नेपाल पत्रकार महासंघका सुदूरपश्चिम प्रदेश अध्यक्ष योगेश रावल, गण्डकीको संसदीय पत्रकार मञ्चका कार्यवहाकअध्यक्ष अमृत सुवेदी, संसदीय मामिला पत्रकार समाजका सुदूरपश्चिम अध्यक्ष प्रकाशविक्रम शाह लगायतको सहभागिता थियो । कार्यक्रमको सञ्चालन संसदीय मामिला पत्रकार समाजका सुदूरपश्चिमका सचिव भीम चौधरीले गरेका थिए ।

गण्डकी प्रदेशका १६ जना संसदीय पत्रकारहरु क्षमता अभिवृद्धिका लागि अध्ययन, अवलोकन र अनुभव आदान‐ प्रदान सहितको तालिमका क्रममा धनगढी पुगेका हुन । सो टोली यसअघि लुम्विनी र कर्णाली प्रदेश पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार