६ जेष्ठ २०८१, आईतवार

यस वर्ष सुदूरपश्चिममा बाढीपहिरोको उच्च जोखिम हुने अनुमान




धनगढी / सुदूरपश्चिम प्रदेशमा यस वर्ष दुई लाख बढी जनसंख्या मनसुनकालमा हुने विपदका घटनाबाट प्रभावित हुने अनुमान गरिएको छ ।

मनसुन सक्रिय भएसंगै बाढी, पहिरो, चट्याङ, डुवान लगायतका विपदका घटनाबाट प्रदेशमा यस वर्ष दुई लाख ६३ हजार तीन सय १५ जना प्रभावित हुने अनुमान गरिएको हो ।

प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको अध्यक्षतामा रहेको विपद व्यवस्थापन परिषदले पारित गरेको मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना २०७९ अनुसार यस वर्ष कैलाली र कंचनपुर जिल्लामा वाढीका कारण कुल दुई लाख तीन हजार ६९५ जनसंख्या तथा अन्य सात जिल्लाहरूमा पहिरोका कारण ५९ हजार ७२० जना प्रभावित हुनसक्न अनुमान गरिएको छ ।

बाढीका कारण सबैभन्दा बढी कञ्चनपुरमा प्रभावित हुने अनुमान गरिएको छ । सो कार्ययोजना अनुसार कञ्चनपुरमा एक लाख नौ हजार आठ सय १८ जना प्रभावित हुने अनुमान गरिएको छ । बाढी र पहिरोको उच्च जोखिममा रहेको कैलालीमा ९३ हजार आठ सय ७७ जना प्रभावित हुने अनुमान गरिएको छ ।

प्रदेशका सात पहाडी जिल्लामा पहिरो र बाढीबाट प्रभावित हुने अनुमान गरिएको छ । सो कार्ययोजना अनुसार डोटीमा १४ हजार ४६१, बाजुरामा ११ हजार २८४, बैतडीमा १० हजार ८५, डडेल्धुरामा नौ हजार ३२५, बझाङमा पाँच हजार दुई सय ७१, अछाम चार हजार ८०१ र दार्चुलामा चार हजार ३९३ जना प्रभावित हुने अनुमान गरिएको छ ।

नेपाल मनसुन फोरमले, यस वर्ष कैलाली, कञ्चनपुरको दक्षिणी क्षेत्र तथा बझाङ, बाजुरा र दार्चुला जिल्लाको उत्तरी भगमा सरदरभन्दा वढी वर्षा हुने सम्भावना ५५ देखी ६५ प्रतिशत रहेको छ भने अन्य स्थानहरूमा ३५ देखि ५५ प्रतिशत सम्भावना रहेको पाइन्छ’ सो कार्ययोजनामा भनिएको छ– यस विश्लेषणका आधारमा यस वर्षको मनसुनमा विपद्का घटनाहरूमा उल्लेख्य वृद्धि हुने आंकलन गर्न सकिन्छ ।

विगत ११ वर्षको तथ्यांक अनुसार सुदूरपश्चिम प्रदेशमा कुल एक सय ६९ वटा बाढीका घटनाहरू भएका थिए । जसमा ७१ जना मानिसको मृत्यु भएको थियो भने २२ जना घाइते र ५३ जना वेपत्ता भएका थिए ।

कैलाली, कंचनपुर जिल्लामा बाढी तथा डुवानका घटनाहरू अत्याधिक रहेको तथा बझाङ, डोटी, बाजुरा जिल्लामा पनि बाढीका घटना घटेको सो कार्ययोजनामा उल्लेख छ ।

२०६८ देखि २०७८ सम्मको अबधिमा प्रदेशभरी दुई सय २६ वटा पहिरोका घटना घटेका कारण एक सय ३२ जना मानिसको मृत्यु भएको, ९९ जना घाईते तथा २६ जना बेपत्ता भएका थिए ।

‘डरहम विश्वविद्यालयको वैज्ञानिक विश्लेषणका आधारमा यस प्रदेशको बाजुरा, बझाङ, अछाम जिल्लाका भू–भागहरू पहिरोको उच्च जोखिमपूर्ण क्षेत्र भनी पहिचान गरिएको छ’ सो कार्ययोजनामा भनिएको छ ।

मनसुन अवधिमा पानी र जीवाणुबाट संक्रमण हुने रोगहरू झाडापखाला, कालाजार, हैजा, प्लेग, डेंगु, इन्फुलुएञ्जा, फ्लु लगायत प्रमुख महामारीका रुपमा रहेता पनि हालका वर्षहरूमा सरसफाईमा आएको सुधार तथा स्वास्थ्य सुबिधाका कारण पानीजन्य केही रोगहरू नियन्त्रणमा रहेको पाइन्छ कार्ययोजनामा भनिएको छ– तथापी प्रकोप पश्चात हुने दुषित पानीको प्रयोग, जिवाणुहरूको संक्रमण, खाद्य असुरक्षा, सचेतनाको कमि, लापरवाही लगायतका कारण महामारीका घटनाहरू दोहोरिरहेका छन् ।

प्रदेशमा मनसुन अवधिमा तराइ क्षेत्रमा जोखिम उच्च हुन सक्ने रोगहरू तथा समस्याहरूमा मलेरिया, स्क्रब टाइफस, डेगु, कालाजार र सर्पदंशको समस्या बढी हुने गरेको कार्ययोजनामा उल्लेख छ । प्रदेशका पहाडका जिल्लाहरूमा स्क्रब टाइफस, रिस्पाइरेटरी इन्फेक्सन, कालाजार तथा केही स्थानमा सर्पको समस्या र डेंगु जस्ता रोगहरूको समस्या रहेको पाइएको जनाइएको छ ।

प्रदेश सरकारले प्रदेशमा पाँच कलष्टर बनाई विपदको जोखिम न्यूनिकरण गर्ने गरि कार्ययोजना बनाएको छ । प्रदेशको सबै विषयगत क्षेत्रहरूको अगुवाई तथा सहयोगमा विशेष भूमिका मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयको जिम्मेवारी रहने उल्लेख छ ।

प्रदेशमा खोज तथा उद्दार, आपतकालिन संचार, बन्दोवस्ती र विषयगत क्षेत्र समन्वयको जिम्मेवारी आन्तरिक मामिला तथा कानुन मन्त्रालय, शिक्षा, स्वास्थ्य तथा पोषण, संरक्षण तथा सामाजिक सुरक्षाको जिम्मेवारी सामाजिक विकास मन्त्रालय, खानेपानी सरसफाई, शिविर समन्वय तथा शिविर व्यवस्थापन, आपत्तकालिन आश्रय स्थलको जिम्मेवारी भौतिक पूर्वाधार मन्त्रालय, खाद्य सुरक्षाको जिम्मेवारी भूमी, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको रहने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार