१६ चैत्र २०८०, शुक्रबार

प्रदेश सभा सदस्यहरूको चेतावनी–रातो किताब नसच्याए छलफल हुँदैन



धनगढी / सुदूरपश्चिम प्रदेश सभा सदस्यहरूले प्रदेश सरकारले ल्याएको वार्षिक विकास कार्यक्रम पुस्तिका रातो किताब नसच्याएसम्म बजेटमाथिको छलफल अघि बढ्न नदिने चेतावनी दिएका छन ।

प्रतिपक्ष तथा सत्तापक्षीय प्रदेश सांसदहरूले रातो किताबमा थुप्रै त्रुटी रहेको र आर्थिक सुशासन विपरित ल्याएको आरोप लगाइरहेका छन ।

प्रदेश सभा सदस्यहरूले सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०७९÷०८० को वार्षिक बजेट वितरणमुखी र विगतका कार्यक्रमहरूको निरन्तरता भएको टिप्पणी गर्दै आएका छन् । प्रदेश सभा सदस्यहरूले सरकारले ल्याएको वार्षिक विकास कार्यक्रम पुस्तिका सच्याएर ल्याउन सरकारको ध्यानाकर्षण गरेका छन ।

सुदूरपश्चिम प्रदेश सरकारले गत १ गते प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमाथि बुधबारदेखि छलफल गर्ने तयारीमा रहेको थियो । मंगलबारमात्र वार्षिक विकास पुस्तिका प्राप्त गरेका प्रदेश सभा सदस्यहरूले पुस्तिकामा त्रुटीहरू रहेको, न्यायोचित नभएको, झ्यालबाट छिराएका योजनाहरू समेटिएको, प्रदेश सभा सदस्यहरूले माग गरेका योजनालाई लत्याइएको भन्दै त्रुटीहरू सच्याएर नल्याएसम्म बैठक अघि बढ्न नदिने बताएका छन ।

नेपाली कांग्रेसका प्रदेश सभा सदस्य भरतबहादुर खड्काले अनुमोदन दैनिकसंगको टेलिफोन वार्तामा भने– रातो किताबलाई सरसर्ती हेर्दा वित्तीय अनुशासन कायम भएको पाइएन । यो सन्तुलित पनि छैन । विषयगत कारणबाट आएका योजनाहरूको प्रकृति हेरेर यथोचित सम्बोधन गरिएको छैन । प्रदेश सभा सदस्यहरूले पठाएका योजनाहरू अधिकांस लत्याइएको छ ।

प्रदेश सभा सदस्य खड्काले छिद्रबाट आएका अथवा झ्यालबाट आएका योजनाहरूमा ५० देखि एक करोड रुपैयाँसम्म बजेट छुट्याइएको” दाबी गरे । उनले भने– योजना सम्पन्न भइसकेका योजनामा पनि पुनः बजेट विनियोजन गरेको देखियो । अराजक तरिकाको बजेट भएकाले यथास्थितिमा बजेटमाथिको छलफल अघि बढ्दैन ।

उनले बजेटलाई सन्तुलित, वित्तीय अनुशासित र थप परिस्कृत गरेर नल्याएसम्म सत्तापक्ष र प्रतिपक्षी नभनेर विरोध गरिने बताए ।
उनले सरकारले दुई तीन दिनभित्र बजेटलाई परिस्कृत गर्ने आश्वासन दिएको बताउदै बजेट सच्चिएर नआएमा यसमाथिको छलफल अघि बढ्ने अवस्था नरहेको बताए । उनले अराजक बजेटमा सुधार नभएमा सत्तापक्षका प्रदेश सभा सदस्यहरू समेत छलफलमा सहभागि नहुने बताए ।

प्रदेश सांसद खड्काले प्रदेश सरकारले विषयगत मन्त्रालयभन्दा बाहिरका मन्त्रालयमा योजना राखेको दाबी गरे । मन्दिरका योजना सामाजिक विकास मन्त्रालयमा राखिएका छन् । यस्ता धेरै त्रुटीहरू पुस्तिकामा रहेका छन् उनले भने– बजेट कार्यक्रम पुस्तक बनाउदा मुख्यमन्त्री, केही मन्त्री र सचिवहरू बसेर बनाइएको भन्ने कुरा आएको छ । मन्त्रालयले प्रक्रिया पुरा गरेर पठाएका योजनाहरू पनि यसमा समेटिएका छैनन् । केही मन्त्री, मन्त्रालय र कर्मचारीलाई पनि जानकारी नगराई वार्षिक पुस्तिका तयार भएको छ ।

उनले बजेटको रातो किताब आफूहरुले पारित गराउनमा सहभागि भएमा प्रदेशबासीमाथि अन्याय गर्नमा सहमति भएको अर्थ लाग्ने बताए ।

सरकारले भने प्रदेश सभा सदस्यहरूको हातमा ढिला गरि वार्षिक पुस्तिका पुगेकाले बुधबारको बैठक स्थगित गराउनु परेको दाबी गरेको छ । प्रदेश सभा सचिवालयका देवबहादुर बोगटीले अनुमोदनसंगको टेलिफोन कुराकानीमा कार्य परामर्श समितिको बैठकमा बजेट पुस्तिका अध्ययन गर्न माग भएपछि १२ गतेसम्मका लागि बैठक स्थगित गर्नुपरेको बताए ।

‘मंगलबारमात्र प्रदेश सभा सदस्यहरूले वार्षिक विकास कार्यक्रम पुस्तिका (रातो किताब) प्राप्त गरेका हुन उनले भने– पुस्तिका अध्ययन नगरि के बोल्ने ? भन्दै उहाँहरूले नै बैठक स्थगित गर्न माग गरेपछि बैठक सारिएको हो ।

जनता समाजवादी पार्टीकी प्रदेश सभा सदस्य मालामति रानाले रातो किताबलाई ब्लु किताब को संज्ञा दिईन । उनले विगतमा रातो देखिने गरि किताब ल्याईने गरेकोमा अहिले नीलो बनाएर ल्याइएकोले सो पुस्तकलाई ब्लु बुकको संज्ञा दिएकी हुन ।

रेड बुक त नभनौं । ब्लु बुकभित्र थुप्रै त्रुटी छन् । सत्तापक्ष र प्रतिपक्षी कसैको पनि यसमा चित्त बुझेको छैन उनले भनिन– यो त्रुटीपुर्ण छ । अन्यायपूर्ण छ । विभेदकारी छ । उनले पनि प्रदेश सभा सदस्यहरूबाट सरकारले योजना माग गरे पनि पुस्तकमा नसमेटिएको बताइन ।

उनले आर्थिक मामिला मन्त्री प्रकाश रावलले कञ्चनपुर जिल्लाका ४० वटा मन्दिरमा बजेट राखेको बताउदै ‘ती योजना पनि सामाजिक विकास मन्त्रालयमार्फत राखिएको बताइन् । उनले प्रदेश सभा सदस्यहरूका योजनाभन्दा पनि झ्यालबाट आएका योजनाहरू समेटिएको बताइन । उनले सत्तापक्षका प्रदेश सभा सदस्यहरूलाई सरकारले योजना दिने आश्वासन दिदै मनाउन खोजिरहेको बताइन ।

एकीकृत समाजवादी पार्टीका प्रदेश सभा सदस्य बलबहादुर सोडारीले रातो किताब अहिले अध्ययन गर्ने क्रममै रहेकाले सहमति या असहमतिबारे पछि प्रतिक्रिया दिने बताए । मंगलबार मात्र पुस्तिका फेला पारेका छौ । राम्रोसंग अध्ययन गर्न पाएको छैन । सबै हेरेपछिमात्र यसबारे प्रतिक्रिया दिनेछु उनले भने ।

प्रदेशका आर्थिक मामिला मन्त्री प्रकाश रावलले रातो किताबमा खास परिवर्तन नहुने बताए । उनले प्रदेश सभा सदस्यहरूको गुनासोको आधारमा आएका सुझावलाई ग्रहण गरिने बताए ।

प्रदेश सभा बैठक १२ गतेसम्मलाई स्थगित
सुदूरपश्चिम प्रदेशको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफल बुधबार स्थगित गरिएको छ ।

प्रदेश सभा सचिवालयले सूचना टाँस गर्दै बुधबारको बैठक स्थगित भएको जानकारी दिएको हो ।

बुधबार दिउँसो ३ बजे बस्ने गरि आह्वान गरिएको बैठक विशेष कारणबस १२ गते दिनको ३ बजेसम्मका लागि स्थगित भएको सो सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार