२३ बैशाख २०८१, आईतवार

एमाले कैलालीका अध्यक्ष थापालाई स्पष्टीकरण सोधियो, थापा रेशम वा माधव नेपालको पार्टीमा जाने अनुमान



धनगढी / एमालेका जिल्ला इन्चार्ज नारदमुनी रानाले सो पार्टीका कैलाली अध्यक्ष रतन थापालाई पार्टीका उम्मेदवार हराउन भूमिका खेलेको आरोप लगाउँदै स्पष्टीकरण सोधेको पाइएको छ । इन्चार्ज रानाले असार ५ गते आइतबार स्पष्टीकरण सोधेको भेटिएको हो ।

थापालाई सोधिएको स्पष्टीकरणमा पार्टी केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीलाई अपुतो भनिएको, शंकर पोख्रेल, लेखराज भट्ट, कर्ण थापा, नारदमुनि राना, गौरीशङ्कर चौधरी, कमला ओली , सन्तोष शर्मालाई राजीनामा दिन लगाउने धम्की दिएको,एमालेले एक सिट पनि जित्दैन भन्दै प्रचार गरेको , पार्टीका उम्मेदवार महादेव बजगाईँ, जुना चौधरी र ममता प्रसाद चौधरीलाई जसरी पनि हराउँछु भन्दै सार्वजनिक रूपमा बोलेको र उनीहरूलाई हराउने कार्यमा किन लागेको भन्दै स्पष्टीकरण सोधिएको छ ।

तीन दिन भित्र स्पष्टीकरण दिन भन्दै थापालाई पार्टी विधान बमोजिम प्रक्रिया अगाडि बढाइने बताएको छ ।

कैलाली क्षेत्र नम्बर २ का प्रदेश सभामा रहेका थापा र एमालेबाट लम्की चुहाका मेयरका उम्मेदवार बनेका महादेव बजगाई एउटै क्षेत्रका हुन् ।

अघिल्लो स्थानीय तहमा पनि लम्की चुहाको मेयर बजगाई निर्वाचित हुँदा उपप्रमुखमा अध्यक्ष थापा कि कान्छी श्रीमती टीकादेवी थापा निर्वाचित भएकी थिइन् । थापाले उपमेयर श्रीमती नामबाट नाजायज सेवा सुविधा लिन खोजेपछि थापा र बजगाईको सम्वन्ध विग्रेको थियो ।

यसैबिच जिल्ला अध्यक्ष हुँदा बजगाईलाई टिकट दिन हुँदैन भन्दै लागेका थापा बजगाईले टिकट पाएपछि निष्क्रिय भएको आरोप लागेको थियो । मेयरमा बजगाई पराजित भए पनि उपप्रमुखमा जुना चौधरी निर्वाचित भइन ।

घोडाघोडी नगरपालिकामा फेरि मेयरका उम्मेदवार बनेका ममताप्रसाद चौधरी पनि पारजीत भए । उनले अघिल्लो पटक मेयरमा जितेका थिए । उनी रतन थापा अध्यक्षमा निर्वाचित हुँदा अर्को प्यानलबाट उप सचिवमा निर्वाचित भएका थिए ।

एमाले स्रोतका अनुसार थापालाई फेसबूक च्याटबाट स्पष्टीकारण पत्र पठाइएको छ । भने जरुरी पत्र भएकोले कार्यालयका कर्मचारीहरुले कार्यालयमा आएर जरुरी पत्र बुझ्नका लागि पनि आग्रह गरिएको छ ।

अध्यक्ष थापा स्पष्टीकरण नदिएर प्रदेश सभा सदस्य सकिएपछि रेशम चौधरीको नागरिक उन्मुक्ती पार्टीमा प्रवेश गर्ने दावी पनि एमाले स्रोतको छ । केहीले भने उनी माधव नेपाल पार्टी नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गर्ने पनि बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार