७ बैशाख २०८१, शुक्रबार

निवर्तमान मेयरलाई बोलाएको भन्दै झुट बोल्यो धनगढी उपमहानगरपालिकाले



उपमहानगरपालिकाले पत्र थमाएका भनिएका वडका छोरा ९ वर्षीय बालक भएको खुलेको छ । स्रोतका अनुसार उपमहानगरपालिकाको दर्ता चलानीमा समेत पूर्व मेयर वडलाई पत्र पठाएको देखिएको छैन् ।



धनगढी / धनगढीका निवर्तमान नगर प्रमुख नृपबहादुर वडलाई नवनिर्मित भवन उदघाटन कार्यक्रममा नबोलाएको भन्दै आलोचना भएपछि उपमहानगरपालिकाले आफ्नो बचाउ गरेको छ ।

शनिबार प्रधानमन्त्री शेरबहादुर देउवाले विधिवत रूपमा भवनको उदघाटन गरेको कार्यक्रममा पूर्वाग्रही भएर निवर्तमान नगर प्रमुख नृपबहादुर वडलाई निमन्त्रणा नगरेको भन्दै आलोचना भएपछि उपमहानगरपालिकाले विज्ञप्ति जारी गरेर कार्यालय सहयोगी मार्फत निमन्त्रणा पत्र पठाइएको दाबी गरेको छ ।

‘भवन समुद्घाटन हुने समारोहको निमन्त्रणा निवर्तमान नगर प्रमुख नृपबहादुर वडलाई दिएन भनेर सामाजिक सञ्जालमा आइरहेको देखिएको हुँदा उपमहानगरपालिकाका कार्यालय सहयोगी मार्फत निमन्त्रणा पठाइ नगर प्रमुखको छोराका हातमा दिइएको व्यहोरा जानकारीका लागि अनुरोध गरिन्छ । प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

वडकी धर्मपत्नी लक्ष्मी वडले भने निमन्त्रणा पत्र प्राप्त नभएको बताइन् । उपमहानगरपालिकाले पत्र थमाएका भनिएका वडका छोरा ९ वर्षीय बालक भएको खुलेको छ । स्रोतका अनुसार उपमहानगरपालिकाको दर्ता चलानीमा समेत पूर्व मेयर वडलाई पत्र पठाएको देखिएको छैन् ।

वडकै कार्यकालमा निर्माण भएको प्रशासकीय भवन निर्माण भएको थियो । भवन उदघाटन कार्यक्रममा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट, आन्तरिक मामिला तथा कानुनमन्त्री रणबहादुर रावल, सामाजिक विकासमन्त्री गोविन्दबहादुर बोहरा, निर्वतमान उपप्रमुख सुशीला मिश्र भट्ट लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार