२३ बैशाख २०८१, आईतवार

सुप विश्वविद्यालयले चिकित्साशास्त्रको शुरुवात गर्नुपर्छ : प्रधानमन्त्री देउवा





महेन्द्रनगर / प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिम विश्वविद्यालयले चिकित्साशास्त्रको पठनपाठन पनि शुरुवात गर्नुपर्ने बताएका छन् ।

शुक्रबार कञ्चनपुरको महेन्द्रनगरस्थित विश्वविद्यालयको दोस्रो दिक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन । उनले सुदूरपश्चिम विश्वविद्यालयको प्रशंसा गर्दे यो विश्वविद्यालयले देशको शैक्षिक क्षेत्रमा अतुलनिय योगदान पुर्याएको बताए ।

प्रधानमन्त्री देउवाले भने, ‘सुदूरपश्चिम विश्वविद्यालयले मुलुकमा आवश्यक दक्ष जनशक्ति उत्पादन गरेर जनशक्तिको खाँचो पूरा गरेको छ, यसले दुर दराजका, दुर्गम क्षेत्रका विद्यार्थीहरुलाई योग्य बनाउन सहयोग गरेको छ ।’

उनले भने ‘अब विश्वविद्यालयले चिकित्सा क्षेत्रमा पढाईको शुरुवात गर्नुपर्छ, यसमा सरकारको पूर्ण सहयोग रहनेछ, डडेल्धुरामा खोलिने भनिएको मेडिकल कलेज सुप विश्वविद्यालय अन्तर्गत चलाइने छ । त्यसका लागि सरकारले काम शुरु गरिसकेको छ ।’

सो विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री देउवाले दिक्षित हुने सम्पूर्ण विद्यार्थीको उज्वल भविश्यको कामना गर्दै देशका लागि योगदान पु¥याउनेमा आफू ढुक्क रहेको बताए ।

सुदुरपश्चिम विश्वविद्यालयका सहकुलपति तथा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सुप विश्वविद्यालय उच्च शिक्षाको थलोको रुपमा रहेको र यसले देशको आर्थिक र सामाजिक रुपान्तरणमा खेल्ने भूमिकालाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।

समारोहमा कुमाउँ विश्वविद्यालयका कुलपति प्राध्यापक नरेन्द्रकुमार जोशीले विद्यार्थीहरुले एउटा लक्ष्य राखेर मात्र नहुने बताउँदै लक्ष्य अनुसार कामलाई पनि अघि बढाउनुपर्ने बताए । उनले भने, ‘हामी लक्ष्य त राख्छौ, तर कार्यान्वयनमा जाँदैनौ ।’
‘सुप विश्वविद्यालयले सबल र सक्षम जनशक्ति उत्पादन गरिरहेको छ, यसलाई निरन्तरता दिइयोस, अझै सुधार होस् एक दिन विश्वको राम्रो विश्वविद्यालयको सूचीमा यो विश्वविद्यालय हुनेछ ।’ जोशीले भने ।

उनले आफ्नो विश्वविद्यालयले सुदूरपश्चिम विश्वविद्यालयसंग जुनसुकै सहयोग तथा सहकार्य गर्न तयार रहेको पनि बताए ।

समारोहमा बोल्दै उपकुलपति प्रा.डा. अम्मरराज जोशीले सुदूरपश्चिम विश्वविद्यालय क्रमिकरुपमा अगाडि बढिरहेको बताए ।
उनले भने, ‘हामी क्रमिकरुपमा अगाडि बढेका छौ, यस क्षेत्र वा बाहिरका विद्यार्थीका लागि अब सूचना प्रविधि, विज्ञान, कृषि, ईन्जिनियरिङ् एवं चिकित्सा शिक्षा जस्ता प्राविधिक विषयकोलागि पहिलो गन्तव्य हुनेछ ।’

कार्यक्रममा प्रत्यक्ष रुपमा ३१८ जनालाई दिक्षित गरिएको छ दिक्षित हुन योग्य एक हजार ५५८ जना रहे पनि आवेदन ३१८ को मात्र आएको उपकुलपति जोशीले बताए ।

सुप विश्वविद्यालयमा हाल १६ वटा आँगिक क्याम्पस रहेका छन् । समारोहमा तीन जना विद्यार्थीलाई चान्सलर पदक, चार जनालाई भाईसचान्सलर पदक र २९ जना विद्यार्थीलाई स्वर्ण पदकद्धारा सम्मानित गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार