५ जेष्ठ २०८१, शनिबार

कैलालीमा काँग्रेस भएर जिसस सदस्य बने एकीकृत समाजवादीका बुढा




धनगढी / सोमबार भएको कैलाली जिल्ला समन्वय समितिको सदस्यमा काँग्रेसको उम्मेदवारको रुपमा ३८ वर्षीय बृखबहादुर बुढा निर्वाचित भए । काँग्रेसबाट निर्वाचित भए पनि उनी नेकपा (एकीकृत समाजवादी) का जिल्ला कमिटी सदस्य हुन ।

सोमबारको मतदान अघि र पछि पनि उनी समाजवादीकै नेता, कार्यकर्तासँग हिडिरहेका थिए । प्राय जित्ने उम्मेदवारले १३ मत पाए पनि उनी र समाजवादीकै्र जानकी चौधरीले अरु भन्दा बढी मत पाएका थिए । बुढाले १४ र चौधरीले १५ मत पाएका थिए ।

समाजावदीले जिससको भागवन्डामा बुढालाई समेत आफ्नै भागमा पारेर तीन सदस्य लिएको थियो । बुढा र चौधरीसँगै समाजवादीकै लोकन्द्रबहादुर ताडी पनि १४ मत पाएर विजयी भएका छन् ।

समाजवादीका तीनै उम्मेदवारले अरु उम्मेदवार भन्दा बढी मत पाएपछि धेरैले कसरी बढी मत पाए भन्ने प्रश्न पनि गरेका छन् । जवकी सत्तारुढ गठवन्धनका घटक काँग्रेस, माओवादी, समाजवादी र स्वतन्त्र गोपाल हमाल गरेर १३ मत मात्र थियो ।

हामीलाई थप मत दिनेलाई हामी चिन्छौ तर नाम भन्न मिल्दैन एकीकृत समाजवादीका जिल्ला उपसचिव दीर्घ जोशीले बताए ।

जिसस सदस्य बुढा समाजवादी हुन भन्ने पनि धेरैले थाहै पाएनन् । प्राय : सबै सञ्चार माध्यमले उनलाई काँग्रेसकै उम्मेदवार जितेको बताएका छन् ।

तर बुढा भने घोडाघोडी वडानम्बर ९ को वडा सदस्य पनि काँग्रेसको रुखबाटै निर्वाचित भएका हुन । उनले आफ्नो जीतको कथा सुनाउदै भने हाम्रो चिन्ह प्रचारमा थिएन त्यसैले कलमबाट लड्दा हारिन्छ कि भनेर वडामा पनि रुखबाटै चुनाव उठे र जिते ।

उनले वडामा दुई रुखबाट लडेर सबैभन्दा बढी १०३४ मत पाएका थिए । अर्को रुख चिन्हका गजेन्द्रबहादुर रावलले ९४३ मत पाएका थिए ।

घोडाघोडीको मेयरमा पनि गठवन्धनका तर्फबाट एकीकृत समाजवादीकै खडक रावत विजयी भएका छन् । उनी भने सो पार्टीकै कलम चिन्हबाट उम्मेदवार भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार