जिसस चुनाव : मोहन्यालका अध्यक्षले मतदान गर्न नउपाउने

धनगढी / सोमबार हुने कैलाली जिल्ला समन्वय समितिको निर्वाचनमा मोहन्यालका अध्यक्ष देवीदत्त उपाध्यायले मतदान गर्न नपाउने भएका छन् । उनी यसपटकको चुनावमा नेकपा (माओवादी केन्द्र) बाट निर्वाचित भएका हुन ।
निर्वाचन आयोगले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार सम्वन्धी कसुरमा मुद्धा चलाएको अवस्थामा उनको पद स्वतः निलम्वनमा रहेकोले उनले कुनै अधिकार प्रयोग गर्न नपाउने ठहर गरेको छ ।
आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालय कैलालीलाई निर्देशन पत्र पठाउदै उपाध्याय स्वतः निलम्वनको अवस्थामा रहेकोले कुनै अधिकार प्रयोग गर्न नलिन भनेको छ ।
एमाले सहितको गठवन्धनले उपाध्यायलाई मतदान गर्नबाट रोक्नका लागि सर्वोच्च अदालतमा समेत रिट दायर गरेको थियो । तर अदालतले निर्णय गरेको छैन ।
अध्यक्ष उपाध्याय विरुद्ध ०७४ को चुनावबाट वडाअध्यक्ष भएपछि भ्रष्टाचार गरेको आरोप लगाएर अख्तियारमा मुद्धा चलाइएको छ । मुद्धा चलेकै अवस्थामा चुनाव लडेर उनी निर्वाचित भएका छन् ।
के होला जिसस चुनावको परिणाम
कैलाली जिससका प्रमुख/उपप्रमुख र सदस्य गरेर नौ पदमा सोमबार चुनाव हुने कार्यक्रम छ ।
सो मतदानमा कैलालीका १३ पालिकाका प्रमुख/उपप्रमुख गरेर २६ मतदाता छन् । उपाध्यायले मतदान गर्न नपाउने भएपछि अव २५ जना मतदाता छन् ।
माओवादीका उपाध्यायले मतदान गर्न नपाएपछि अव काँग्रेस, माओवादी र समाजवादी सहितको सत्तारुढ गठवन्धनसित १२ मत छन् । यस्तै एमाले र नागरिक उन्मुक्ती पार्टीसंग पनि १२ मत छ ।
दुई पक्षको मत बराबर भएको अवस्थामा धनगढीका स्वतन्त्र मेयर गोपाल हमाल निर्णायक बनेका छन् ।
काँग्रेसले हमालले आफ्नो पक्षलाई मतदान गर्ने विश्वास गरेको छ । तर हमालले मतदान नगर्ने बताइरहेको उनी निकटको भनाइ छ ।




