१४ बैशाख २०८१, शुक्रबार

धनगढीमा भाटभटेनीको २३ औ शाखा



धनगढी / धनगढी उपमहानगरपालिका–३ मा भाटभटेनी सुपरस्टोर आज शुक्रबारदेखि सञ्चालनमा आएको छ । एक समारोहबीच सुपरस्टोरका अध्यक्ष मीनबहादुर गुरुङ, उनका श्रीमती सावित्री गुरुङ सहित परिवारका सदस्यहरुले उद्घाटन गरे ।

मुलुकको सबैभन्दा ठूलो सुपरमार्केट शृङ्खलाका रुपमा रहेको भाटभटेनीको यो २३ औं शाखा हो । सुदूरपश्चिम प्रदेशमा भने भाटभटेनीको यो पहिलो शाखा हो । धनगढी–३, बोराडाँडीमा १७ कठ्टा जग्गामा करिब दुई अर्ब रुपैयाँको लगानीमा यो सुपरस्टोर निर्माण भएको बताइएको छ ।

लत्ताकपडा, विद्युतीय सामग्री, खाद्यान्न, कस्मेटिक, फर्निचर, खेलौना लगायतका दैनिक उपभोगका लगभग सबै सामग्री एउटै छतमुनि उपलब्ध हुने सुपरस्टोरका अध्यक्ष गुरुङले बताए । सुपरस्टोरमा रेष्टुरेन्ट, वाटर पाउण्टेन समेत रहेका छन् । अध्यक्ष गुरुङले केही समयभित्रै हाइटेक सिनेमा (मल्टिप्लेक्स) समेत सञ्चालन गरिने बताए ।

सुपरस्टोर उद्घाटन कार्यक्रममा सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशी, प्रदेशका मन्त्री तथा राज्यमन्त्रीहरु, जनप्रतिनिधिहरु, कैलालीका प्रमुख जिल्ला अधिकारी, सुरक्षा अधिकारीहरु, सञ्चारकर्मी तथा ठूलो सङ्ख्यामा ग्राहकहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार