कैलालीमा ब्राउनसुगरसहित एकै दिन चार जना पक्राउ

धनगढी / प्रहरीले कैलालीमा दुई छुट्टाछुट्टै घटनामा ठूलो परिमाणमा लागुऔषध ब्राउनसुगरसहित चार जनालाई पक्राउ गरेको छ । प्रहरीले उनीहरुको साथबाट ४८ ग्राम ब्राउनसुगर समेत बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय, कैलालीले बुधबार दिएको जानकारी अनुसार मङ्गलबार राती कैलालीको धनगढीमा चार जनालाई ब्राउनसुगरसहित पक्राउ गरेको छ ।
लागुऔषध कारोबारमा संलग्न एक गिरोह सक्रिय रहेको सूचनाका आधारमा कैलाली जिल्ला प्रहरी कार्यालयको एक टोलीले अनुसन्धानका क्रममा मङ्गलबार साँझ पाँच बजेतिर धनगढी उपमहानगरपालिका–१, सेती प्रादेशिक अस्पताल नजिक ४२ वर्षीय डबबहादुर तामाङलाई ३० ग्राम ब्राउनसुगरसहित पक्राउ गरेको थियो । डबहादुर धनगढीसंग सिमा जोडिएको कञ्चनपुरको पुनर्वास नगरपालिका–१ का बासिन्दा हुन् ।
प्रहरीले डबबहादुरको बयानका आधारमा थप अनुसन्धान गर्दा धनगढी–२, भन्साररोडबाट कञ्चनपुर पुनर्वास नगरपालिका–१ का ३५ वर्षीय कान्छा तामाङ र धनगढी–३ ट्राफिक चौराहबाट पुनर्बास–१ का २८ वर्षीया अन्जु सार्कीलाई पक्राउ गरेको छ । प्रहरीले कान्छाको साथबाट १० ग्राम र अन्जुको साथबाट ४९ हजार रुपैयाँ बरामद गरेको जनाएको छ ।
त्यस्तै, मङ्गलबार राती नौ बजेतिर कैलाली प्रहरीले धनगढी–२ का २८ वर्षका हेम खत्रीलाई आठ ग्राम ब्राउनसुगरसहित पक्राउ गरेको छ ।
कैलालीमा पछिल्ला चार दिनको अवधिमा ७५ ग्राम ब्राउनसुगर बरामद भइसकेको छ भने लागुऔषध कारोबारमा संलग्न नौ जनालाई प्रहरीले पक्राउ गरेको छ ।





