आगामी २२ गते प्रदेशको नीति र कार्यक्रम
धनगढी / सुदूरपश्चिम प्रदेशको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम जेठ २२ गते प्रस्तुत हुने भएको छ । सोमबारदेखि शुरु भएको प्रदेशको दशौं अधिवेशनअन्र्तगत पाँचौ वैठकमा प्रदेशको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यतालिका बनाइएको हो ।
आइतबार बस्ने प्रदेश सभाको बैठकमा प्रदेशका प्रदेश प्रमुख देवराज जोशीद्वारा प्रदेशको नीति तथा कार्यक्रम प्रस्तुत गरिने सभामुख अर्जुनबहादुर थापाले जानकारी दिए ।
बिहीबार बसेको बजेट अधिवेशनको चौथो बैठकमा सभामुख अर्जुनबहादुर थापाले जेठ २२ गते अपरान्ह ४ बजे प्रदेश प्रमुख जोशीले प्रदेशको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने बारे सभामा जानकारी दिएका थिए ।
‘प्रदेशको नीति तथा कार्यक्रम जेठ २२ गते प्रदेश प्रमुखद्धारा प्रस्तुत हुने भएकाले उक्त समयसम्मका लागि यो अधिवेशन स्थगित भएको सभामा जानकारी गराउछु’ सभामुख थापाले भने ।
चौथो बैठकमा प्रदेशका आर्थिक मामिला मन्त्री प्रकाश रावलले छलफलका लागि पेश गरेको विनियोजन विधेयक २०७९ को सिद्धान्त र प्राथमिकतामाथि छलफल भएको थियो ।
बिहीबार बसेको बैठकमा एकीकृत समाजवादी पार्टी एवं पूर्व उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माया भट्ट, नेपाल कम्यूनिष्ट पार्टी माओवादी केन्द्रका प्रदेश सभा सदस्य विरमान चौधरी, नेपाली काँग्रेसका प्रदेश सभा सदस्य तथा सार्वजनिक लेखा समितिकी सभापति कुमारी नन्दा बम, नेकपा एमालेका प्रदेश सभा सदस्य एवं पूर्व सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी, लोकतान्त्रिक समाजवादी पार्टीका प्रदेश सभा सदस्य कृष्णबहादुर चौधरी, जनता समाजवादी पार्टीकी प्रदेश सभा सदस्य मालामती राना, पूर्व भौतिक पूर्वाधार राज्यमन्त्री चुनकुमारी चौधरी, नेपाली काँग्रेसका प्रदेश सभा सदस्य उमा वादी र एकीकृत समाजवादी पार्टी प्रदेश सभा सदस्य एवं पूर्व आर्थिक मामिला राज्यमन्त्री माया तामाङ बोहराले छलफलमा भाग लिएका थिए ।