३ पुष २०८२, बिहीबार

सुदूरपश्चिमका ८८ वटा स्थानीय तहलाई ३३ अर्ब बढी अनुदान



धनगढी/ नेपाल सरकारले सुदूरपश्चिम प्रदेशका ८८ वटा स्थानीय तहहरूलाई आगामी आर्थिक वर्ष ०७९÷८० मा अनुदान दुई अर्ब २० करोड ६० लाख रुपैयाँ रकम बढाएर विनियोजन गरिएको छ ।

सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैया“ बराबरको बजेट सार्वजनिक गरेको थियो ।

अर्थमन्त्री जनार्दन शर्माले सङ्घीय संसदमा पेस गरेको बजेटमा कुल विनियोजनमध्ये चालुतर्फ सात खर्ब ५३ अर्ब ४० करोड (अर्थात् ४२ प्रतिशत), पुँजीगततर्फ तीन खर्ब ८० अर्ब ३८ करोड (अर्थात् २१ दशमलव दुई प्रतिशत) र वित्तीय व्यवस्थातर्फ दुई खर्ब ३० अर्ब २२ करोड (अर्थात् १२ दशमलव आठ प्रतिशत) विनियोजन गरिएको छ ।

त्यसैगरी प्रदेश र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ चार खर्ब २९ अर्ब ८३ करोड (अर्थात् २४ प्रतिशत) रकम छुटयाइएको छ ।

आगामी आर्थिक वर्ष २०७९/८० मा सुदूरपश्चिम प्रदेशका ८८ वटा स्थानीय तहलाई समानिकरण, सशर्त, विशेष र समपुरक गरी ३३ अर्ब ५२ करोड ७७ लाख रकम विनियोजन गरिएको छ । चालू आर्थिक वर्ष २०७८/०७९ मा प्रदेशका ८८ वटा स्थानीय तहलाई ३१ अर्ब ३२ करोड १७ लाख रूपैयाँ अनुदान विनियोजन गरिएको थियो ।

सुदूरपश्चिम प्रदेशको कैलालीमा सङ्घीय सरकारले सबैभन्दा बढी १३ वटा स्थानीय तह रहेको कैलाली जिल्लामा विनियोजन गरेको छ । कैलालीमा समानिकरण, सशर्त, विशेष र समपुरक गरी छ अर्ब ५५ करोड ८३ लाख विनियोजन गरेको छ । जसमा समानिकरण तर्फ दुई अर्ब २८ करोड ३२ लाख, सशर्ततर्फ तीन अर्ब ८५ करोड ५१ लख, विशेष अनुदानतर्फ २० करोड ७० लाख र समपुरकतर्फ २१ करोड ३० लाख रकम विनियोजन गरेको छ ।

१३ पालिका रहेको कैलालीमा आर्थिक वर्ष २०७८/७९ मा सङ्घीय सरकारले छ अर्ब पा“च करोड ४६ लाख रुपैयाँ विनियोजन गरेको थियो ।

प्रदेशमा सबैभन्दा कम अनुदान डडेल्धुरा जिल्लामा विनियोजन गरिएको छ । दुई नगरपालिका र पाँच गाउँपालिका रहेको डडेल्धुरामा दुई अर्ब ५९ करोड ७२ लाख रकम विनियोजन गरिएको छ ।

डडेल्धुरामा समानिकरणतर्फ ६९ करोड सात लाख, सशर्ततर्फ एक अर्ब ७२ करोड ८४ लाख, विशेषतर्फ १० करोड १० लाख र समपुरकतर्फ सात करोड ७१ लाख रकम विनियोजन गरिएको छ ।

चालू आर्थिक वर्ष २०७८/७९ मा डडेल्धुराका स्थानीय तहलाई दुई अर्ब ४० करोड ८१ लाख रकम विनियोजन गरिएको थियो ।
तराईको दोस्रो ठूलो जिल्ला कञ्चनपुरका नौ स्थानीय तहका लागि तीन अर्ब ९८ करोड ९३ लाख रकम विनियोजन गरिएको छ ।

यसमध्ये समानिकरणतर्फ एक अर्ब ४६ करोड ८४ लाख, सशर्ततर्फ दुई अर्ब २७ करोड ६४ लाख, विशेषतर्फ आठ करोड ८४ लाख र समपुरकतर्फ १५ करोड ६१ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

चालू आर्थिक वर्ष २०७८/७९ मा कञ्चनपुरका स्थानीय तहका लागि तीन अर्ब ५७ करोड ४८ लाख रकम विनियोजन गरिएको थियो ।

चार नगरपालिका र छ गाउँपालिका रहेको बैतडीका स्थानीय तहका लागि आगामी आर्थिक वर्ष ०७९/८० मा तीन अर्ब ८० करोड २३ लाख रकम विनियोजन गरेको छ । सो जिल्लामा समानिकरणतर्फ एक अर्ब सात करोड ९८ लाख, सशर्ततर्फ दुई अर्ब ४९ करोड ४० लाख, विशेषतर्फ १३ करोड ६९ लाख र समपुरकतर्फ नौ करोड १६ लाख रकम विनियोजन गरिएको छ ।

बैतडीका स्थानीय तहका लागि चालू आर्थिक वर्ष २०७८/७९ मा तीन अर्ब ६५ करोड सात लाख रकम विनियोजन गरिएको थियो ।

त्यस्तै, नौ स्थानीय तह रहेको दार्चुलामा आगामी आर्थिक वर्षका लागि तीन अर्ब १६ करोड १३ लाख रकम विनियोजन गरिएको छ । जसमा समानिकरणतर्फ एक अर्ब तीन करोड ८२ लाख, सशर्ततर्फ एक अर्ब ७३ करोड १७ लाख, विशेषतर्फ २६ करोड १४ लाख र समपुरकतर्फ १३ करोड रकम विनियोजन गरिएको छ ।

चालू आर्थिक वर्ष २०७८/७९ मा दार्चुलाका स्थानीय तहका लागि दुई अर्ब ९९ करोड ३४ लाख रकम विनियोजन गरिएको थियो ।
त्यस्तै, दुई नगरपालिका र सात गाउँपालिका रहेको डोटी जिल्लाका स्थानीय तहका लागि तीन अर्ब ३० करोड २४ लाख रकम विनियोजन गरिएको छ । जसमा समानिकरणतर्फ ९२ करोड ४० लाख, सशर्ततर्फ दुई अर्ब १८ करोड ८४ लाख, विशेषतर्फ १२ करोड ४५ लाख र समपुरकतर्फ छ करोड ५५ लाख रकम विनियोजन गरिएको छ ।
डोटीमा चालू आर्थिक वर्ष २०७८/७९ मा दुई अर्ब ८५ करोड ३३ लाख रकम विनियोजन गरिएको थियो ।

त्यस्तै, चार नगरपालिका र छ गाउपालिका रहेको अछामका लागि आगामी आर्थिक वर्षमा सङ्घीय सरकारले एक अर्ब तीन अर्ब ५८ करोड ३४ लाख रकम विनियोजन गरेको छ । जसमा समानिकरणतर्फ एक अर्ब पाँच करोड छ लाख, सशर्ततर्फ दुई अर्ब ४० करोड ९० लाख, विशेषतर्फ आठ करोड ७८ लाख र समपुरकतर्फ तीन करोड ६० लाख रकम विनियोजन गरिएको छ ।
अछाममा आर्थिक वर्ष २०७८/७९ मा तीन अर्ब ४२ करोड ५८ लाख रकम विनियोजन गरिएको थियो ।

प्रदेशको हिमाली जिल्ला बझाङका १२ स्थानीय तहका लागि तीन अर्ब ८२ करोड ४५ लाख रकम विनियोजन गरिएको छ । जसमध्ये समानिकरणतर्फ एक अर्ब ३५ करोड ८६ लाख, सशर्ततर्फ दुई अर्ब २३ करोड ७१ लाख, विशेषतर्फ १३ करोड १३ लाख र समपुरकतर्फ नौ करोड ७५ लाख रकम विनियोजन गरिएको छ ।

बझाङका स्थानीय तहका लागि आर्थिक वर्ष २०७८/७९ मा तीन अर्ब ६८ करोड ७० लाख रकम विनियोजन गरिएको थियो ।
त्यस्तै, चार नगरपालिका र पाँच गाउँपालिका रहेको बाजुराका स्थानीय तहका लागि दुई अर्ब ७० करोड ९० लाख रकम विनियोजन गरेको छ । जसमा समानिकरणतर्फ ९६ करोड १० लाख, सशर्ततर्फ एक अर्ब ५१ करोड ४५ लाख, विशेषतर्फ १२ करोड ४० लाख र समपुरकतर्फ १० करोड ९५ लाख रकम विनियोजन गरिएको छ ।

बाजुरामा चालू आर्थिक वर्ष २०७८/७९ मा दुई अर्ब ६७ करोड ४० लाख रुपैयाँ विनियोजन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार