६ जेष्ठ २०८१, आईतवार

नेपाल सरकारको वार्षिक बजेटमा सुदूरपश्चिममा सबैभन्दा कम अन्तरसरकारी वित्तीय अनुदान





धनगढी / सङ्घीय सरकारले आगामी आर्थिक वर्ष ०७९/०८० का लागि विनियोजन गरेको अन्तरसरकारी वित्तीय हस्तान्तरण अनुदानमा सुदूरपश्चिम प्रदेशका लागि अरु प्रदेशको तुलनामा सबैभन्दा कम विनियोजन गरिएको छ ।

सरकारको आगामी वर्षको वार्षिक बजेटमा बाग्मती प्रदेशमा सबैभन्दा बढी वित्तीय हस्तान्तरण अनुदानको व्यवस्था गरिएको छ भने सुदूरपश्चिम प्रदेशमा सबैभन्दा कम विनियोजन गरिएको छ ।

चालू आर्थिक वर्ष २०७८/७९ मा कर्णाली प्रदेशमा सबैभन्दा कम वित्तीय हस्तान्तरण अनुदान विनियोजन गरिएको थियो । सो आर्थिक वर्षमा बढी अनुदान प्राप्त गर्नेमा सुदूरपश्चिम प्रदेश पाँचौ नम्बरमा रहेको थियो ।

अन्तरसरकारी वित्तीय हस्तान्तरणअन्तर्गत आगामी आर्थिक वर्ष २०७९/८० मा सुदूरपश्चिम प्रदेशमा समानिकरण, सशर्त, विशेष र समपुरकतर्फ गरि प्रदेश सरकारका लागि १७ अर्ब ५५ करोड ८३ लाख रकम विनियोजन गरिएको छ ।

सुदूरपश्चिम प्रदेश सरकारलाई समानिकरणतर्फ नौ अर्ब ७५ लाख, सशर्ततर्फ छ अर्ब ९८ लाख ८० हजार, विशेष अनुदानतर्फ ७९ करोड ७८ लाख र समपुरक अनुदानतर्फ ७६ करोड ५० लाख रकम विनियोजन गरिएको छ ।

चालू आर्थिक वर्ष २०७८/७९ मा सुदूरपश्चिम प्रदेशमा समानिकरणतर्फ आठ अर्ब ५४ करोड ४० लाख, सशर्तमा चार अर्ब १९ करोड ३३ लाख, विशेषमा ६१ करोड ३५ लाख र समपुरकतर्फ एक अर्ब २२ करोड ९४ लाख गरि १४ अर्ब ५८ करोड दुई लाख रकम विनियोजन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार