१० श्रावण २०८१, बिहीबार

गेटा मेडिकल कलेज आन्दोलन : झन् चर्कियो जनस्तर स्वास्थ्य परीक्षणदेखि हस्ताक्षर र सभा



धनगढी / कैलालीको गोदावरी नगरपालिका, गेटामा निर्माण भएको गेटा मेडिकल कलेज तत्काल सञ्चालनको माग गर्दै उठेको आन्दोलन झन् चर्किएको छ ।

आन्दोलनका क्रममा शुक्रबार धनगढी र अत्तरियामा विविध कार्यक्रम भएका छन् । यस क्रममा गेटा मेडिकल कलेज परिसरमा विरोधस्वरुप नागरिक स्वास्थ्य परीक्षण कार्यक्रम तथा अत्तरियामा हस्ताक्षर कार्यक्रम भएका छन् ।

सरकारले आगामी वर्षको नीति र कार्यक्रममा सो मेडिकल कलेज सञ्चालनबारे कुनै सम्बोधन नगरेपछि आक्रोसित कैलालीबासीले तीन दिनदेखि निरन्तर रुपमा आन्दोलन अघि बढाइरहेका छन् ।

सात वर्षअघिदेखि भौतिक निर्माण कार्य जारी रहेको र साढे चार अर्ब बढी रकम लगानी भइसकेको गेटा मेडिकल कलेज कुन मोडेलमा सञ्चालन गर्ने भन्नेमा अहिलेसम्म सरकारले कुनै नीतिगत व्यवस्था समेत गरेको छैन ।

सो स्वास्थ्य संस्था तत्काल सञ्चालनका लागि दबाव दिन नागरिक स्तरमा शुरु भएको आन्दोलनका शुक्रबार मेडिकल कलेज परिसरमा विरोधस्वरुप जनताको स्तरमा स्वास्थ्य परीक्षण कार्यक्रम भएको छ ।

नागरिक दबाव समुहको आह्वानमा भएको कार्यक्रममा धनगढीस्थित भागेश्वर हेल्थ एण्ड साइन्स एकेडेमीमा स्वास्थ्य विषयका विद्यार्थीहरुले आन्दोलनकारीहरुको स्वास्थ्य परीक्षण गरेका थिए ।

“९० प्रतिशत भौतिक संरचना निर्माण भइसकेको गेटा मेडिकल कलेजमा तत्काल विशेषज्ञ स्वास्थ्य सेवा सञ्चालन सम्भव छ भन्नका लागि प्रतिकात्मक रुपमा यो कार्यक्रम गरिएको हो” नागरिक दबाव समुहका रविनकान्त पन्तले भने– हामी यो संस्था सञ्चालनको भरपर्दो व्यवस्था नभएसम्म आन्दोलनमा छौं ।

नागरिक स्वास्थ्य परीक्षण कार्यक्रममा सहभागी राजनीतिकर्मी पूर्ण कुँवरले सरकारले गेटा मेडिकल कलेज सञ्चालनमा उदासिनता देखाएको आरोप लगाए ।

उनले भने– तर, नागरिकस्तरबाट उठेको यो आन्दोलनले सरकारलाई गेटा मेडिकल कलेज तत्काल सञ्चालन गर्न बाध्य पार्छ भन्ने विश्वास बढेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार